कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिल्म पाइरेसीको आरोपमा युवक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — 'डमरुको डन्डिबियो', 'सरौतो' लगायतका विभिन्न फिल्म पाइरेसी (चोरी) गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इन्टरनेटको माध्यमबाट नेपाली फिल्म पाइरेसीको आरोपमा २५ वर्षीय सुजन परियारलाई फागुन १३ मा पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुका प्रहरी निरीक्षक भुवनबहादुर खड्काले बताए । 

फिल्म पाइरेसीको आरोपमा युवक पक्राउ

चलचित्र विकास बोर्डमा मंगलबार आयोजित कार्यक्रममा प्रहरीसहित डिजिटल प्लेटफर्म 'सिनेमाघर'ले फिल्म पाइरेसी गर्ने युवकबारे जानकारी गराएको हो । 'सिनेमाघर'का प्रमुख कार्यकारी अधिकृत सागर खरेल परियारले पाइरेसी गरेको फिल्म टेलिग्राममार्फत हजारौं दर्शकमा पुर्‍याएको बताउँछन् । 'उनले एउटामात्र होइन धेरै फिल्मको पाइरेसी गरेका छन् । टेलिग्राम एपमार्फत ग्रुप बनाएर हजारौं मानिसमा फिल्म पुर्‍याइरहेका छन्,' उनले भने । सिनेमाघरकै प्रविधिमार्फत परियारलाई ट्रयाक गरेर समातिएको खरेलले बताए ।

'अहिले उनी थुनामा छन् । मौखिक रुपमा उनले पाइरेसी गरेको स्वीकारिसकेका छन् । अब उनलाई कानुनअनुसार सजाय हुन्छ । हामी यो मुद्दामा पछाडि हट्दैनौं,' उनले भने, 'हामीलाई आर्थिक क्षति धेरै भएको छ ।'

प्रहरी निरीक्षक खड्का प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ र २६ मा उल्लेख गरिएको कसुरमा आफूहरुले अनुसन्धान गर्दै आएको बताए । उनले भने, 'प्रतिलिपि अधिकार उल्लंघन गर्ने अपराधीलाई कानुनी दायरामा ल्याएर कारबाही हुन्छ ।'

कार्यक्रममा हाइलाइट्स नेपालका जनक तामाङले पनि आफूहरुले २०१५ देखि पाइरेसीको समस्या झेलेको सुनाए । 'हामीले २०१५ मा चारवटा फिल्मको मुद्दा हालेका थियौं । त्यतिखेर पाइरेसी गर्ने व्यक्तिलाई पक्रन सफल भएका थियौं,' उनले भने । उनी पाइरेसीको मुद्दामा नेपालको कानुन कमजोर भएको बताउँछन् । 'क्षतिपूर्ती पनि न्यून छ । अहिले त करोड खर्च गरेर फिल्म बनिरहेको हुन्छ ।'

अभिनेता खगेन्द्र लामिछानेले 'पशुपतिप्रसाद'को पाइरेसी भएकै कारण फिल्मबाट फाइदा उठाउन नसकेको बताए । 'पाइरेसीको कारणले लगानी सुरक्षित गर्न पनि गाह्रो भएको थियो । हामीले फिल्मबाट धेरै पैसा कमाउँथ्यौं तर पाइरेसीले गर्दा कमाएनौं,' उनले भने,'पाइरेसी भनेको त पाकेको धानलाई बाढीले बगाइदिएजस्तो हो । एकदम जोखिम छ त्यसमा । तर, यो गहन विषय हो ।'

पाइरेसीको विषय पाठ्यक्रममा समावेश गरियो भने यो समस्या न्यूनीकरण हुने उनको धारणा छ । '३० वर्षमुनिका मानिसहरु पाइरेसीमा संलग्न भएको देखिन्छ । परिवारका अभिभावकले पाइरेसी अपराध हो भनेर सिकायो भने अहिलेलाई धेरै राम्रो हुन्छ,' उनले भने, 'हाम्रो देशमा पाइरेसीको कानुन कमजोर छ ।'

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका कम्प्युटर अधिकृत उत्तमप्रसाद दवाडी प्रतिलिपि अधिकार उल्लंघनबारे प्राप्त निवेदनलाई प्रहरी अनुसन्धानका लागि पठाउने गरेको बताउँछन् । 'स्रष्टाले प्रतिलिपि अधिकार उल्लंघन भएको निवेदन कार्यालयमा दर्ता भयो भने हामी त्यो निवेदनलाई प्रहरीलाई अनुसन्धानका लागि पठाइदिन्छौं,' उनले भने, 'प्रतिलिपि अधिकार २०५९ लाई हाल संशोधनका लागि संसदमा पेस गरिएको प्रतिलिपि अधिकार गरेको छ । सायद त्यो ऐन संसदबाट पारित भएर आएको खण्डमा प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई सजाय अलि बढी हुने प्रावधान भएर आउँछ कि भन्ने हाम्रो कार्यालयको धारणा छ ।'

प्रकाशित : फाल्गुन १८, २०७७ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?