स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने दाहाल–नेपाल पक्षको सचिवालय बैठकको निर्णय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने दाहाल–नेपाल पक्षको सचिवालय बैठकको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको दाहाल–नेपाल पक्षको सचिवालय बैठकले फागुन १९ गतेका लागि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यसै गरी बैठकले पार्टीको आधिकारिकताका लागि आफूहरूले गरेको दाबीका आधारमा संविधान र दल ऐनअनुरूप छिट्टै निर्णय गर्न अनुरोध गरेको पनि उनले बताए । ‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ । साथसाथै निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐनअनुरूप छिट्टै निर्णय गर्नका निम्ति पनि अनुरोध गरेका छौँ,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै सो कुरा मान्य नहुने पनि प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले केन्द्रीय सदस्यहरूलाई नागरिकता र पार्टीको परिचय खुल्ने कागजातसहित उपस्थित हुन सर्कुलरसमेत जारी गरेको केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले बताए ।

प्रकाशित : फाल्गुन १७, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले बूढीगंगा थुनिने खतरा

बाजुरा र अछामका दर्जनौं बस्ती र संरचना जोखिममा 
पूर्वसूचना प्रणाली स्थापना गर्न र दीर्घकालीन पहिरो नियन्त्रणका उपाय अपनाउन विज्ञको सुझाव
अर्जुन शाह, वसन्तप्रताप सिंह

बाजुरा — बाजुराको पैमामा पहिरो झर्न थालेको नौ वर्ष भयो । पहिरोमा बूढीगंगा नदीको वारि अम्कोट र पारि पैमा गाउँतर्फ झन्डै १४ हेक्टर जमिन परिसकेको छ । स्थानीयका अनुसार यी दुई गाउँमा मात्रै तीन सयभन्दा बढी परिवारको बसोबास छ । पहिरोले बडिमालिका नगरपालिकाको अम्कोट र त्रिवेणी नगरपालिकाको पैमा गाउँसम्मै चिरा पारिसकेको छ । 

बाजुराको बूढीगंगा नगरपालिकाको द्वारीबाट देखिएको पैमाको पहिरो। बूढीगंगा नदी थुनिने गरी खसिरहेको यो पहिरोले तटीय क्षेत्रका बस्तीहरू जोखिममा छन्। तस्बिर : वसन्तप्रताप/कान्तिपुर

यहाँ सुक्खायाममा समेत पहिरो खस्ने गरेको छ । जब भयानक आवाजसहित पहिरो खस्छ, पैमा र अम्कोटका स्थानीयको दिनरात त्रासदीमा बित्छ । पैमा घर भएका बडिमालिकाका पुजारी नेत्रराज पाध्या बाजुरा र अछामको मध्यभाग भएर बग्ने बूढीगंगा पहिरोले थुनिए ठूलो विनाश हुने बताउँछन् । ‘पोहोर त तीन महिनासम्म ताल परेको हो । ताल फुटेर सडक र पुलहरू बगाएको थियो । यो वर्ष त पहिरो आँखाले हेर्न नभ्याइने गरी फैलिइसक्यो,’ उनले भने । पोहोर साल बूढीगंगाले वितण्डा मच्चाएर बाजुरातर्फ जनधनको क्षति भएको थियो । उनले भनेजस्तै पहिरोले बूढीगंगा थुनिए पैमा र अम्कोटका घर मात्र बगाउने छैन, तल्लो तटीय क्षेत्र बाजुराकै जडांगा, ताप्रिसेरा, सेरा बगर, बार्जुगाडका बस्तीहरू नामेट हुने जोखिम छ ।

