नेकपा नेता सवार गाडीले ठक्कर दिँदा साइकल यात्रु घाइते, चालक नियन्त्रणमा

शिव पुरी

रौतहट — नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराई चढेको गाडीले रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति साइकल यात्रुलाई ठक्कर दिएको छ । ठक्करबाट घाइते साइकल यात्रुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । घटनापछि प्रहरीले धनुषा बटेश्वर–७ घर भएका स्करपियो चालक धर्मदास महत्तोलाई नियन्त्रणमा लिएको छ ।

नेकपा नेता सवार गाडीले ठक्कर दिँदा साइकल यात्रु घाइते, चालक नियन्त्रणमा

जनकपुरबाट पार्टीको कार्यक्रम सकेर हेटौंडा जाँदै गरेका नेता भट्टराई सवार ज १ झ ४२७ नम्बरको स्करपियोले साइकल यात्री चन्द्रपुर ६ का ५५ वर्षीय ईन्द्रप्रसाद घिमिरेलाई साढे ७ बजेतिर ठक्कर दिएको हो । दक्षिणबाट साइकल चढेर उत्तर लागेका घिमिरे स्करपियोको ठक्करबाट घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । घाइते घिमिरेलाई नजिकको सिभिल अस्पताल लगिएको थियो । अस्पतालले थप उपचारका लागि काठमाडौं रिफर गरेको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो ।

घिमिरको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनापछि नेता भट्टराई केहीबेर इलाका प्रहरी चन्द्रनिगाहपुरमा बसेका थिए । त्यसपछि उनी अर्को सवारीमार्फत हेटौंडा गएका छन् । घटनापछि प्रहरीले धनुषा बटेश्वर–७ घर भएका स्करपियो चालक धर्मदास महत्तोलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा साइकल र स्करपियो दुबै सामान्य क्षति भएको प्रहरीले जनायो ।

प्रकाशित : फाल्गुन १६, २०७७ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?