१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सुशासन कायम गर्न कानुनको शुद्धता र गुणस्तरले बढी भूमिका खेल्छ : सभामुख

'संसदीय व्यवस्था मौलिक जगमा खडा भएको छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले सुशासन कायम गर्न कानुनको शुद्धता र गुणस्तरले बढी भूमिका खेल्ने बताएका छन् ।

सुशासन कायम गर्न कानुनको शुद्धता र गुणस्तरले बढी भूमिका खेल्छ : सभामुख

सोमबार काठमाडौंमा आयोजित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवसका अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सभामुख सापकोटाले सुशासनको क्षेत्रमा महत्त्वपूर्ण विधि, विधान, नीति निर्माण र कानुन भएको भन्दै सुशासन कायम गर्नको लागि कानुनको शुद्धता, पवित्रता र काननुको गुणस्तरले सबैभन्दा बढी भूमिका खेल्ने बताएका हुन् ।

कानुनमा भएका स–साना छिद्रभित्र पसेर ठूलाठूला अत्याचार हुने गरेको भन्दै उनले कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सुशासनको क्षेत्रमा मलाई के लाग्यो त भन्दाखेरी विधि विधान, नीति निर्माण, कानुन । म कानुनको विद्यार्थी त होइन । अहिले मलाई जब कानुनको अलिकति सूक्ष्म अध्ययन गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । मलाई के लाग्यो त भन्दाखेरी कानुन निर्माणदेखि लिएर कानुनमा हुने छिद्रहरु र कानुनको शुद्धता, पवित्रता, कानुनको गुणस्तरले चाहिँ सुशासन कायम गर्नका लागि सबैभन्दा बढी भूमिका खेल्छन् । तपाईं हामिलाई थाहा छ त्यहाँ छिद्रभित्र पसेर धेरै ठूला कुरा हुँदारहेछन् । एउटा कमा हुँदा र नहुँदा, ‘र’ र ‘वा’ को बीचमा कति ठूला कुरा भइराखेको हुँदा रहेछन् । त्यसरी कति ठूला अत्याचारहरु भइराखेका छन् ।’

सभामुख सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको र नयाँ मूल्यमान्यताहरुलाई आत्मसात गर्न खोजेको बताए । संविधानले मौलिक अभ्यास गर्न खोजेको भन्दै उनले संविधानलाई अझैपनि विकास, परिमार्जन र संशोधन गर्नुपर्ने आवश्यकता रहेको र सोको लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताए ।

सापकोटाले भने, ‘हाम्रो संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको छ । नयाँ मूल्यमान्यतालाई पनि आत्मसात गर्न खोजेको छ । हाम्रो संविधान साँच्चिकै दुनियाँको मौलिक छ । यसले मौलिक अभ्यास गर्न खोजेको छ हाम्रो संविधानले । यो परम्परागत संसदीय व्यवस्था पनि होइन र यो हाम्रै मौलिकतामा, मौलिक जगमा खडा भएको छ । नेपालीपन छ यसमा । नेपाली मौलिकता छ । र त्यो संविधानमा फेरिपनि हामिले विकास गर्नुछ । परिमार्जन गर्नुछ । संशोधन गर्नुछ । त्यो संशोधन, परिमार्जन र विकास गर्नका लागि यसको सफल कार्यान्वयन गर्नुछ ।’

प्रकाशित : फाल्गुन १७, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?