दोभान बजार आगलागी : नगदै १ करोड ६० लाख जल्यो

कुल ४० करोडको क्षति, ५० घरका ६३ परिवार विस्थापित
आनन्द गौतम

ताप्लेजुङ — मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा मंगलवार बिहान भएको आगलागीमा ४० करोड ५ लाख ७४ हजार रुपैयाँबराबरको क्षति भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा गठित समितिले बिहीबार बिहान क्षतिको विवरण सार्वजनिक गरेको हो ।

दोभान बजार आगलागी : नगदै १ करोड ६० लाख जल्यो

५० वटा घर पूर्ण रूपमा जलेको र तिनका धरधनी तथा डेरावालसहित ६३ परिवार विस्थापित भएको विवरणमा उल्लेख छ । आगलागीबाट १ करोड ६० लाख रुपैयाँ नगदै जलेको पाइएको आङदेम्बेले बताए ।

यसअघि गाउँपालिकाले निकालेको प्रारम्भिक तथ्यांकमा ४९ घर जल्दा ५५ परिवार विस्थापित भएको उल्लेख थियो । एक घर र ८ परिवार थप भएको आङदेम्बेले जानकारी दिए । उनका अनुसार विस्थापित हुनेमा १ सय ५६ जना पुरुष र १ सय ६८ जना महिला गरी ३ सय २४ जना छन् । सरकारी कार्यालयहरूको क्षति मात्रै १ करोड २२ लाख ५० हजार रुपैयाँबराबर रहेको विवरणमा उल्लेख छ । गाउँपालिका, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, ग्लोबल आईएमई बैंक र दोभान मनी ट्रान्स्फरमा पनि क्षति पुगेको आङदेम्बेले बताए ।

राहत वितरण एकद्वार नीतिबाट

गाउँपालिकाले पीडितलाई राहत वितरणमा एकद्वार नीति लिएको छ । गाउँपालिकाका प्रवक्ता सूर्यप्रकाश बराइलीका अनुसार सहयोगी संस्थाले ल्याएको राहत गाउँपालिकामार्फत वितरण गर्ने नीति बनाइएको हो । यसका लागि आगलागी भएको क्षेत्रमा गाउँपालिकाले हेल्प डेस्क स्थापना गरेको छ । बुधबार र बिहीबार बिहान आएको राहत सामग्री बुझ्ने काम भएको बराइलीले जानकारी दिए । बुधवार गौरादहका फर्निचर व्यवसायी र बिहीबार इसाई समाजले टेन्ट, पाल, कम्बल, चिनी, चिउरालगायत सामग्री उपलब्ध गराएका छन् ।


प्रकाशित : फाल्गुन २०, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?