बिहारमा बालिका बलात्कृत : छोरी गुमिन्, घर फर्कियो परिवार

कमल पन्थी

बर्दिया — भारतको बिहार राज्यमा सामूहिक बलात्कारपछि हत्या गरी जलाइएकी नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको परिवार स्वदेश फर्किएका छन् ।

बिहारमा बालिका बलात्कृत : छोरी गुमिन्, घर फर्कियो परिवार

अदालतमा बयान दिएर उनीहरू चार दिनअघि बर्दियाको बारबर्दिया नगरपालिका–३ स्थित घर फर्किएका हुन् । सुमित्राका बुबा खड्गबहादुर विक रोजगारीका लागि ७ वर्षअघि बिहारको कुन्डवा चैनपुर पुगेका थिए । उनको काम बजारका पसलमा रातभरि सुरक्षा दिनु थियो । त्यसबापत हरेक पसलधनीले उनलाई दैनिक २ देखि ५ रुपैयाँ दिने गर्थे । त्यही पैसाले परिवार पाल्दै आएका थिए ।

छोरा हरिश बुबासँग बसेर स्थानीय जीवन ज्योति माविमा कक्षा ५ मा पढ्थे । लकडाउनताका गत असोजमा छोरी सुमित्रा पनि कुन्डवा चैनपुर पुगेकी थिइन् । उनी बारबर्दिया–६ स्थित शिवशक्ति आधारभ्तू विद्यालयमा कक्षा ३ मा पढ्थिन् । आमा कृष्णा सुकुम्बासीको लगत लिन बर्दिया आएको समय उक्त घटना भएको थियो । बालिकामाथि २१ जनवरीमा भएको घटनाको निवेदन फेब्रुअरी २ तारेखमा मुद्दा दर्ता भएको थियो ।

प्रहरीमा उजुरी गरे मार्ने धम्की आएपछि स्थानीयको सहयोगमा २१ दिनपछि एफआईआर दर्ता गराएको खड्गबहादुरले बताए । कुन्डवा चैनपुर प्रहरी चौकीमा संख्या २१/२१ फेब्रुअरी २ तारेखमा भारतीय दण्ड सजाय १४९/३४२/४५०/३७६ (डीबी), १२० (बी) ३०२/२०१ अनुसार मुद्दा दर्ता गरिएको छ ।

कुन्डवा चैनपुरका नवनियुक्त थानाध्यक्ष मिथिलेशकुमार यादवले घटनाका आरोपी ११ जना पक्राउ परिसकेको टेलिफोनमार्फत कान्तिपुरलाई बताए । तीमध्ये ४ जनाले बालिकामाथि दुष्कर्म गरी हत्या गरेको आरोप छ । घरबेटी सियाराम साहका छोरा विनय, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साहमाथि दुष्कर्म र हत्याको अभियोग छ । आत्मसमर्पण गरेका सबैलाई कारागार पठाइएको थानाध्यक्ष यादवले सुनाए । सुमित्रा हत्याको प्रमाण मेटाउन र शव जलाउन सहयोग गर्ने तत्कालीन थानाध्यक्ष सञ्जीव रञ्जनलाई पक्राउ गर्न आदेश भए पनि उनी फरार छन् । रञ्जनलाई पक्राउ गर्न एसआईटी गठन गरिएको छ ।

आमा कृष्णा भारतीय अदालतले अभियोगीलाई फाँसी दिने आस गर्छिन् । अपराधीले सजाय पाए सुमित्राको आत्माले शान्ति पाउने उनले बताइन् । बुबा खड्गबहादुरले छोरी गुमाएको मध्यरातमा डेरा सार्नुपरेको बताए । कुन्डवा चैनपुर छाडेर नेपाल नफर्किए ज्यान मार्ने धम्की दिएपछि त्रासले ढाकास्थित आफन्तीकहाँ पुगेर ज्यान जोगाएको उनले बताए ।

बारबर्दिया नगर प्रमुख दुर्गाबहादुर थारूले विक परिवारलाई राहत स्वरूप प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिएको बताए । छोरा हरिशलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाका लागि पहल गर्ने उनले बताए ।

प्रकाशित : फाल्गुन १८, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?