१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्वयंसेवाका पर्याय थिए शंकर डाक्टर

पर्वत पोर्तेल

काँकडभिट्टा — करिब पाँच दशक जति गाउँमै बिरामीको सेवामा बिताउनु चानचुने थिएन । डा. शंकर उप्रेतीले भने आफ्नो आधाभन्दा बढी जीवन गाउँलेको उपचारमा खर्चिए । उनले प्रण गरेका थिए, ‘५० वर्ष उपचार सेवा गर्छु र रिटायर्ड हुन्छु ।’

स्वयंसेवाका पर्याय थिए शंकर डाक्टर

गाउँमा बसेर ५० वर्ष लामो सेवा गरेपछि उप्रेतीले २०७६ मा स्वैच्छिक अवकाश लिए । सेवाबाट रिटायर्ड हुने समयमा उनी काठमाडौं जाने कि गाउँमै सेवामा लाग्ने भनेर अक्मकिए । ‘कतै गाउँलेले सरल र सुलभ उपचार नपाउने पो हुन् कि !’ भन्ने चिन्ताले उनलाई सतायो । ‘तर, विशाल शिवाकोटीलगायत स्थानीय व्यवसायीले जनतालाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्र्रतिबद्धता गरेपछि उहाँ काठमाडौं जान मन्जुर हुनुभएको थियो,’ स्थानीय बासिन्दासमेत रहेका आख्यानकार कुमार भट्टराईले भने, ‘जनताको स्वास्थ्यप्रति उहाँ सदैव चिन्तित हुनुहुन्थ्यो ।’

देहाती जनताको उपचारमा जीवनभर निःस्वार्थ सेवा गर्ने गुनिला ‘शंकर डाक्टर’ ले शनिबार मध्यराति काठमाडौंमा अन्तिम सास फेरे । मधुमेहका बिरामी उनको बोली मस्तिष्कघातका कारण डेढ वर्षयता प्रस्ट थिएन । उनी ८७ वर्षका थिए । डा. उप्रेती छोरा सञ्जीवसँग काठमाडौंमा थिए ।

भारतबाट एमबीबीएस गरेपछि करिब एक दशक सरकारी सेवामा बिताएका उप्रेतीले बाँकी ४० वर्ष झापाको शनिश्चरेस्थित गाउँ फर्किएर जनताको सेवामा बिताएका थिए ।

कोलम्बो प्लानअन्तर्गत पढ्ने अवसर पाएका बेला उनले प्रतिज्ञा गरेका थिए, ‘एमबीबीएससम्म मात्रै पढ्छु र पढाइ सकेर गाउँ फर्किन्छु अनि गाउँलेको सेवामा जीवन बिताउँछु ।’ १९९१ मा आठराई चुहानडाँडामा जन्मिएका उनले २०१७ सालमा एमबीबीएसको पढाइ पूरा गरेका थिए । त्यसपछि भोजपुर र धनगढीमा सरकारी सेवा गरेका उनी २०२६ सालपछि शनिश्चरे फर्किएका थिए । सुरुमा सानो क्लिनिक सञ्चालन गरेर निःशुल्क स्वास्थ्य सेवा गरे । त्यो सानो क्लिनिक अहिले ‘शंकर अस्पताल’ ले चिनिन्छ ।

आइतबार शनिश्चरेस्थित अस्पतालमा श्रद्धाञ्जली सभा आयोजना भयो । अर्जुनधारा नगरप्रमुख हरि राना र पूर्वगाविस अध्यक्ष कृष्ण मिश्रलगायतले उप्रेतीको योगदानको प्रशंसा गरे । रानाले भने, ‘जुन बेला यो भेगमा अस्पताल थिएन, त्यो बेला शंकर डाक्टर जनताका भगवान् बनेर आइपुग्नुभयो ।’ उप्रेतीले झापाका मात्रै हैन, सिंगो मेची अञ्चलकै बिरामीको उपचार गरेका थिए । उप्रेती बचेको समय राजनीतिमा पनि खर्चिन्थे ।

साहित्यकार कृष्ण बरालका अनुसार उनले २०३७ सालको जनमतसंग्रहमा झापामा बहुदलीय व्यवस्थाका पक्षमा भएको आन्दोलनको नेतृत्व सम्हालेका थिए । ०४६ पछि कांग्रेसले उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेको थियो ।

प्रकाशित : फाल्गुन १७, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?