कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका बालाजुका स्थानीयलाई थुनामुक्त गर्न आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले काठमाडौंको बालाजुमा सडक विस्तारका क्रममा विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका स्थानीयवासीलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका बालाजुका स्थानीयलाई थुनामुक्त गर्न आदेश

न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले मंगलबार बिनाआधार कारण पक्राउ गरी अनुसन्धानका लागि भनी पक्राउ परेकालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, 'स्पष्ट आधार र कारणबिना निवेदकलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएकाले निवेदकलाई आजै थुनामुक्त गर्नु ।'

बालाजु बाइसधारा क्षेत्रमा सडक विस्तारका क्रममा प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ता सुमन सायमी, जुजुकाजी मर्हजन, सुमन घिमिरे, सुशील पोखरेल, प्रकाश महर्जन, वीरेन्द्र महर्जनलगायतलाई गत बुधबार पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको थियो । 'कुनै व्यक्तिलाई थुनामा राख्दा कानूनसम्मत, उचित कारणसहित वस्तुनिष्ट आधार उल्लेख हुनुपर्नेमा यी निवेदकले के कस्तो आपराधिक कार्य गरेको भन्ने स्पष्टसँग खुल्न आएको देखिएन', आदेशमा भनिएको छ, 'जसबाट यी रिट निवेदकलाई आफ्नो सम्पत्ति रक्षार्थ विचार र अभिव्यक्ति व्यक्त गरेको कारणबाट पक्राउ गरेको देखिन्छ ।' आदेशमा आधार र कारण मिसिल संलग्न कागजबाट खुल्न सकेको नदेखिँदा निवेदकको थुना गैरकानुनी देखिएको उल्लेख गरिएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?