कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा दाहाल-नेपाल समूहद्वारा शान्तिपूर्ण राजनीतिमा आउने चन्द समूहको निर्णयको स्वागत 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल-नेपाल समूहले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्द समूहको निर्णयलाई स्वागत गरेको छ । 

नेकपा दाहाल-नेपाल समूहद्वारा शान्तिपूर्ण राजनीतिमा आउने चन्द समूहको निर्णयको स्वागत 

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमति र विप्लव शान्तिपूर्ण राजनीतिमा आउने निर्णयलाई स्वागत गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेता खनालले आफ्नो पक्षमा संसदीय दलमा १ सय ११ जना सांसदको समर्थन रहेको बताए ।

मुख्य सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता भए पनि त्यो वैकल्पिक रुपमा मात्रै अघि बढ्ने बताए । त्यो भन्दा पहिले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने उनको भनाइ थियो । राजीनामा नदिएमा बाध्य भएर अविश्वासको प्रस्ताव अघि बढ्ने उनको भनाइ थियो ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा शुक्रबार विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको थियो । सोही सहमतिलाई शुक्रबार विशेष समारोहकाबीच हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।

हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द समूहको लिखित प्रतिबद्धता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ तथा उनीहरूमाथि लागेका ‘राजनीतिक मुद्दा’ फिर्ता गर्न सरकार सहमत भएपछि बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा चन्द समूहबाट सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदयबहादुर चलाउने सम्मिलित वार्ता टोली मंगलबार गठन गरिएको थियो । दुवै टोलीले बुधबार बिहान र बेलुका तथा बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता गरेर निष्कर्ष निकालेका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?