जापानी अर्बपतिले चन्द्रमामा ८ जना लैजाने- समाचार - कान्तिपुर समाचार

जापानी अर्बपतिले चन्द्रमामा ८ जना लैजाने

कान्तिपुर संवाददाता

टोकियो — जापानी अर्बपति युसाकु माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरबाट ८ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन् । युसाकुले एलन मस्कको ‘स्पेसएक्स’ रकेटबाट सन् २०२३ मा चन्द्रमाको यात्रा गर्दै छन् । 

युसाकु माएजावा

‘मैले यो यात्रामा विभिन्न पृष्ठभूमिका मानिस जोडिऊन् भन्ने चाहन्छु,’ उनले ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै भनेका छन् । त्यसमा उनले आवेदन दिनका लागि भर्नुपर्ने विवरणसहितको लिंकसमेत राखेका छन् । युसाकुले यात्राका लागि लाग्ने खर्च आफैंले व्यहोर्ने र अन्य सहभागीले निःशुल्क रूपमा यात्रा गर्न पाउने पनि जनाएका छन् ।

‘डियरमुन’ नामक अन्तरिक्ष मिसनमा भाग लिनका लागि आवेदकले दुइटा मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ । युसाकुले यात्रा गर्न चाहने व्यक्ति ‘जुनसुकै क्रियाकलापमा संलग्न रहेका भए पनि उनीहरूले अन्य मानिस र बृहत् समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्ने’ जनाएका छन् ।

त्यसका साथै ‘त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ती व्यक्ति इच्छुक हुनुपर्ने’ जनाइएको छ । ‘मैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो निजी यात्रा हुनेछ,’ उनले भनेका छन् । युसाकु फेसन क्षेत्रका धनाढ्य हुन् । सन् १९७५ मा जन्मेका युसाकुले २३ वर्षको उमेरमा अनलाइन फेसन वेभसाइट ‘जोजोटाउन’ बाट व्यावसायिक यात्रा सुरु गरेको हुन् । फोर्ब्सका अनुसार जापानका २२ औं धनी युसाकुसँग २ अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति छ । युसाकुले यात्राका लागि यसअघि आफूले ‘कलाकारहरू’ लाई आमन्त्रण गर्न चाहेको बताएका थिए । तर अब भने ‘यात्रामा समावेश हुन विश्वभरका मानिसलाई मौका दिने’ उनले बताए ।

‘यदि तपाईंले आफूलाई कलाकारका रूपमा हेर्नुहुन्छ भने तपाईं एक कलाकार नै हो,’ युसाकुले भने । उनले गत वर्ष ‘डियरमुन’ यात्रामा आफूसँग समावेश हुनका लागि नयाँ केटीसाथीको पनि खोजी गरेका थिए । तर केही मिश्रित प्रक्रियापछि उनले त्यो योजना रद्द गरेको जनाएका थिए । एलन मस्कको स्वामित्वको कम्पनी स्पेसएक्सले सन् २०१८ मा चन्द्रमाको परिक्रमा गरिने यात्रामा लैजानका लागि पहिलो यात्रुका रूपमा युसाकुलाई छानेको थियो ।

अन्तरिक्षमा जानका लागि उनले कति रकम तिरे भन्नेबारे भने हालसम्म केही उल्लेख गरिएको छैन । तर उक्त यात्राका लागि युसाकुले ‘धेरै ठूलो रकम’ तिरेका मस्कले बताएका छन् । सन् २०२३ का लागि तय गरिएको डियरमुन मिसन सन् १९७२ पछिको मानवसहितको पहिलो चन्द्रमा यात्रा हुनेछ ।

प्रकाशित : फाल्गुन २०, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

नौ मन्त्री फेरिए, बल्ल तयार पौडी पोखरी

नेपालगन्ज रंगशालामा शिलान्यासको ११ वर्षपछि मात्र पौडी पोखरी तयार
रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज रंगशालाभित्र रहेको पौडी पोखरी शिलान्यासको ११ वर्षपछि प्रयोगका लागि तयार भएको छ । मापदण्ड तयार गरी फागुन १४ देखि पोखरीमा परीक्षण सुरु गरिएको छ । फागुन २५ देखि पूर्ण सञ्चालनमा आउनेछ । पोखरी प्रयोगका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत क्षेत्रीय खेलकुद विकास समितिले शुल्क निर्धारणसमेत गरेको छ ।

