भारतको ग्वालियरमा भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु 

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । ११ जना नेपाली सवार भ्यान मुम्बईको उल्हासनगरबाट नेपाल गइरहेको बेला मध्यप्रदेशको भिन्ड जिल्लाको ज्ञानेन्द्रपुरामा सडक दुर्घटनामा परेको हो ।

भारतको ग्वालियरमा भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु 

मुम्बईबाट नेपालतर्फ गइरहेको ओम्नी भ्यानलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर भ्यानमा सवार अन्य सात जना पनि घाइते भएका छन् । ट्रकको ठक्करले भ्यान नै कच्याकुचुक भएको थियो ।

घटनालगत्तै पुगेको प्रहरीले स्थानीयहरुको सहयोगमा गाडीमा चेपिएकाहरुलाई निकालेका थिए । मृत्यु हुनेमा तीन पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले कान्तिपुरलाई जानकारी दिएको छ । मेहगाउँ थानाका इन्जार्ज सुरेश शर्माका अनुसार भ्यानलाई विपरीत दिशाबाट आएको ट्रक्कले ठक्कर दिएको थियो ।

‘ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । चारजनाको घटनास्थलमै मृत्यु भयो,’ शर्माले कान्तिपुरलाई बताए । साथै ठक्कर दिने ट्रकको खोजी जारी रहेको समेत उनले जानकारी दिए । शर्माका अनुसार घाइतेहरुको उपचार ग्वालियरको जयारोग्य अस्पतालमा भइरहेको र एक जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा भ्यान चालक तिलक जिसी, काला रावल, सुजा रावल र टोपे रावलको मृत्यु भएको छ । मृत्यु हुने काला, सुजा र टोपे एकै परिवार हुन् । कालाका अर्का छोरा प्रकाश पनि घाइते छन् ।

मृतक काला रावलका भाइ झकेन्द्र रावलका अनुसार सबैजना दैलेखको दुल्लु नगरपालिकाको खर्चगैरा टोलका हुन् । ‘ठूलो विपद् आयो, परिवारकै तीन जना गुमायो,’ रावलले टेलिफोनमा कान्तिपुरसँग भने । रावलका अनुसाार सबै जना रोजगारीका सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?