एक कदमले नै विप्लवले नेपाली जनताको मन जित्नु भयो : प्रधानमन्त्री ओली

'विप्लवले सेफ ल्यान्डिङ् गर्नुभयो'
'अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश'
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्दको कदमले जनताको मन जितेको बताएका छन् । 

राष्ट्रिय सभा गृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चन्दले 'सेफ ल्यान्डिङ' गरेको पनि बताए । ‘उहाँले एउटा कदबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ । यसै कदमबाट । यो साहसिक कदम हो ।

एक कदमले नै विप्लवले नेपाली जनताको मन जित्नु भयो : प्रधानमन्त्री ओली

जोसुकैले एउटा कार्यदिशा, बाटो समातेर हिँडिरहेको ठाउँमा कार्यकर्तालाई मोड्न सक्दैन । तर उहाँ त्यसमा सफलतापूर्वक यो फोर्स ल्यान्डिङ पनि होइन, क्र्यास ल्यान्डिङ पनि होइन, सेफ ल्यान्डिङ हो ।’ सेफ ल्यान्डिङ् भयो...। उहाँले त्यो योगदान गर्नुभएको छ,’ ओलीले भने ।

चन्दले साहसिक कदम चालेको भन्दै प्रधानमन्त्री ओलीले अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए ।

‘जुन साहसिक कदम चाल्नु भएको छ, ऐतिहासिक कदम चाल्नु भएको छ । त्यसको लागि धन्यवाद । नेपाली जनताले नेपाली समाज, राष्ट्रले शान्ति खोजेको छ । नेपाली जनतालाई चाहिएका कुरामध्ये राष्ट्रियताको रक्षा, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित, लोकतन्त्रको सृदृढीकरण, सामाजिक न्याय र समानता, भयपूर्ण वातावरणमा बाँच्न पाउने चाहना हो,’ ओलीले भने, ‘हामी सबैले देखेको सपना, समृद्ध नेपाल सुखी नेपाली हो । यसको शान्तिपूर्ण वातावरण चाहिन्छ । लोकतान्त्रिक प्रणाली चाहिन्छ । यिनै चिज वातावरण प्राप्त गर्ने सन्दर्भमा ऐतिहासिक काम भएको छ । नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्त्दोलन, बाटोको दिशा अवलम्बन गरिरहेको छैन । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन ।’

यसैबीच नेकपा महासचिव नेत्रविक्रम चन्दले सरकारसँग तीन बुँदे सहमति गर्नुको उद्देश्यभित्र देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना रहेको बताएका छन् । सरकार र नेकपाबीच सहमति पत्रमा हस्ताक्षर समारोहमा बोल्दै चन्दले सरकारसँग सहमति गर्नुको उद्देश्यभित्र लुकेका सपना पूरा गर्ने पनि बताए । ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै हैन । केही नेताहरुको कुरा हैन । यो सहमतिको पछाडि सपना लुकेको छ । देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना यो भित्र छ । यो भित्र दीर्घ शान्ति, स्थिरता, नेपाली जनताको अहिलेसम्म पूरा नभएको आकांक्षा, युवाहरुभित्र हुर्किएको समृद्ध जीवनको चाहना रहेको छ । यसलाई पूरा सकारात्मक सहयोग पायौं । हामी खुसी छौं,’ चन्दले भने ।

झापा आन्दोलनको सन्दर्भकै दिन आफ्नो पार्टीले सरकारसँग तीन बुदे सहमति गर्नु सुखद् संयोग भएको उनले बताए । ‘आज एउटा सन्दर्भको दिन छ । एउटा अँध्यारो समय, परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानी जंगलमा पाँच अग्रजले रगत दिएका थिए । उनीहरुले सहर्ष नेपाल र नेपाली जनताका लागि समर्पण गरेका थिए,’ उनले भने,’ त्यो दिनसँग आजको दिन जोडिएको छ । आजको दिन जसलाई हामीले सहिदको स्मरणको दिवस मनाउँदै आएका छौं ।’

प्रकाशित : फाल्गुन २१, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?