१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संसद् पुनःस्थापनापछि सरकार झन् बलियो : नेम्वाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा ओली समूहका नेता सुवास नेम्वाङले संसद् पुनःस्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । 

संसद् पुनःस्थापनापछि सरकार झन् बलियो : नेम्वाङ

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद् विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापना पछि दह्रो भएको बताएका हुन् । प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई कामचलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणीसमेत उनले गरे ।

‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयरटेकर हो, निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के-के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठीक थिएन, यो ठीक होइन भनिराथ्यौं । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो,' उनले भने, 'संसद् पुनःस्थापित भयो प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईंहरुलाई बताई नै सके उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो ।’

प्रतिनिधिसभा पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङको भनाइ थियो । ।

उनले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणीसमेत गरे । ‘हामीले भनिराखेका छौं । नेकपामा विभाजन छैन । हामीले त्यो बोलिराखेका छौं । हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ । कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ । हाम्रा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ । हामीले कसैलाई कारबाही गरेका छैनौं । त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौं’, उनले भने ।

प्रकाशित : फाल्गुन १५, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?