कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल-नेपाललाई गृहमन्त्री थापाको आग्रह : अविश्‍वास प्रस्ताव फिर्ता लिएर सच्चिनुस्

'पुराना शक्तिले नेपालमा समाजवाद स्थापना भएको देख्न चाहेनन्'
कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले पछिल्लो राजनीतिक संघर्ष सडकको मोर्चाबाट सदनको मोर्चामा संघर्ष केन्द्रित भएको बताएका छन् ।

दाहाल-नेपाललाई गृहमन्त्री थापाको आग्रह : अविश्‍वास प्रस्ताव फिर्ता लिएर सच्चिनुस्

पोखरामा आयोजित ओली नेतृत्वको नेकपाको प्रदेशस्तरीय कार्यकर्ता भेलामा थापाले अविश्वास प्रस्तावलाई फिर्ता गरेर पार्टी एकताको बाटोमा ल्याउन पनि उनले दाहाल–नेपाल पक्षलाई आग्रह गरेका छन् । ‘यो उहाँहरुलाई सच्चिने अन्तिम अवसर हो । तपाईंहरु भदौ २६ गतेको स्थायी कमिटीको निर्णयमा फर्कनुहोस् । आत्मालोचनासहित भदौ २६ गतेको निर्णयमा फर्कनुहोस् र पार्टीलाई एकताबद्ध गर्नुहोस्,’ उनले भने ।

त्यस्तै ओलीसमूहका सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले पुराना शक्तिहरुले नेपालमा समाजवाद स्थापना भएको देख्न नचाहेको बताएका छन् । उनलेले देशभित्र र बाहिरका पुराना शक्तिले नेपाल समृद्ध भएको देख्न नचाहेको आरोप लगाएका हुन् ।

थापाले भने, ‘ती पुराना शक्तिहरु भित्रका हुन् वा बाहिरका हुन् नेपालमा समाजवाद स्थापना भएको देख्न चाहन्नन् । त्यो अदालतको आदेशको रुपमा अभिव्यक्त होस् वा हाम्रा केही पूर्वकमरेडहरुको अभिव्यक्तिका रुपमा होस्, त्यो कम्फर्टेबल सरकारका रुपमा विचारहरु आइरहेका छन्, यो सबै समाजवाद र समाजवादविरुद्धबीचको संघर्षका रुपमा अभिव्यक्तिहरु आइरहेका छन् ।’

गृहमन्त्री थापाले नेपालमा समाजवाद स्थापना गरेर विदेश र स्वदेशमा छट्पटाइरहेका नेपालीलाई खुसी दिने पनि बताए । उनले भने, ‘स्वदेशमा करोडौं नागरिक छटपटाइरहेका छन् । उनीहरुलाई खुसी दिन चाहन्छौं । विदेशमा रहेको लाखौं नेपालीलाई सुख र समृद्धि दिन चाहन्छौं ।’

प्रकाशित : फाल्गुन १७, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?