कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ओलीले ह्वीप जारी गरी सांसद निकाल्ने कुरा झुठ र भ्रमपूर्ण : रावल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउन नसक्ने दाबी गरेका छन् । 

ओलीले ह्वीप जारी गरी सांसद निकाल्ने कुरा झुठ र भ्रमपूर्ण : रावल

काठमाडौंमा आइतबार आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताएका हुन् । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले लगाएको ह्वीप मान्न नपर्ने पनि रावलले बताए । त्यसरी निकाल्नका लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको बताए ।

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि उनले बताए । ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु भन्नु भएको छ । अब हामी उहाँलाई नै हटाउँछौं,' उनले भने, 'बहुमत केन्द्रीय कमिटीको बैठक गरेर हामी उहाँलाई कारबाही गर्छौं यो बुझिराख्नुस् । दलको सदस्यता समाप्त गर्नुपर्ने अवस्थामा सो को लागि पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने । मैले ह्वीप जारी गरेर त्यहाँ सदस्यबाट निकाल्छु भन्नेकुरा कति झुठ, भ्रमपूर्ण, धम्की दिएपछि केही सदस्यहरु उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने कति जनतालाई ढाँट्ने कुरा रहेछ ।'

दलका नेता कुनै सदस्यलाई निकाल्नका लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने भन्दै नेता रावलले दुईतिहाई सदस्य आफूहरुसँग भएकोले ह्वीप जारी गरेर कसैलाई निकाल्न नसक्ने बताए । उनले प्रश्‍न गर्दै भने, 'नक्कली प्रमुख सचेतकले म ह्वीप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?’

पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्तअनुसार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष स्वत: आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावलले गरे । निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि उनले बताए ।

नेकपाको विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानुन र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री केपी ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने पनि उनको भनाइ थियो ।

प्रकाशित : फाल्गुन १६, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?