२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बीबीसी मास्टर सेफ उपविजेता साहको खुलासा- 'नागरिकता लिन घूस दिनुपर्‍यो'

सुरज कुँवर

काठमाडौँ — बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२० का उपविजेता सन्तोष साहले नेपाली नागरिकता बनाउँदा घूस दिनुपरेको खुलासा गरेका छन् । मंगलबार चन्द्रागिरि हिल्समा आयोजित सम्मान कार्यक्रममा नेपाली सेफहरूमाझ उनले सुरुका दिनमा आफ्नो जीवनकाल अत्यन्तै संघर्षपूर्ण रहेको उल्लेख गर्दै सजिलै नागरिकता नपाएको र घूस दिनुपरेको खुलासा गरेका हुन् । हाल बेलायती राहादानी लिइसकेका सेफ साहले गलत कुरा कहिल्यै नलुक्ने उल्लेख गरे ।

बीबीसी मास्टर सेफ उपविजेता साहको खुलासा- 'नागरिकता लिन घूस दिनुपर्‍यो'

भारतीय रेस्टुरेन्टमा झन्डै दुई दशक बिताएका उनलाई पछिल्लो पटक सामाजिक सञ्जालमा भारतीय नागरिकको आरोप लगाइएको थियो । उनले सामाजिक सञ्जालका आरोपको खण्डन गर्दै भने, ‘म पक्का नेपाली हुँ । सिराहको कर्जन्हामा जन्मेको हुँ । नागरिकता पनि छ । नागरिकताका लागि धेरै दौडिनुपर्‍यो । घूस दिनुपर्‍यो । जे पनि दिनुपर्‍यो । हाम्रो सिस्टमै त्यही हो ।’ उनले प्रमाण नभएकाले बरु चाँडै नागरिकता पाउने गरेको पनि बताए ।

उनले कुनै पनि मानिस उचाइमा पुगेपछि गलत कुरा नलुक्ने बताउँदै आफ्नो नागरिकता बनाउँदा घूस दिनुपरेको खुलासा गरेका हुन् । पर्यटन बोर्डमा आयोजित अर्को सम्मान कार्यक्रममा उनले हाल आफ्नो विदेश (लन्डन) को पासपोर्ट भएको तर पासपोर्ट जहाँको भए पनि आफूमा नेपालको माया धेरै भएको बताए । कान्तिपुरसँग कुरा गर्दै उनले ११ वर्षको उमेरमा पहिलो पटक १७ रुपैयाँमा पाउरोटी बेचेर चप्पल किनेको अनुभव पनि सुनाए । उनले यो विषयमा चन्द्रागिरिमै पनि सेफहरूमाझ बोलेका थिए । ‘पहिलो पटक पाउरोटी बेचेर चप्पल किनेको थिएँ । माटो लाग्छ भनेर पहिलो दिन चप्पल खुट्टामा होइन हातमा लगाएर हिँडेको थिएँ ।’ परिवारमा ६ जना दाजुभाइ तथा दिदीबहिनीका कान्छा सन्तान उनले ६ वर्षकै उमेरमा बुवा गुमाउनुपरेकाले अत्यन्तै संघर्षगर्नु परेको बताए । ‘म साधारण मान्छे हुँ । तपाईंहरूले मलाई दिएको सम्मान आउने पुस्ताका लागि हो,’ उनले चन्द्रागिरिमा भने ।

नेपाली खान्कीलाई अन्तर्राष्ट्रियकरण गराउन महत्वपूर्ण योगदान पुर्‍याएको जनाउँदै बीबीसी मास्टर सेफ २०२० का पहिलो नेपाली उपविजेता सेफ सन्तोष साहलाई मंगलबार नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल, चन्द्रागिरि हिल्स प्रालि, रेस्टुरेन्ट एसोसिएसन अफ नेपाल (रेबान) र सेफ एसोसिएसनले सम्मान गरेका थिए । पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरे ।

बीबीसी वानको चर्चित मास्टर सेफ प्रतियोगितामा नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर निर्णायक तथा दर्शकहरूको माया पाइराखेका साहले मौलिक नेवारी परिकार योमरी, बेथेको साग, रोस्टेड काँक्रोको बिया, तरुलको खाना, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी, भाङको चट्नी, मकैको रोटी, प्याजको अचार, स्याउको चटनीलगायत नेपाली खानाका परिकारहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित : फाल्गुन १८, २०७७ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?