अछामका बुढाबगर र ठाँटी बजार, बूढीगंगा जलविद्युत् परियोजनाका पूर्वाधारहरूमा पनि क्षति पुग्ने देखिन्छ । बूढीगंगामा बाढी आए अछामको साँफेबगर र वैद्यनाथ क्षेत्र सबैभन्दा बढी प्रभावित हुनेछन् । ‘साँफेबगरको बस्ती, विमानस्थल, वैद्यनाथको कालीमाटी त सोत्तरै हुन्छ होला,’ साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले भने, ‘पहिरोका कारण कुन बेला बाढी आउने हो र विनाश हुने हो भन्ने डरले हामी सबैलाई हैरानी छ ।’

बाढीको उच्च जोखिममा चौरपाटी गाउँपालिका र मंगलसेन नगरपालिकाको चित्रे बजार पनि छ । बूढीगंगा डोटी र अछामको सिमानामा पर्ने लोडे भन्ने ठाउँमा पुगेर सेतीमा मिसिन्छ । त्यहाँबाट कर्णाली नदीमा मिसिने क्रममा अछाम, कैलाली र सुर्खेतका बस्तीहरू किनारमा पर्छन् । बूढीगंगामा बाढी आए कर्णाली नदीको तटीय क्षेत्रमा पनि क्षति हुन सक्ने प्राकृतिक प्रकोप विज्ञहरूको अनुमान छ ।

‘दुवैतिर ठूलो पहिरो सुरु भएको र मध्य पहाडी क्षेत्रको भौगर्भिक संरचना पनि कमजोर हुने भएकाले एकापट्टि पहिरो खस्दा उत्पन्न हुने कम्पनले अर्कोपट्टिबाट पनि सँगै पहिरो खस्ने खतरा बढी हुन्छ । दुवैतिरबाट एकैसाथ पहिरो खस्दा नदी थुनिन सक्छ,’ प्राकृतिक प्रकोप विज्ञ डा. दीपक रिजालले भने, ‘पहिरोले थुनिएको नदीमा पानीको मात्रा बढ्दै जाँदा भार थेग्न नसकेर बनेको ताल एकै पटक फुटेर ठूलो बाढी आउने जोखिम हुन्छ । यसले तल्लो तटीय क्षेत्रमा विनाश गर्ने खतरा हुन्छ ।’

उनले हालै हिमाञ्चलको धौलिगंगा र केही वर्ष पहिला पोखराको सेतीमा जस्तै बाढीको खतरा बूढीगंगा, लोडे र कर्णालीको तटीय क्षेत्रमा रहेकाले यसको समयमै अध्ययन गर्नुपर्ने बताए । ‘भूगर्भ र प्रकोप विद्हरूले अध्ययन गरेपछि कुन स्तरको जोखिम छ भनेर पत्ता लाग्छ । त्यही आधारमा तत्काललाई पूर्वसूचना प्रणालीको स्थापना गर्ने र दीर्घकालीन रूपमा पहिरो नियन्त्रणका उपायहरू अपनाउनुपर्छ,’ उनले भने । साँफेबगरस्थित सशस्त्र प्रहरीका डीएसपी जगदीश जोशीले दुर्घटना भइहाले अकल्पनीय मानवीय र भौतिक क्षति हुन सक्ने बताए । पहिरो नियन्त्रण र पूर्वसतर्कताका उपाय अपनाए सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

गत वर्ष साउनमा पहिरो र बूढीगंगामा आएको बाढीले साँफे–मार्तडी सडक खण्डअन्तर्गत बाजुरातर्फ ताप्रिसेरादेखि अम्कोट क्षेत्रमा झन्डै पाँच किलोमिटर कालोपत्रे सडक बगाएको थियो । यस्तै बूढीगंगामा रहेको बेलिब्रिज, ताप्रिसेराको झोलुंगे पुल पनि बाढीमा बगेको थियो । साउन तेस्रो साता आएको बूढीगंगाको बाढी र पहिरोले ४० भन्दा बढी परिवारको घर बगायो । थुप्रै परिवारले खेती गर्ने जमिन गुमाए । थुप्रै बस्तीहरू पहिरोको जोखिममा परे ।

