कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

देशमा नैतिकताको खडेरी देखियो : दाहाल

'ओली सम्पूर्ण रुपले पतन नुहँदासम्म बेइमानी र गडबढ गर्न छाड्दैनन्'
'सूर्य चिन्ह र आधिकारिक पार्टी हाम्रो हो'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले देशमा नैतिकताको खडेरी देखिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा बोल्दै दाहालले सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिँदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर अझै धम्की र अहंकार प्रदर्शन गरेको बताए ।

देशमा नैतिकताको खडेरी देखियो : दाहाल

‘देशमा नैतिकताको खडेरी परेको देखियो । संविधानमाथि घात भयो, असंवैधानिक भनेर देशव्यापी आन्दोलन भयो, सर्वोच्चले फैसला गर्‍यो । नैतिकताको आधारमा एक रौं पनि केही गर्न नपर्ने । अझ उल्टै धम्कि, अहंकार प्रदर्शन गर्ने । पुरै ध्वस्त नभएसम्म केपिजीको बुद्धि पलाउने देखिएन,’ दाहालले भने ।

सर्वोच्च अदालतले ओलीको कदमलाई खारेज गरिसकेपछि पनि उनी प्रधानमन्त्री पदमा बसेर अझै देखाइ दिन्छु भन्दै धम्की दिएको दाहाललको भनाइ छ । ‘राजीनामा दिनु पर्नेमा झन् जितौं जस्तो पो गर्नुभएको छ । सर्वोच्चले उहाँलाई हराइदिएको छ । हामी झन् बलियो भयौं रे । के अचम्म हो हारेपछि बलियो भइने । यो कस्तो सिद्धान्त प्रतिपाद गरेको केपीजीले ? यस्तो नि हुन्छ काहीँ ? नैतिकताको आधारमा राजीनामा दिनु पर्छ भनेर सबैले भनिराखेका छन् । तर राजीनामा दिनु त कता हो कता अझै देखाइ दिन्छु भन्नु हुन्छ,’ उनले भने, ‘अब देखाउन के बाँकी छ र ? संकटकाल लगाएर देखाउँछु भनेको हो कि ? किनभने उहाँ त अब वैधानिक ढंगले पार्टी सदस्य पनि हुनुहुन्न । सर्वोच्च अदालतले उहाँको कदमलाई खारेज गरिसकेपछि उहाँ प्रधानमन्त्रीमा एक छिन् पनि बस्न लायक हुनुहुन्न ।’

ओली सम्पूर्ण रुपले पतन नुहँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने दाहालले बताए । ‘केपी ओली सम्पूर्ण रुपले आफ्नो पतन नहुँदा सम्म बेइमानी र गडबढ गर्न नछोड्ने पात्रको रुपमा देखिनु भएको छ । मैले हिजो मात्रै सुने मान्छेलाई साम,दाम, दण्ड भेद, प्रलोभन के के गर्दै अझै बल गर्नु भएको छ,’ दाहालले भने ।

संसद् विघटनपछि ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदिएको भन्दै दाहालले निर्वाचन आयोगको हल्लाको सेटिङ पनि भत्किने दाबी गरे । ‘देशभरी अभियान चलाएर सेटिङको हल्ला चलाउनु भएको थियो । धेरै मान्छे केपी कमरेडको सेटिङको हल्लाले प्रचण्ड–माधवतिर लागे बर्बाद भइहाल्छ नि भन्ने भ्रममा थिए । अब विस्तारै फर्किदै हुनुहुन्छ । आउनुस् अब अर्को सेटिङ पनि भत्किदै छ निर्वाचन आयोगको,’ दाहालले भने, ‘हेर्नुहोला मैले त्यत्तिकै भनेको हैन । बुझेर भन्दै छु । निर्वाचन आयोगले यो पार्टी उहाँको आधिकारिक पार्टी हैन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो । सूर्य चिन्ह र नाम उहाँहरुकै हो भन्ने फैसला हुन्छ । यसमा एक इन्च पनि शंका गर्नुपर्दैन । विश्वासको साथ भन्न सक्छु । यसमा दुविधा पाल्न जरुरी छैन ।’

निर्वाचन आयोगबाट आफूहरुलाई आधिकारिक पार्टी र सूर्य चिन्ह पाइसकेको तर त्यसको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाहालले दाबी छ । सूर्य चिन्ह र आधिकारिक पार्टी आफूहरुकै भएको भन्दै दाहालले दुविधामा रहेका नेता कार्यकर्तालाई फर्किन आग्रह गरे । ‘सूर्य चिन्ह उतै हुन्छ भनेर कोही साथीहरु निधाउनु भएको छ । तपाईंहरुलाई लठ्ठाइएको छ, के-के पिलाएर हो के-के पिलाएर । छिट्टै तपाईहरु बिउँझनुस् । आउनुस् । मूल पार्टी, आधिकारिक पार्टी यहि हो । यसलाई कसैले यताउता गर्न सक्दैन । सर्वोच्चले जनताको पक्षमा संविधान अनुसार नै फैसला गर्छ भनेको थिए । संविधान, पटक पटक छलफल, दल सम्बन्धि ऐनको व्यवस्था ले सूर्य चिन्ह हामीले पाई सक्यौं । घोषणा हुन मात्रै बाँकी हो,’ दाहालले भने ।

सर्वोच्चको फैसला आउने दिन नै आफूले ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएको तर ओलीले उल्टो गरेको दाहालको भनाइ छ । ‘केपीजी नांगै भइसक्नुभयो तर कपडा लगाएको छु भन्दै हिँड्नु भएको छ । मैले त सर्वोच्चको फैसला हुने दिन नै भनेको थिए, तपाईं आज रातभरीमा राजीनामा दिनु भयो भने नेपाली जनताले फेरी छुट दिन्छन् । तर, मैले भनेपछि उहाँले उल्टो गरिहाल्नु हुन्छ । उहाँले त हामीलाई सिध्याउने एक मात्र मिसन देखाउनु छ,’ उनले भने । राजनीतिक दलहरुबीचको सहमतिले अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरुवात हुने दाहालले बताए ।

प्रकाशित : फाल्गुन १७, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?