अब सत्तामा रमाउँदा कांग्रेसलाई घाटा : पौडेल

नारायण शर्मा

नवलपरासी — दुई/चार महिनाका लागि सत्तामा रमाउँदा कांग्रेसलाई घाटा हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । 'जनादेश कांग्रेसलाई प्रतिपक्षमा रहने भन्ने नै छ । अहिले सत्तामा गएर रमाउँदा दीर्घकालीन रुपमा पार्टीलाई घाटा हुन्छ । अर्को निर्वाचनलाई ध्यान दिएर कांग्रेसले सोच्न पर्छ,' नेपाली कांग्रेस पूर्वी नवलपरासीद्वारा कावासोतीमा बिहीबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै पौडेलले भने, 'मिलिजुली सरकारमा गएर जनताको पक्षमा कति परिणाममुखी काम गर्न सकिन्छ भनेर सोच्ने बेला हो ।' 

अब सत्तामा रमाउँदा कांग्रेसलाई घाटा : पौडेल

'कांग्रेस सत्तामा नगएर अब बन्ने सरकारले जनताका पक्षमा यो यो काम गर भनेर कम्युनिष्टसँग सहमति गरेर उनीहरुलाई सरकार चलाउन दिँदा पार्टीलाई फाइदा हुन्छ', पौडेलले भने, 'अहिलेको सरकारले सरकारी कर्मचारीतन्त्र तलदेखि माथिसम्म एकलौटी बनाएर बिगारेको छ, यस्तो बेलामा सरकारमा गएर जनताको पक्षमा परिणाम दिन सकिँदैन ।'

पौडेलले पार्टी सभापति शेरबहादुर देउवा तर्फ इंगित गर्दै अगाडि भने, 'प्रधानमन्त्री हुनैका लागि जाने र झन्डा हल्लाएर रमाउने हो भने अर्को कुरा हो । नत्र जनताको पक्षमा कति काम गर्न सकिन्छ भनेर सोच्ने उपयुक्त बेला यही हो ।' सिद्धान्त र नीतिविहीन झण्डै दुई तिहाइको कम्युनिष्ट सरकारले जनताको पक्षमा काम गर्न नसकेका कारण जनाता कांग्रेसमा गोलबद्ध हुन चाहेको परिस्थितिको सही मूल्यांकन गर्ने बेला भएको उनले दोहोर्‍याए ।


प्रकाशित : फाल्गुन २०, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?