कर्णाली करिडोरले बढायो चहलपहल

ग्रामीण क्षेत्रमा व्यावसायिक किसान बढे, मुगु खण्डमा मात्रै बने झन्डै २० वटा साना–ठूला बजार

काठमाडौँ — कालीकोटको रास्कोट–६ शान्तिघाटका ७८ वर्षीय अज फर्सालको दैनिकी अहिले फेरिएको छ । ५ वर्षअघिसम्म तरकारी बेच्न झन्डै ३ घण्टा हिँडेर जिते र लालीघाट पुग्ने उनी अचेल घरबाटै तरकारी बिक्री गर्छन् । उनको बारीको तरकारी गाडीबाट पचालझरनाको जारकोट, भुराबगर, पलाताको बाख्रेबजारलगायत ठाउँ पुग्छ ।

कर्णाली करिडोरले बढायो चहलपहल

कर्णाली नदीको तिरैतिर कर्णाली करिडोर बनेपछि ग्रामीण क्षेत्रमा व्यावसायिक किसान बढेका छन् । पिठ्यूँमा नुन, तेल, खाद्यान्न र लत्ताकपडाको भारी बोकेर जीवन गुजार्ने स्थानीयको जीवनशैली सडककै कारण परिवर्तन भएको छ । ‘पहिले डोकोमा बोक्नुपर्ने बेला वर्षमा एक/डेढ लाखको मात्र तरकारी उत्पादन हुन्थ्यो,’ फर्सालले भने, ‘सडक पुगेपछि ढुवानीको समस्या छैन, १० पाथी धान रोप्ने खेतमा व्यावसायिक तरकारी खेती गरेको छु ।’ उनले तरकारीबाटै वार्षिक ५ लाख रुपैयाँ कमाइ भइरहेको बताए । घर नजिकै सडक आएपछि उनले नातिलाई जेटीए पढाएर खेतीमै लगाएका छन् ।

रास्कोट–१ न्यौपानेबाडाका परिलाल न्यौपानेले तरकारी बेचेको आम्दानीले ३ छोरालाई उच्च शिक्षा पढाएका छन् । यसअघि वार्षिक २ लाखसम्मको तरकारी बेच्दै आएका उनले वर्षमा ३ लाख रुपैयाँको अलैंची बिक्री गर्छन् । ‘तरकारी त स्थानीय बजारमै बिक्री हुन्छ,’ उनले भने, ‘गाडी पुगेपछि अलैंचीले राम्रो भाउ पाएको छ ।’ गत वर्ष उत्पादन गरेको अलैंची सुर्खेत र नेपालगन्जमा बिक्री गरेको उनले बताए । न्यौपानेले बारीमा करिब ३० हजार अलैंचीका बेर्ना लगाएका छन् ।

सडक सुविधा भएपछि पलाता–९ थिर्पुमा मात्र २७ जनाले प्लास्टिक टनेलमा तरकारी खेती गरिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताए । उनका अनुसार सडकले कालीकोटको नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी, पचालझरना र पलातासहितका स्थानीय तह, बाजुरा र मुगुका ग्रामीण भेगमा आर्थिक क्रियाकलाप बढेको छ । ‘सडकले दैनिक उपभोग्य सामग्री सस्तिएको छ,’ उनले भने, ‘एक दिनको यात्रा दुई घण्टामा छोटियो ।’

कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डको जितेगडादेखि बाजुरासम्म गाडी चल्न थालेको ३ वर्ष पुगेको छ । खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोटसम्म १ सय ९६ किमि दूरी छ । नेपाली सेनाले जिम्मा लिएको सडकमा १ सय २२ किलोमिटर ट्र्याक खुलिसकेको छ । सडक पुगेसँगै बजार विस्तार पनि धमाधम भइरहेको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए । उनका अनुसार स्थानीय बजारहरूमा पक्की घर बनाउने क्रम बढेको छ भने सदरमुकामकै मूल्यमा उपभोग्य सामग्री पाइन थालेको छ ।