बाढीपहिरोले ठूलो क्षति भएपछि गृहमन्त्री रामबहादुर थापा, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतको टोलीले हेलिकप्टरबाट यस क्षेत्रको निरीक्षणसमेत गरेको थियो । गृहमन्त्रीको आगमनपछि पहिरो र बाढी नियन्त्रणका लागि जोखिम टार्न केही प्रयास होला भनेर उत्साहित स्थानीय हालसम्म कसैले चासो नदिँदा निराश भएका छन् । साँफेबगरका अगुवा प्रकाश शाहले भने, ‘घटना भएपछि मात्रै तात्ने प्रवृत्ति भयो । समयमै पूर्वसतर्कता भएन भने ठूलो धनजनको क्षति हुनेवाला छ । विपत् आइसकेपछि मात्रै मुख देखाउने सरकारले प्रकोपबाट जनतालाई बचाउन पूर्वतयारी पनि गर्नु जरुरी छ ।’

पहिरोको उच्च जोखिममा रहेको बूढीगंगा नगरपालिका–२ बजेडी गाउँवासीले बस्ती सार्नुपर्ने माग गर्न थालेको धेरै भइसक्यो । १ सय २६ परिवारको बसोबास रहेको यस गाउँका बासिन्दा वर्षात्मा पहिरोको डरले घर छाडेर नजिकको जंगल र बजेडी आधारभूत विद्यालयमा पाल टाँगेर बस्ने गरेका छन् । ‘गएको वर्षामा पनि एक महिनासम्म पहिरोको डरले घरमा बस्न सकेनौं,’ स्थानीय जंग नेपाली भन्छन्, ‘बस्ती सार्नुपर्ने माग गर्दै आएको २५ वर्ष भइसक्यो, तर सुनिदिने कोही छैन ।’ २०३४ सालमा सुरु भएको गुइगाडको पहिरोले यहाँको पूरै बस्ती जोखिममा परेको हो । २५ वर्षदेखि पहिरोले गाउँ नै छुन थालेपछि स्थानीयले बस्ती सार्न माग गर्दै सरकारका विभिन्न निकायमा हारगुहार गरिरहेका छन् ।

‘मान्छे नमर्दासम्म कसैले वास्ता गर्दैनन् । हामी मरेपछि हल्लाखल्ला गरेको के काम ?’ बजेडीका अर्का स्थानीय रंगलाल जैशीले भने, ‘वडा तहदेखि प्रधानमन्त्रीसम्मलाई बस्ती सार्नुपर्ने माग गरिसकेका छौं । हाम्रो पीडा कसले सुनेको छैन । अन्त जाने ठाउँ छैन ।’ खप्तड छेडेदह गाउँपालिकामा पर्ने गुम्लागाउँ पनि गुइगाडकै पहिरोको चपेटामा छ । ‘हाम्रो गाउँका ४७ परिवार बर्खामा सधैं अनिँदो बस्छौं,’ स्थानीय वीरबहादुर रावत भन्छन्, ‘गाउँ छाडेर अन्त जाउँ भने कहाँ जाउँ ? बस्ती जोखिममा छ बचाइदिनुपर्‍यो भन्दा सरकार सुन्दैन ।’ उनले गाउँमा पालैपालो पहिरोको पहरा दिने गरेको बताए ।

गुम्लागाउँको बस्ती सार्नुको विकल्प नभएको वडाध्यक्ष खगेन्द्र रावत बताउँछन् । ‘जुनसुकै बेला पनि पहिरोले गाउँ बगाउन सक्छ । यो विषयमा सबै निकायमा जानकारी पनि गराइसकेका छौं तर कतैबाट सहयोग आएको छैन,’ उनले वडा वा गाउँपालिकाको बजेटले मात्रै बस्ती सार्न सम्भव नभएकाले प्रदेश वा केन्द्र सरकारबाट सहयोग हुनुपर्ने बताए । खप्तड छेडेदह गाउँपालिकामा पर्ने गुइबन गाउँको अवस्था पनि उस्तै छ । ‘जग्गाजमिन सबै पहिरोमा बगिसक्यो,’ स्थानीय बिर्ख रावलले भने, ‘बाह्रै महिना पहिरो बग्छ । कुन दिन हाम्रा घर पनि बग्ने हुन भनेर डरैडरमा बसिरहेका छौं ।’ उक्त गाउँमा झन्डै एक सय परिवारको बसोबास छ । उनीहरूको खेतीयोग्य जमिन पहिरोमा परिसकेको छ । बाजुराका अन्य दर्जनौं बस्तीहरू बाढी र पहिरोको जोखिममा छन् ।

