कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफूलाई सुरक्षा खतरा रहेको प्रधानमन्त्रीको अभिव्यक्ति षड्यन्त्रपूर्ण र गैरजिम्मेवार : दाहाल–नेपाल समूह

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूलाई सुरक्षा खतरा भएको भनेर दिएको अभिव्यक्ति षड्यन्त्रपूर्ण र गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको छ । 

आफूलाई सुरक्षा खतरा रहेको प्रधानमन्त्रीको अभिव्यक्ति षड्यन्त्रपूर्ण र गैरजिम्मेवार : दाहाल–नेपाल समूह

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार बसेको यो समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले अयोग्यता र अनुत्तरदायी चरित्र प्रदर्शन गरेको ठहर गरेको हो ।

ओली एक क्षण पनि प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने कुरामा बैठकको जोड रहेको स्थायी कमिटी सदस्य भिम रावलले बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूलाई सुरक्षा खतरा भएको भनेर दिएको अभिव्यक्ति षड्यन्त्रपूर्ण र गैरजिम्मेवार ठहर गर्दै त्यस्तो अभिव्यक्ति दिई अयोग्यता र अनुत्तरदायी चरित्र थप प्रदर्शन गरेबापत केपी शर्मा ओली प्रधानमन्त्री पदमा एक क्षण पनि रहन नमिल्ने कुरामा बैठकले जोड दिएको छ,’ रावलले भने ।

ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले असंवैधानिक भएको फैसला गरिसकेपछि पनि नैतिकता र मर्यादाको ख्याल नगरी ओली प्रधानमन्त्री पदमा टाँसिरहेको भन्दै नेकपा दाहाल-नेपाल समूहको बैठकले निन्दा गरेको नेता रावलले बताए । 'सर्वोच्च अदालतले नेपालको संविधान र लोकतान्त्रिक प्रणालीको पक्षमा स्वागतयोग्य फैसला गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भनेर स्पष्ट गरिसकेको छ,' उनले भने, 'आफूले स्वच्छाचारी विघटन तथा आगामी वैशाख महिनामा आमनिर्वाचन गर्ने निर्णय उचित भएको भन्दै आउनुभएका प्रधानमन्त्रीको यससम्बन्धी निर्णय र भनाइ गलत साबित भइसकेपछि तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने उहाँको कर्तव्य हुन्थ्यो । त्यो सामान्य नैतिकताभित्र पर्दथ्यो । तर त्यो नैतिकता र मर्यादाको कुनै ख्याल नगरी पदमा टाँसिइरहने कार्यको बैठकले निन्दा गरेको छ',

२३ गते बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने र अन्य दलहरुसँगको छलफलका लागि स्थायी र सचिवालय बैठकलाई केन्द्रीय कमिटी बैठकले अधिकार दिएको रावलले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?