हेर्दाहेर्दै दोभान बजार खरानी

४९ घर जले, ५५ परिवार विस्थापित
आनन्द गौतम

ताप्लेजुङ — मेरिङदेन गाउँपालिका–३ खाम्लुङ दोभान बजारका सविन चुडाल सधैंझैं मंगलबार बिहान आफ्नै पसलमा व्यस्त थिए । साढे ८ बजेतिर उनले सामुन्नेको भोला पौडेलको घरको दोस्रो तलामा आगोको ज्वाला देखे । आत्तिएर उनी कराए, ‘आगो लाग्यो...आगो लाग्यो... ।’

हेर्दाहेर्दै दोभान बजार खरानी

सदरमुकाम फुङलिङदेखि १७ किमि पश्चिमको यो बजारमा उनी कराएसँगै आसपास पसलका ५/७ जना भेला हुँदा आगोले ठूलै रूप लिइसकेको थियो । बिहान ट्युसन पठाएका छोरा र छोरी मेवाखोलाको पुल तरेर पारिबाट फर्कंदै थिए । सविन उनीहरूलाई सुरक्षित ठाउँमा पुर्‍याउन दौडिए । अरू अभिभावक पनि आफ्ना नानीहरूलाई आगोबाट जोगाउनतिर लागे । आगो देख्नु र बच्चाहरूलाई जोगाउन दौडनुको अन्तर ५/७ मिनेटको हुँदो हो । छोराछोरीलाई मेवाखोलापारि पुर्‍याएर फर्कंदा सविनकै एउटा पसलसमेत जल्न थालिसकेको थियो ।

दुईवटा पसल गर्ने उनी श्रीमतीले रुँगेको पसलतर्फ हानिए र त्यसलाई जोगाउने प्रयासमा लागे । त्यतिबेला बजारभरि हल्लाखल्ला भइसकेको थियो । सबै आफ्ना नानी र पसल जोगाउने प्रयासमा लागे । बजारका सबै मान्छेले थाहा पाएको १०/१५ मिनेटमै १५ वटाभन्दा बढी घरलाई आगोले टिपिसकेको थियो । नियन्त्रण चुनौतीपूर्ण बन्दै गयो ।

प्रत्येक वर्ष पुस १ देखि ५ सम्म लाग्ने पुसे मेला र अरू बेला पनि व्यापार गर्ने उद्देश्यले बनाउन थालिएका बजारका अधिकांश घर ढुंगा, माटो, काठ र टिनका थिए । बजारमा गाडी नचल्ने भएकाले बीचमा सानो बाटो छ । दायाँ–बायाँ जोडिएका प्रत्येक घरमा पसल थिए, ती सबै जलेर खरानी भए । बजारको माथिपट्टि भने मोटर बाटो छ ।

सदरमुकाम फुङलिङबाट मेरिङदेन, मिक्वाखोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा यही बाटो भएर यातायातका साधन चल्छन् । तेह्रथुमको वसन्तपुर हुँदै धनकुटा, धरान पनि यही सडकले जोडेको छ । तमोर नदी तर्ने एकमात्र पुलसमेत छेउमै भएकाले यी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र यही बजार थियो । सविनले दुखेसो पोखे, ‘अस्तिको दिनमात्र ६५ लाखको सामान हालेको थिएँ, सबै जलेर खरानी भयो ।’

मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेश चोङवाङ लिम्बूका अनुसार ३३ परिवारका ४९ वटा घर जलेका छन् । यी घरमा २२ परिवारले भाडामा लिएर पसल गर्थे । घरधनी सबै यहीं बस्थे । घरधनी र पसल गर्नेसमेत गरी ५५ परिवार विस्थापित भएको उनले जानकारी दिए ।

गाउँपालिकाले विस्थापितलाई नजिकमा खाली रहेका घरमा राख्ने र तत्काल प्रतिपरिवार १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको लिम्बूले बताए । ‘मैले आगो सुरु भएको घरका धनी भोलाजीसँग सोधें, उहाँले दोस्रो तलाबाट आगो बाहिर निस्केको मात्र देखें भन्नुभयो,’ उनले थपे, ‘मंगलबार पूजा गरेर सामग्री थन्क्याएर बाहिर निस्कनुभएको रहेछ, घरमा आगो लागेछ ।’

आगो निभाउने क्रममा अनुहारमा सामान्य जलेका पौडेलको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । घरमा उनी र श्रीमती दुई जना मात्र बस्दै आएका थिए । गाउँपालिकाका प्रवक्ता सूर्य बराइलीका अनुसार आगलागीबाट डम्बर धिताल, डन्डु शेर्पा, हेम आङबोहाङ, भीम लंवा, सचिन चुडाल, श्याम चोङवाङ, भारती लिम्बू, गुरु पौडेल, सिङगडे शेर्पा, सुकवीर लिम्बू, चन्द्र पौडेल, पम्फा श्रेष्ठ, मोहन पोख्रेल, भोला पौडेल, राजेन्द्र पौडेल, राजकुमार श्रेष्ठ, कमल मुदेङछन, लोकेन्द्र अधिकारी, खुसीमान लिम्बू, अटल पालुङवा, खुसीमानकी आमा, चन्द्रहाङ लिम्बू, गजेन्द्र लिम्बू, टाँसी लामा, जंग लिम्बू, श्याम एभेङ, दावा शेर्पा, पवन लिम्बू, सिलांगे लिम्बू, दिलकुमार लिम्बू, सूर्यप्रकाश लिम्बू र जय भट्टराईको घर जलेका छन् । एकै जनाको ७ वटासम्म घर जलेको उनले बताए ।

पूर्वमा तमोर र पश्चिममा मेवाखोलाको बीचमा रहेको यो बजार जिल्लाको निर्वाचन क्षेत्र ‘ख’ को मेरिङदेन, मैवाखोला, आठराई त्रिवेणी र मिक्वाखोला गाउँपालिकाका बासिन्दाको किनमेलको मुख्य केन्द्र थियो । उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरेले व्यापारिक केन्द्र जल्दा ठूलो क्षति भएको बताए । ‘हार्डवेयर, खाद्यान्न, लत्ताकपडादेखि सुनसम्मको कारोबार यही बजारबाट हुँदै आएको थियो,’ उनले भने, ‘वसन्तपुर र तमोर करिडोर पनि यही सडकले जोडिने भएकाले यहाँका बासिन्दाले लगानी बढाउँदै लगेका थिए ।’ आगलागी भइरहँदा स्थानीयले तमोर नदी छेउ हान्द्रुङमा रहेको एक्स्काभेटर लगेर नौ वटा घर भत्काए । हावा दक्षिणबाट उत्तरतर्फ चल्यो ।

फुङलिङ नगरपालिकाको दमकल पनि पुग्यो । एक्स्काभेटरले घर भत्काएपछि र दमकलले पानी हालेपछि आगो नियन्त्रणमा लिन सहज भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए । दुई वटा दमकलले पानी हालेका थिए । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीका साथै स्थानीय बासिन्दा आगो निभाउन लागिपरेका थिए ।

‘मध्याह्न १२ बजेदेखि भने आगो थप फैलिँदैन भन्ने अवस्थामा पुगेको हो,’ राणाले भने, ‘आगलागी भएको क्षेत्रमा साँझसम्मै धूवाँ आइरहेको थियो ।’ दोभान बजारमा लागेको आगो सल्कँदा नजिकैको भीर र जंगलमा आगलागी भइरहेको छ । खाम्लुङको जंगल क्षेत्रमा आगो लागे पनि बस्तीमा क्षति नपुग्ने सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझाले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७७ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?