बाढीपहिरोबाट यहाँ हरेक वर्ष दर्जनौं परिवारको बिचल्ली हुने गरेको छ । कैयौंले ज्यान गुमाउने गरेका छन । जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार गत आर्थिक वर्षमा मात्रै ६० घर पूर्ण रूपमा भत्किएका थिए । ६ वर्षअघि विज्ञहरू सम्मिलित टोलीले गरेको अध्ययनले बाजुरामा साविकका ६ वटा गाविसका बस्तीहरूलाई सार्नैपर्ने सुझाव दिएको थियो । २०७१ सालमा राष्ट्रिय योजना आयोगले नापी विभाग, इसिमोडलगायत विभिन्न निकायका प्राविधिकहरूको टोलीले बाजुराको भौगर्भिक अवस्थाको प्रारम्भिक अध्ययन गरेको थियो ।अध्ययन टोलीको प्रतिवेदनमा साविकका बिच्छयाँ, रुगीन, गोत्री, साप्पाटा, दहकोट र मानाकोट गरी ६ गाविसका बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको औंल्याउँदै सार्नैपर्ने ठहर गरिएको थियो ।

प्रतिवेदनमा बाजुराको ५१ प्रतिशत भूभाग बस्ती बस्न उपयुक्त नभएको र त्यस बेलाका २४ हजार ८ सय ८८ घरमध्ये ५ हजार २९ घर मात्रै प्रकोपबाट सुरक्षित रहेको उल्लेख छ । यहाँको ९० वर्ग किलोमिटर क्षेत्रफल पहिरोबाट प्रभावित भइसकेको अध्ययनले देखाएको थियो । त्यसबेला जिल्लाको कुल जनसंख्या १ लाख ३४ हजार ९ सय १२ रहेकोमा अध्ययन प्रतिवेदनअनुसार बस्ती बस्न अनुपयुक्त भनिएका ६ गाविसको जनसंख्या २४ हजार ९ सय ७९ थियो । जिल्लाको कुल क्षेत्रफल २२ लाख ९ हजार सात सय हेक्टरमध्ये साविकका ती गाविसले ९३ हजार ८ सय ७१ हेक्टर ओगटेको थियो । प्राकृतिक प्रकोपको जोखिममा परेका बस्तीहरूलाई स्थानान्तरण गर्ने योजना पनि आयोगले अघि सारेको थियो ।

साँफे–मार्तडी सडक खण्डको बार्जुगाडदेखि मार्तडीसम्म दर्जनौं ठाउँमा पहिरो खसेको छ । अम्कोट र द्वारी क्षेत्रमा माथिबाट निरन्तर खस्ने पहिरो र तलबाट बूढीगंगाको कटानले पैदल आवागमन पनि जोखिमपूर्ण बन्दै गएको छ । निर्माण सकिएको दुई वर्ष नपुग्दै बाजुरा सडक क्षतविक्षत भएको हो । तीन वर्षअघि झन्डै ७० करोडको लागतमा निर्माण भएको सडक कतिपय ठाउँमा नामोनिसान नै मेटिएको छ । गएको वर्षामा ६ महिना सडक अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा समस्या भएको थियो । हालसम्म पनि सडक पूर्ववत् सुरु भइसकेको छैन ।

प्रकाशित : फाल्गुन १७, २०७७ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×