आजदेखि जाडोयाम समाप्त, प्री–मनसुन सुरु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजदेखि जाडोयाम समाप्त, प्री–मनसुन सुरु

रासस

काठमाडौँ — सोमबारदेखि यस वर्षको जाडोयाम समाप्त भई प्री–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान बुलेटिन निकालेर मार्च १ देखि यस वर्षको जाडोयाम अन्त्य भई प्री–मनसुन ‘सिजन’ सुरु भएको जनाएको हो ।

अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्री–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघ गर्जन–चट्याङका साथै हावाहुरी र असिना–पानीको सम्भावना रहन्छ । विभागले मेघ गर्जन–चट्याङ, हावाहुरी र असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्री–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्री–मनसुन समय सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो,’ उनले भने । पहाडी भेगमा प्री–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ ।


प्रकाशित : फाल्गुन १७, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्

घर नै ग्यालरी

एउटा घरभित्र जहाँ झसेन्द्रविक्रम आफ्नो कोठामा क्यानभासमा कुची खेलाइरहेका हुन्छन्, त्यही छानोमुनि छोरा, बुहारी र नातिनी पनि त्यसैगरी चित्र कोरिरहेका हुन्छन् ।
सुशीला तामा‌ङ

काठमाडौँ — बाल्यकालमा बाबु झसेन्द्रविक्रम राणाको कलाकारितालाई नजिकैबाट नियालेका सुदर्शनविक्रम आफू पनि त्यसबाट टाढा हुन सकेनन् । चित्रकलासँगै मूर्ति बनाउने रुचिलाई पछ्याए । उनको कलाकारितालाई अझै साथ मिल्यो जीवनसाथी चित्रकार सुनीता राणाबाट । निरन्तर अगाडि बढिरहेको यी दुईको कला सिर्जनाको पाटोमा फेरि अर्को पुस्ता थपियो छोरी प्रधि राणा । 

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबार प्रदर्शनीमा राखिएका चित्र देखाउँदै सुदर्शनविक्रम राणा । तस्बिर : कान्तिपुर

कलामा तीन पुस्तादेखि निरन्तरता दिइरहेको राणा परिवारको संयुक्त कला प्रदर्शनी यतिखेर बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा देख्न सकिन्छ । ‘लिगेसी’ शीर्षकमा पाँच दर्जन हाराहारी कृतिमा चार कलाकारले आ–आफ्नो समयका अनुभूति व्यक्त गरेका छन् । प्रकृति, मानव तथा जीवलाई प्रतीकात्मक रूपमा उतारेर भोगाइ, शैली तथा बिम्ब फरक प्रस्तुत गरेका छन् । अँध्यारोभित्र उज्यालो खोजेका छन् भने नकारात्मक तत्त्वमा सकारात्मक बाटो औंल्याउने जमर्को गरेका छन् ।

कलाकृतिहरूमा प्रकृति, जीव तथा मानव आकृतिका बिम्बहरू छन् । पुस्ता फरक भए पनि आफ्ना अनुभूतिलाई अभिव्यक्त गर्ने माध्यम एउटै भएकोमा दोस्रो पुस्ताका रूपमा प्रतिनिधित्व गरेका सुदर्शन निकै प्रसन्न छन् । बसुन्धरास्थित घरमा उनीसँगै बाबु झसेन्द्र, श्रीमती सुनीता र छोरी प्रधिका लागि कला सिर्जना गर्ने र सजाउने आआफ्नै कोठा छन् । आफ्नो घर नै एउटा ग्यालरीका रूपमा सजिएकामा अझ उनी दंग छन् । कला सिर्जनालाई एकै घरमा तीन पुस्ताका कलाकारहरूले एकसाथ अगाडि बढाउन पाउँदा गर्व महसुस हुने सुनीता बताउँछिन् । ‘उहाँ (सुदर्शनविक्रम) र मैले कलालाई सक्रिय रूपमा अगाडि बढाइरहेका छौं । यसमा फेरि छोरी थपिइन्,’ उनले भनिन्, ‘बुबा (झसेन्द्रविक्रम) ले जागिर सँगसँगै चित्रहरू कोरिरहनुभएको थियो तर प्रदर्शनीमा ल्याउनुभएको थिएन । कलामा पुनः उहाँको सक्रियताका लागि हामी एकसाथ आएका छौं ।’

बाल्यकालदेखि कलाकारितामा लागेको भए पनि ८५ वर्षीय झसेन्द्रविक्रमको सिर्जना यात्रा जागिरे जीवनसँगै केही धिमा बन्यो । तर कलाप्रतिको भोक मेटिएको थिएन । जागिरबाट अवकाशयता उनी सिर्जनामै तल्लीन छन् । प्रदर्शनीमा उनले बुद्ध जीवनी तथा भैरवलाई क्यानभासमा देखाएका छन् । बुद्धलाई शान्ति तथा भैरवलाई आक्रोशको प्रतीकका रूपमा चिनिए पनि उनले यी दुई विपरीतलाई एक बनाएर सकारात्मक आशालाई संकेत गरेका छन् ।

सुदर्शनले मूर्तिकला तथा चित्रकलामा मानव तथा जीवको यथार्थ बाँच्ने अस्तित्वलाई उठान गरेका छन् । आफ्ना कलाभि समाजका विविध शास्त्र तथा दर्शनमा आधारित नियमभन्दा हरेक प्राणीले आफ्नो यथार्थमा बाँच्न सिक्नुपर्छ भन्ने मान्यता राख्ने उनले बताए । प्रदर्शनीमा रहेका चित्रमा हरियो तथा नीलो रङमा रुमलिएको जीव, महिला आकृतिमा पुतलीको जीवनचक्र र मुहारलाई बाहिर ल्याउन चेष्टा गरिरहेको मानव आकृति छन् ।

सुनीताले महिला र प्रकृतिलाई बिम्ब बनाएर समकालीन समाज देखाउन खोजेकी छन् । भन्छिन्, ‘हामी बराबरीको कुरा त गर्छौं तर व्यवहारमा अझै हुनै बाँकी छ । परम्परागत मान्यताले महिलालाई छाडेको छैन ।’ छोरी प्रधिको कलामा पनि महिलालाई नै प्राथमिकतामा राखिएको छ । प्रदर्शनीबाट संकलन हुने रकम सामाजिक सेवा कोषमा दिने योजना छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×