सडक पुगेसँगै ज्याला मजदुरीका लागि भारत जानेको संख्यामा कमी आएको जिल्ला समन्वय समितिका इन्जिनियर चक्रबहादुर शाहीले बताए । ‘पहिले काम नपाउँदा भारत जानुको विकल्प थिएन,’ उनले भने, ‘अहिले गाउँमा जे गर्छु भने पनि पाइन्छ ।’ करिडोर सुरु हुने कालीकोटको खुलालु पुल निर्माण नहुँदा झोलुंगे पुलबाट सामान बोक्न करिब ५ सय स्थानीयले रोजगारी पाएका छन् । उनीहरूले भारी बोकेरै दिनमा १ देखि ३ हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् ।

मुगुको सोरु गाउँपालिका–४ तलितिब्रुका अंगबहादुर शाहीलाई मजदुरीका लागि ३ वर्षयता भारत जानुपरेको छैन । फोतुगाउँका बिर्ख शाहीले पनि सडकमा काम गरी वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । उनीहरू मात्र होइन, २ गाउँका झन्डै ३ सय युवाले गाउँमै रोजगारी पाएका छन् । कालीकोटका धनवीर बोगटीले सडकमा झन्डै ३ वर्ष काम गरेको रकमले गाडीसमेत किनेका छन् । ‘सडकमा काम गर्दा वर्षमा कम्तीमा ५ लाख कमाइन्छ,’ उनले भने, ‘गाउँमै रोजगारी पाएपछि जीवनस्तर सुध्रिएको छ ।’

सडक वरिपरिको जग्गा ओगट्न स्थानीयको होडबाजी चल्न थालेको छ । नयाँ बजार आसपासका क्षेत्रमा जग्गाको भाउ र घरभाडा झन्डै ५ गुणाले महँगिएको छ । ‘करिडोरका कारण जग्गा सुनजस्तै हुन थाल्यो,’ स्थानीय कमल शाहीले भने, ‘सडक आसपासमा टहरा बनाएर होटल र पसल खुल्न थालेका छन् ।’ उनले करिडोरका कारण मुगु खण्डमा मात्रै झन्डै २० वटा साना–ठूला बजार बनेको बताए । करिडोर आसपासका क्षेत्रमा प्रतिमिटर ५० हजार रुपैयाँमा जग्गाको किनबेच हुन थालेको छ । केहीले सरकारी जग्गासमेत ओगटेर व्यवसाय चलाउन थालेको शाहीले बताए ।

करिडोरका कारण यसअघि खेर गएका बाँझो जग्गामा बजार बस्न थालेको छ । बाजुराको धुलाचौर, हुम्लाको बालु, कुना, तीर्थासैनलगायत गाउँमा खेर गएको जग्गामा बजार बसेको हो । सडकको आसपास बजार बन्न थालेपछि डाँडाका बस्तीका बासिन्दा बेंसीतिर झर्न थालेका छन् । सुर्खेत र नेपालगन्जबाट साना गाडीहरू चल्न थालेपछि बेंसी झरेर विभिन्न व्यापार व्यवसाय गर्ने प्रतिस्पर्धा हुन थालेको धैनकोटका सुरजित मल्लले बताए । ‘सबै सडक छेउछाउ सरेपछि डाँडाका बस्तीहरू खाली हुन थाले,’ उनले भने, ‘गाउँमा आर्थिक गतिविधि पनि बढेको छ ।’

२०७१ चैतदेखि सेनाले सडक निर्माण थालेको थियो । ‘१२३ किमि ट्र्याकमध्ये १ किमि मात्र खोल्न बाँकी छ, आगामी वैशाखसम्म सक्ने योजना छ,’ सडक निर्माण कार्यदल प्रमुख (सेनानी) मिलन कार्कीले भने, ‘लक्ष्यअनुसार काम भए चालु आर्थिक वर्षभित्रै सडक सरकारलाई हस्तान्तरण गर्छौं ।’ उनका अनुसार ट्र्याक निर्माण पूरा भएपछि केही ठाउँमा सडक चौडा बनाउने, टेवा पर्खाल लगाउनेलगायत काम हुनेछन् । सडक विभागको २ अर्ब ८४ करोड ११ लाख रुपैयाँ लागत इस्टमेटबाट करिडोर निर्माण भइरहेको हो । प्रतिकिलोमिटर झन्डै ७० लाख रुपैयाँ लागत परेको सेनाले जनाएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?