तत्कालीन युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीले २०६६ सालमा शिलान्यास गरेको पौडी पोखरीको निर्माण कार्यले २०७३ सालमा दलजित श्रीपाइली खेलकुदमन्त्री भएसँगै बहुवर्षीय परियोजनामा परेपछि गति लिएको थियो । पौडी पोखरी निर्माण कार्य पूरा हुँदासम्म ९ जना मन्त्री परिवर्तन भइसकेका छन् । समितिले सर्वसाधारणका लागि प्रतिसिफ्ट २ सय र विद्यार्थीका लागि प्रतिसिफ्ट १ सय रुपैयाँ शुल्क निर्धारण गरेको साबिक मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए ।

एक सिफ्टमा १ सय ५० जनासम्मले पौडी खेल्न सक्नेछन् । मासिक, अर्धवार्षिक र वार्षिक सदस्यता शुल्कसमेत निर्धारण गरिएको छ । समितिले विशेष र सदस्य समूहका लागि छुट्टाछुट्टै सिफ्ट बनाएको छ । सदस्य समूहका लागि बिहान ८–१० बजे र विशेष समूहका लागि बेलुकी ४ः३० देखि ६ः३० बजेको समय निर्धारण गरिएको चन्दले जानकारी दिए ।

‘सदस्य समूहका लागि बेलुकी ४ः३० देखि ७ः३० बजेसम्म निर्धारण गरिएको छ । सर्वसाधारण महिलालाई बिहान ११ देखि १ बजेको समय निर्धारण गरिएको छ,’ उनले भने, ‘महिलाका लागि दिइएको समयमा पुरुषलाई प्रवेश अनुमति छैन ।’

पौडी पोखरीका लागि प्रशिक्षक र लाइफगार्डको व्यवस्था गरिएको छ भने पौडी गर्नॅभन्दा पहिले अनिवार्य रूपमा नुहाउनुपर्ने नियम बनाइएको छ । पौडी खेल्नेहरूले अनिवार्य रूपमा ‘स्विमिङ कस्टम’ लगाउनुपर्ने नियम छ । कुल २१ करोड खर्चमा बनेको यो पौडी पोखरी कोरोना महामारीअगाडि तयार भएको हो । लकडाउनका कारण सञ्चालन हुन नसकेकामा अहिले मापदण्ड बनाएर गर्न लागिएको हो । पौडीको प्राविधिक जनशक्ति नहुँदा पनि पौडी पोखरी सञ्चालनमा कठिनाइ भइरहेको थियो ।

राखेपले २०७५/७६ मा तत्कालीन प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमै यो पौडी पोखरी सञ्चालनमा ल्याउने प्रयास गरेको थियो । निर्माण कार्य सम्पन्न नभएपछि अन्तिम समयमा स्थानीय होटलको पोखरीमा प्रतियोगिता गरिएको थियो । पौडी पोखरी सञ्चालनमा आउने आएपछि नेपालगन्जवासीमा उत्साह थपिएको छ । नेपालगन्ज देशकै सर्वाधिक गर्मी हुने ठाउँ भनेर चिनिन्छ । ‘महिलाका लागि पनि विशेष व्यवस्था भएकाले अब सजिलो भयो,’ उद्योग वाणिज्य संघकी सदस्य विन्दु घर्तीमगरले भनिन्, ‘आम्दानीको स्रोत मात्र होइन, पर्यटन व्यवसायसमेत आकर्षित बन्न सक्छ ।’

खेलाडीले पनि शुल्क तिर्नुपर्ने ?

देशको खेलकुद नियामक निकाय राखेपको बजेटमा निर्माण भएको पौडी पोखरीमा खेलाडीहरूले समेत शुल्क तिरेर प्रयोग गर्नुपर्ने विवादास्पद मापदण्ड बनाइएको छ । राखेपअन्तर्गत क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्दले खेलाडीको स्तर हेरेर न्यूनतम शुल्क लिइने जानकारी दिए ।

‘हामीसँग चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरू छैनन् । सुरुआती खेलाडीहरूलाई न्यूनतम शुल्क लिइनेछ । तत्कालका लागि खेलाडीले पनि शुल्क तिरेरै पोखरी प्रयोग गर्नुपर्नेछ ।’ नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले खेलाडीले प्रशिक्षणका लागि पोखरी प्रयोग गर्दा शुल्क तिर्नुपर्ने मापदण्डप्रति असहमति जनाए । ‘मैले सबै कुरा त बुझेको छैन । पोखरी सञ्चालनमा आउन लागेको जानकारी पाएको थिएँ । कम्तीमा आठौं राष्ट्रिय खेलकुदमा सहभागी भएका खेलाडीहरूले पोखरीको प्रयोग निःशुल्क गर्न पाउनुपर्छ भन्ने संघको माग हो,’ अध्यक्ष वज्राचार्यले कान्तिपुरसँग भने, ‘यसबारे राखेप सदस्यसचिवज्यूसँग कुरा गर्नेछु ।’

प्रकाशित : फाल्गुन २०, २०७७ ०८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×