कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्‍न- विप्लवका हतियार राज्यलाई बुझाउने बुँदा खोइ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सहमति गर्दा हतियार बुझाउने बुँदा नदेखिएको भन्दै सरकारसँग प्रश्‍न गरेका छन् । 

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्‍न- विप्लवका हतियार राज्यलाई बुझाउने बुँदा खोइ ?

शुक्रबार ट्विटमार्फत प्रवक्ता शर्माले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्‍न गरेका हुन् । 'प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ प्रधानमन्त्रीज्यू ?'

प्रवक्ता शर्माले हतियारबारे उठेको प्रश्‍नको जवाफ सिंगो देशलाई चाहिने पनि बताएका छन् ।

प्रवक्ता शर्माले चन्द समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने सहमतिको भने स्वागत गरेका छन् ।

चन्द समूह शान्तिपूर्ण रुपमा राजनीतिमा आउने सहमति पत्रमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा हस्ताक्षर भए पनि हतियार बुझाउनेबारे बुँदे उल्लेख छैन । कान्तिपुरसँगको कुराकानीमा चन्द नेतृत्वको नेकपाका नेता अनिल शर्माले कान्तिपुरसँग भनेका थिए, 'हतियार त अहिले सबैसँग छ । कांग्रेससँग पनि, कम्युनिस्टहरूसँग पनि । प्रचण्डले पनि त्यत्रो दसौं वर्ष हतियार उठाए, आफूहरूसँग भएका सबै हतियार बुझाएका छैनौं भनेर उनीहरू नै भन्छन् । कर्णालीमा बगेका हतियारका कुरा पनि छन् । त्यसकारण हतियार त घरघरमै छन् नि, के ठूलो कुरा भयो र ?'

सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीसँग भएका केही शक्तिशाली हतियारसमेत चन्द समूहसँग रहेको आशंका छ । यसअघि चन्द समूहबाट एम–१६, एलएमजी, एसएमजीजस्ता शक्तिशाली हतियार पनि बरामद गरिएको थियो ।

एसएलआर, सकेट बम, ह्यान्ड ग्रिनेडलगायत हतियार तथा बम पनि बरामद गरिएका थिए ।

२०७६ जेठ १३ गते गृहमन्त्री थापाले प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा चन्द समूहसँग ४ वटा कम्पनी रहेको सूचना आफूसँग रहेको बताएका थिए । चार वटा कम्पनी रहेको समूहसँग हतियारको संख्या पनि उलेख्य भएको सरकारी आकलन छ ।

प्रकाशित : फाल्गुन २१, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?