सीमा अझै बन्द, सास्ती झनै बढ्दो

उपचार, बजार र मजदुरीका लागि सीमापारिको भारतीय बजारमै निर्भरलाई मर्का
मनोज बडू, नारायण शर्मा

दार्चुला, नवलपरासी — कोरोना महामारीका कारण बन्द भएका मुलुकका थुप्रै नाका खुलिसके, तर दार्चुलाका नाका भने अहिले पनि बन्द नै छन् । नाका बन्द हुँदा सर्वसाधारणले निकै सास्ती बेहोर्नु परिरहेको छ । दार्चुलामा नेपाल–भारत जोडिएका आधा दर्जन नाका छन् ।

सीमा अझै बन्द, सास्ती झनै बढ्दो

त्यसमध्ये सदरमुकाम खलंगास्थित पुलघाट सीमा मात्र खोलिएको हो । व्यास गाउँपालिकाको तिग्रम पुल, सीतापुल, लेकमको लाली, मालिकार्जुनको जौलजीवी र महाकाली नगरपालिकाको दत्तु पुल अझै बन्द छन् ।

यहाँका बासिन्दा उपचार, बजार र मजदुरीका लागि सीमापारिको भारतीय बजारमै निर्भर छन् । नजिकको नाका नखुल्दा सदरमुकाम पुगेर भारत जान अप्ठ्यारो भएको लेकम गाउँपालिका–३ लालीका रामसिंह थापाले बताए । उनको गाउँमै झोलुंगे पुलबाट महाकाली वारपार गरिँदै आएको थियो । ‘स्थानीयको कारोबारदेखि घरायसी सम्बन्ध पारि नै बढी छ,’ उनले भने, ‘गाउँको पुल नखोल्दा सदरमुकाम पुगेर वारिपारि गर्न खर्च र समय बर्बाद भइरहेको छ ।’ गाउँमा कोरोनाको समस्या नभए पनि नाका बन्द गरेर दुःख मात्रै भइरहेको उनको भनाइ छ ।

गत सोमबार मालिकार्जुन गाउँपालिका–७ स्थित जौलजीवी सीमा पुल खोल्न स्थानीयले प्रदर्शन गरेका थिए । भारतले आफ्नो क्षेत्रबाट सीमानाका खुला गरेको भए पनि नेपाली पक्षले नखोल्दा समस्यामा परेको उनीहरूको भनाइ छ । सरकारले गत माघ ११ गते भारतको पिथौरागढ जिल्लाको धार्चुलासित सीमा जोडिएको पुलघाट नाका खोल्ने निर्णय गरेको थियो । त्यहाँबाट तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न मात्र भारत जान पाइन्छ । अरू नाका खोल्न गृह मन्त्रालयलाई अनुरोध पत्र पठाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

उनका अनुसार व्यापारिकदेखि घरायसी सम्बन्ध भारतीय सीमा क्षेत्रमा जोडिएको कारण खुलाएर अहिलेसम्म तीन पटक गृह मन्त्रालयमा पत्राचार गरिएको छ । स्थानीय तहबाट सिफारिस आएमा भारतीय प्रशासनसित समन्वय गरेर अत्यावश्यक अवस्थामा १०/१५ मिनेटका लागि अन्य नाका खोल्ने गरेको पोखरेलले बताए ।

त्रिवेणी भन्सार स्तरोन्नतिपछि मात्रै खुल्नेत्रिवेणी छोटी भन्सार ११ महिनादेखि खुलेको छैन । कोरोना महामारीका कारण बन्द नाका नखुल्दा सर्वसाधारण मर्कामा छन् । छोटी भन्सारलाई संघीय सरकारले मुख्य भन्सारका रूपमा स्तरोन्नति पनि गर्न थालेको छ । विनयी–त्रिवेणी गाउँपालिका–७ मा पर्ने यो नाका सिल भएपछि त्रिवेणीबाट भारतको वाल्मीकि नगर जानआउन २० किलोमिटर पश्चिम महेशपुर भन्सार पुग्नुपर्ने बाध्यता छ ।

११ महिनादेखि बन्द त्रिवेणी नाका तस्बिर : नारायण शर्मा/कान्तिपुर

त्रिवेणीस्थित गण्डक ब्यारेज र पारिपट्टि वाल्मीकि नगर भन्सारमा पनि भारतले सिल गरेको छ । सरकारले एक महिनाअघि भारतसँग सीमा जोडिएका थप १६ नाका खोल्ने निर्णय गरे पनि यो नाका खुल्न सकेको छैन । ‘भारततर्फ उपचारका लागि जाने बिरामी कागजपत्रका आधारमा जाउआउ गरेकै छन्, अरूका लागि खुला भइसकेको छैन,’ त्रिवेणी भन्सार प्रमुख विकास उपाध्यायले भने, ‘यो छोटी भन्सारबाट मूल भन्सारमा लैजाने प्रक्रियाका कारण ढिलाइ भएको हो ।’ भारतको वाल्मीकि नगर भन्सारले पनि आफ्नोतर्फ मूल भन्सार बनाउने काम अघि बढाएको छ । भारतले चैत २ गतेबाट आफ्नोतर्फको भन्सार खोल्ने तयारी गरेको उपाध्यायले जनाए ।

गत भदौमा सरकारले त्रिवेणी छोटी भन्सार कार्यालयलाई मूल भन्सारमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । तर, काम सुस्त गतिमा भइरहेको छ । भन्सारका लागि ११ जना कर्मचारीको दरबन्दी तोकिए पनि ७ जना मात्रै कार्यरत छन् । कार्यालयले घर भाडामा लिएर काम थालेको छ । कार्यालय, कर्मचारी आवास, गोदाम, यात्रु शाखा, तौल काटा राख्ने स्थान, सुरक्षा निकायको कार्यालय, बैंकलगायत संरचना निर्माण सुस्त छ । यी संरचना नबनेसम्म मूल भन्सारका रूपमा प्रयोग गर्न समस्या छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्योति अर्यालले भन्सार स्तरोन्नतिका लागि पालिकाले सबै सहयोग गरिरहेको जानकारी दिए । उनले भन्सारका लागि आवश्यक डेढ सय बिघा जग्गा अधिग्रहणका लागि भन्सारले नै प्रक्रिया अघि बढाउन ढिलाइ गरेको बताए ।

त्रिवेणीबाट महेन्द्र राजमार्गमा निस्कने बाटो निर्माण नभएकाले लुम्बिनी प्रदेशमा पर्ने बर्दघाट जानुपर्छ । त्रिवेणीबाट दुम्कीबास जोड्ने सडक निर्माण अघि बढाउने भनिए पनि जंगललाई देखाउँदै चितवन राष्ट्रिय निकुन्जले अवरोध गरेको छ । विनयी–त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बर जीसी त्रिवेणीबाट महेन्द्र राजमार्गको दुम्कीबास जोड्ने छोटो बाटो निर्माणका लागि मुख्यमन्त्री र संघीय सरकारका मन्त्रीले धेरै पटक आश्वासन दिए पनि काम अघि बढ्न नसकेको बताउँछन् ।

त्रिवेणी–दुम्कीबास २२ किमि कच्ची सडकको ट्र्याक खोल्ने काम सकिएको पनि १२ वर्ष भइसक्यो । त्यसपछि निकुन्जले वातावरणीय असर गर्ने भन्दै सडक निर्माणको काम अघि बढ्न दिएको छैन । अहिले २८ किमि घुमेर बर्दघाट निस्कनुपर्छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?