कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘सगरमाथा संवाद’ कोप–२६ अघि गर्ने तयारी

काठमाडौँ — कोभिड–१९ का कारण स्थगित ‘सगरमाथा संवाद’ कार्यक्रम जलवायु परिवर्तनलाई लिएर बेलायतमा हुने कोप–२६ अघि नै गर्न सरकारले तयारी थालेको छ । नेपालसहित विश्वका विभिन्न मुद्दालाई अन्तर्राष्ट्रिय तहमै वैचारिक छलफल गर्न परराष्ट्र मन्त्रालयले सगरमाथा संवादको थालनी गर्न लागेको हो ।

‘सगरमाथा संवाद’ कोप–२६ अघि गर्ने तयारी

परराष्ट्र मन्त्रालयले गत वर्ष चैत २० देखि २२ सम्म काठमाडौंमा सगरमाथा संवाद कार्यक्रम गर्ने तयारी गरेको थियो । त्यसका लागि अन्तर्राष्ट्रिय तहमा निम्तोसमेत पठाइसकिएको थियो । तर कोभिड–१९ का कारण उक्त संवाद कार्यक्रम परराष्ट्र मन्त्रालयले स्थगन गरेको थियो । कोरोनाविरुद्धको खोप विकास भएर नागरिकले लगाउन थालेसँगै परराष्ट्र मन्त्रालयले संवादको कार्यक्रमलाई फेरि अगाडि बढाएको हो । संवाद कार्यक्रमको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले सगरमाथा संवादका लागि आन्तरिक गृहकार्य तीव्र रूपमा अघि बढाएको छ । मन्त्रालयमा उक्त संवाद भर्चुअल रूपमै गर्ने कि फिजिकल्ली (उपस्थित नै भएर) गर्ने भन्नेबारेमा छलफल भइरहेको छ । कोभिड–१९ पूर्ण रूपमा नियन्त्रण भइनसकेकाले मन्त्रालयले निर्णय लिइहाल्न नसकेको हो । मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक कृष्णप्रसाद ओलीको नेतृत्वमा विज्ञ समूह बनाएको छ । उक्त समूहले संवादलाई कसरी गर्न सकिन्छ भन्ने सल्लाह र सुझाव दिने बताइएको छ ।

यसै वर्षको नोभेम्बर १ देखि १२ सम्म बेलायतमा कोप–२६ हुँदै छ । ‘पहिले सगरमाथा संवादमा जलवायु परिवर्तनको विषयमा छलफल गरेर कोप–२६ मा सहभागिता जनाउँदा यहाँका विषयलाई पनि थप छलफलका लागि प्रस्तुत गर्ने योजना सरकारले बनाएको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘त्यसैले कोप–२६ अघि नै सगरमाथा संवाद गर्न लागिएको हो ।’

नेपालले समेत सामना गर्नु परिरहेका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायतका क्षेत्रका विश्वव्यापी मामिला एवं समस्याबारे सरोकार राख्ने मुलुक, अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज, अनुसन्धाता तथा विज्ञ, प्राज्ञिक संस्थालगायतका सरोकारवालाबीच नियमित रूपमा छलफल गर्न सगरमाथा संवादको अवधारणा ल्याइएको हो । संवादले उच्च नेतृत्व, मुलुक तथा समग्र विश्व समुदायबीच जलवायु परिवर्तनको संकटबारे समान धारणा बनाउन तथा यस संकटसँग जुध्न र राजनीतिक तहलाई इच्छा शक्ति परिचालनमा उत्प्रेरित गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका थिए । संवाद कार्यक्रमको आयोजक परराष्ट्र मन्त्रालय र सहआयोजक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठान छन् ।

प्रकाशित : फाल्गुन १६, २०७७ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?