१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पालिकाको खर्चमा सामूहिक कन्यादान

७ जोडी नवविवाहितलाई सुन, कपडा, फर्निचर, भाँडाकुँडासहित ५५ प्रकारका सामान उपहार प्रदान
सन्तोष सिंह

धनुषा — रामनारायण जनता माविको परिसरमा भव्य पण्डालभित्र सजिएका ७ वटा विवाह मण्डप, सातै जोडी दुलहा–दुलहीले एकअर्कालाई वरमाला लगाइदिए । सुनको औंठी साटफेर गर्दा उपस्थितले ताली बजाए । लगत्तै आफन्त र अन्य शुभेच्छुकले मञ्चमा उक्लिएर दुलहा–दुलहीलाई आशीर्वाद दिन थाले । त्यसपछि मैथिली परम्पराअनुसार विवाहका अन्य विधिसमेत अघि बढाइयो ।

पालिकाको खर्चमा सामूहिक कन्यादान

‘गाउँपालिका अध्यक्ष कन्यादान योजना’ अन्तर्गत सोमबार पिपरा गाउँपालिकाले आयोजना गरेको सामूहिक विवाहमा विपन्न/गरिब परिवारका ७ छोरीको विवाह भएको हो ।

मधेसमा गरिब तथा विपन्न परिवारलाई छोरीको विवाह गर्दा ऋणको भारी बोक्नुपर्ने बाध्यता हटाएर दाइजो उन्मूलन र सामाजिक जागरणका लागि गाउँसभाबाट पारित योजनामार्फत सामूहिक विवाह गराइएको अध्यक्ष विक्रम चौधरीले बताए । ‘विपन्न परिवारका ७ छोरीलाई एकैसाथ गाउँपालिकाको खर्चमा कन्यादान गरेको छु,’ उनले भने ।

गाउँपालिकाले १० छोरीको विवाहका लागि ४० लाख रुपैयाँ विनियोजन गरे पनि ७ जनाले मात्रै आवेदन दिएका थिए । जसअनुसार आयोजित सामूहिक विवाहमा दुलहा–दुलहीलाई ३/३ आनाको सुनको औंठी, दुलहालाई गन्जी, कट्टु, तौलिया, गम्छा, धोती कुर्ता, सुट, जुत्ता, मोजा र दुलहीलाई २ आनाको मंगलसूत्र, साडी, साया, लेहंगा सेट र सौन्दर्य सामग्री उपलब्ध गराइएको थियो । नवदम्पतीलाई गाउँपालिकाले नयाँ फर्निचर सेट, स्टिल दराज, बाक्सा, भाँडाकुँडासहित ५५ प्रकारका सामान उपहार दिएको अध्यक्ष चौधरीले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीका अनुसार पिपरा–१ की कविता कुमारी महरा र जलेश्वरका अनिल महरा, पिपरा–४ की रञ्जुकुमारी राम र भारत मधुवनी कुन्डन मरियाका लक्ष्मण महरा, पिपरा–१ की कविता कुमारी महतो र जलेश्वरका रोशन महतो, पिपरा–४ की बबिना कुमारी र जलेश्वरका बब्लुकुमार पासवान, पिपरा–४ की निभा कुमारी र लक्ष्मीनियाका दिनेश महरा तथा पिपरा–४ की राजकुमारी सदा र महोत्तरी बलवाका राजकरण सदाको विवाह भएको हो ।

प्रकाशित : फाल्गुन १७, २०७७ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?