१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गैरकानुनी काम भयो, बदर नभए सत्याग्रह : डा. केसी

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राध्यापक डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा र बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मिलेमतोमा सम्बन्धन दिने प्रक्रिया अघि बढाउने निर्णय गर्नु गैरकानुनी भएको बताए ।

गैरकानुनी काम भयो, बदर नभए सत्याग्रह : डा. केसी

कान्तिपुरसित कुरा गर्दै उनले निर्णय बदर नभए सत्याग्रह थाल्ने चेतावनी दिए । ‘चिकित्सा शिक्षा, स्वास्थ्य सुधार र सुशासनका लागि लड्दै आएको छु, फेरि पनि लड्छु,’ केसीले भने । चिकित्सा शिक्षा र स्वास्थ्यको गुणस्तरका लागि उनी १९ पटक अनशन बसिसकेका छन् । प्रधानमन्त्री ओलीको पालामा ६ पटक अनशन बसेको स्मरण गर्दै उनले थपे, ‘सम्झौताअनुसार सरकारी मेडिकल कलेज स्थापना गर्न सरकारले नै अवरोध गर्दै आएको छ ।’

चिकित्सा शिक्षा ऐनको प्रावधानविपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउने निर्णय गर्नु बदनियतपूर्ण काम भएको उनले बताए । ‘बैठकको एजेन्डा नै नभएको विषयमा सामान्य छलफल पनि नगरी निर्णयमा लेखेर ल्याउनुमा प्रधानमन्त्री र शिक्षामन्त्रीको दबाबमात्र होइन, आर्थिक लोभलालच पनि जोडिएको छ,’ उनले भने ।

गैरकानुनी निर्णय गराउने उपकुलपति थापाले पदबाट राजीनामा दिनुपर्ने केसीले माग गरे । ‘डिनले सम्बन्धन दिन मिल्दैन भन्दाभन्दै उपकुलपतिले डिनको पक्ष लिनुपर्ने ठाउँमा शिक्षामन्त्रीको आदेशपालक बनेका छन्,’ उनले भने, ‘उपकुलपतिले यस विषयलाई बैठकमा प्रवेश गर्नै दिन हुन्थेन, यो प्राथमिकताको विषय पनि होइन ।’ नियुक्ति भएको एक महिना पूरा हुनेबित्तिकै उपकुलपति थापा निजी मेडिकल कलेजलाई पोस्ने चलखेलमा लागेको उनले आरोप लगाए ।

चिकित्सा शिक्षा ऐन र नियमावलीविपरीत सम्बन्धन प्रक्रिया अघि बढाएकामा उनको असन्तुष्टि छ । ‘सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगबाट सहमति लिएर आउनुपर्छ । नवीकरण हुनुपर्छ, पूर्वाधार अनुगमन गरिनुपर्छ, कुनै प्रक्रिया पूरा गरिएको छैन,’ उनले भने, ‘यो विषयमा अदालतमा मुद्दा विचाराधीन छ, निर्णय गर्नै मिल्दैन ।’ काठमाडौं र त्रिभुवन विश्वविद्यालयबाट थप मेडिकल कलेजलाई सम्बन्धन दिँदा चिकित्सा शिक्षा र स्वास्थ्यको गुणस्तरमा थप ह्रास आउने भन्दै उनले चिन्ता व्यक्त गरे । तत्कालीन उपकुलपति सुरेशराज शर्मा र रामकण्ठ माकाजुले समेत थप सम्बन्धन दिन रोकेको उनले स्मरण गरे । ‘ओली र शिक्षामन्त्री त खुराफाती भइहालें, उपकुलपति थापा पनि नियम कानुन तोडेर काम गर्ने गोटी बने,’ उनले भने, ‘यिनीहरू अनैतिक र गैरजिम्मेवार भए, जवाफदेही बनाउने काम नागरिकको हो । गैरकानुनी निर्णय बदर नभए सत्याग्रह थाल्छु ।’

प्रकाशित : फाल्गुन १५, २०७७ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?