१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भारत-चीन र भारत-पाकिस्तानबीच सम्बन्ध सुधारका नयाँ घटनाक्रमलाई स्वागत गर्छौं : परराष्ट्रमन्त्री ज्ञवाली

जगदीश्वर पाण्डे

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पछिल्लो समय भारत–चीन र भारत–पाकिस्तानबीच भएको नयाँ सम्बन्ध सुधारका घटनाक्रमलाई लिएर नेपाल सकारात्मक रहेको बताएका छन् ।

भारत-चीन र भारत-पाकिस्तानबीच सम्बन्ध सुधारका नयाँ घटनाक्रमलाई स्वागत गर्छौं : परराष्ट्रमन्त्री ज्ञवाली

केही समय अघिमात्र भारत र चीनबीच दुई मुलुकका विदेश मन्त्रीस्तरीय टेलिफोन वार्तापछि सीमा क्षेत्रको तनावलाई रोक्न र त्यसका लागि आवश्यक ‘हटलाइन’ को स्थापना गर्ने सहमति भएको थियो । यस्तै, भारत र पाकिस्तानबीच एलओसी (लाइन अफ कन्ट्रोल) मा ‘संघर्ष विराम’ गर्ने निर्णय भएको थियो ।

‘पहिलो त पछिल्लो समय चीन र भारतको बीचमा जुन किसिमको डिसइन्गेजमेन्ट भयो र नयाँ ढंगले जुन सम्बन्धहरु अघि बढ्दै छ, नेपालले सकारात्मक रुपमा लिएका छ,’ कान्तिपुरसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘पाकिस्तान र भारतबीचमा आइरहेका सकारात्मक परिवर्तनहरुलाई पनि हामीले सकारात्मक मानेका छौं । दुवै थरी घटनाहरुलाई राम्रो मानिरहेका छौं र स्वागत गर्छौं ।’

फागुन १३ गते भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यी बीचको कुराकानीमा दुई मुलुक बीचको सीमा विवादलाई कम गर्नको लागि दुई देशबीच कूटनीतिक हटलाइन स्थापना गर्ने सहमति भएको थियो ।

पछिल्लो पटक सन् २०२० को जुनमा चिनियाँ सेना र भारतीय सेनाबीच लद्दाखको गलवान उपत्यकामा हिंसात्मक झडप भएको थियो । त्यसपछि दुई मुलुकबीचको सम्बन्धमा चिसोपना आएको थियो ।

भारतको रक्षा मन्त्रालयले पनि बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई मुलुकका सेना बीचमा लाइन अफ कन्ट्रोलमा फागुन १२ गते मध्यरातिदेखि सीमा क्षेत्रमा दीर्घकालीन शान्ति र दुवै पक्षलाई फाइदा हुने रुपमा जाने उल्लेख गरेको जनाएको छ । साथै, दुवै मुलुकका सैन्य अपरेशन महानिर्देशकहरु बीचमा सीमामा शान्ति कायम राख्न ‘हटलाइन सम्पर्क’ को स्थापना गर्ने कुराकानी पनि भएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?