२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ओली र दाहाललाई घेराबन्दी गरेर एकताबद्ध बनाउने पक्षमा छु : गाैतम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल र ओली समूहका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी एकता अभियान अगाडि बढाउने बताएका छन् ।

ओली र दाहाललाई घेराबन्दी गरेर एकताबद्ध बनाउने पक्षमा छु : गाैतम

बिहीबार कोभिड–१९ विरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका उनले सञ्चारकर्मीसँग पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेतालाई एकताबद्ध गरी पार्टी एकताका निम्ति दबाब दिने बताए । एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उनको भनाइ छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओली अझै पनि एकताको पक्षमा नआएको उनले बताए । ‘धेरै ठाउँमा उहाँहरुले बोलेको कुरा सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा'छैन', उनले भने, 'मेरोचाहिँ प्रयत्न के छ भने केपी ओलीतिर रहेका सेकेन्ड जेनेरेसनका र दाहालतिर रहेका सेकेन्ड जेनेरेसनका कमरेडहरुलाई एकताबद्ध गर्ने, तलबाट एउटा ठूलो पंक्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने । यो अभियान अब हामीले चलाउँदै छौं र चारैतिरबाट यी दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला ।'

पहिलो एकता केपी र पुष्पकमलबीचकै एकतालाई मान्ने पनि उनले बताए । 'पहिलो एकता केपी र पुष्पकमलबीचकै एकतालाई मान्ने हो, अरूले एकता गर्दैमा त्यो एकता हुँदैन । जनताले मान्दैन, विश्वले पनि मान्दैन । दुइटालाई एकताबद्ध गरेपछि फेरि यो पार्टी एकताबद्ध भयो भन्ने हुन्छ', उनले भने, 'तर उहाँहरुलाई त्यो एकतामा ल्याउनका निम्ति उहाँहरूको वरिपरि बसेकाहरुलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली जनताको शक्ति, कम्युनिस्ट आन्दोलनप्रति शुभचिन्तक समर्थन गर्ने शक्तिले घेराबन्दी गरेर उहाँहरूलाई एकताबद्ध गराउने पक्षमा म छु ।’

उपाध्यक्ष गौतमले विभाजन–उन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने स्पष्ट पारे । पार्टी एकताका निम्ति आह्वान गर्ने नेताको पक्षमा आफू उभिन सक्ने पनि उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन २०, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?