१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अब खोप ६५ वर्ष माथिकालाई 

कम खोप उपलब्ध हुने भएकाले अरुलाई लगाउन नसक्ने भयौं । – डा. झलक गौतम, स्वास्थ्य सेवा विभाग
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आइतबारबाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

अब खोप ६५ वर्ष माथिकालाई 

५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ ।

हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ । सरकारसँग १५ लाख डोज खोपमात्रै बाँकी छ । थप खोप नआउने हो भने ६५ वर्षभन्दा माथिकालाई पनि पुग्दैन । विभागका अनुसार ६५ वर्षभन्दा माथिका १७ लाख ९५ हजार नागरिक छन् । ५५ वर्षभन्दा माथिका ३८ लाख छन् । ‘कोभ्याक्स सहयोगबाट चाँडै खोप आउँदै छ,’ डा गौतमले भने, ‘अहिले त कुनै समस्या पर्दैैन । यो उमेर समूहका नागरिकलाई लगाएर जोगिएको खोपबाट दोस्रो डोज पनि सुरु गर्छौं ।’

सरकारले खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आउन बाँकी छ । सम्झौताअनुसार खरिद गरेको खोप पनि यही साताभित्र आउनुपर्थ्यो । कोभ्याक्सको सुविधाको खोप आइतबारसम्म ३ लाख ४८ हजार डोज आइसक्ने मन्त्रालयले जनाएको छ । माघ १४ मा सुरु भएको अभियानमा ४ लाख २१ हजारले खोप लगाइसकेका छन् । बुधबारदेखि संघीय संसद्का सांसदलाई पनि खोप दिइँदै छ ।

दुई दिनमा २ सय २५ सांसदले खोप लगाएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका कर्मचारी, मर्यादापालक, सांसदका स्वकीय सचिवसहित ९ सय ७२ जनाले खोप लगाइसकेका छन् ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?