भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने- समाचार - कान्तिपुर समाचार

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने

कान्तिपुर संवाददाता

काठमाडौँ — २०७२ को भूकम्पमा क्षतिग्रस्त २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माणका लागि भारतले ५३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।

भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का परियोजना निर्देशकले सोसम्बन्धी चारवटा सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् । जसअनुसार धादिङमा १२ वटा र सिन्धुपाल्चोकमा १३ वटा स्वास्थ्यचौकी पुनर्निर्माण हुनेछन् ।

शुक्रबारै निर्माण कम्पनी र इकाइबीच ठेक्का सम्झौतामा समेत हस्ताक्षर भएको छ । यो पुनर्निर्माणमा भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछन् । सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माणमा भारतकै शीर्ष संस्थानमध्येमा पर्छ ।

प्रकाशित : फाल्गुन १४, २०७७ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम पूर्वमा दुई दिनदेखि डढेलो

हरि गौतम

रुकुम पूर्व — सिस्ने गाउँपालिका–२ मा दुई दिनदेखि डढेलो लागिरहेको छ । बिहीबार सुरु भएको डढेलो नियन्त्रणमा नआएर झन्‌झन् बढ्दै गइरहेको छ ।

बिहीबार साँझ सिस्ने–२ को प्वाङस्थित कुरीपानीबाट सुरु भएको डढेलो शुक्रबार बेलुकासम्म धेरै ठाउँमा फैलिसकेको छ । कुरीपानी सामुदायिक वनमा आगो कसरी सल्कियो भन्ने पत्ता लाग्न सकेको छैन ।

उक्त डढेलोबाट ३ वटा घर दर्जन बढी गोठ जलेर नस्ट भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । डढेलोले दतखुना, कुचिबाङ, गोल्खाडा, सुद्री, लगायतका बस्तीमा फैलिरहेको वडाध्यक्ष केसीले बताए । डढेलो नियन्त्रणमा इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीय लागि परेका छन् । आगो धेरैतिर फैलिएकाले नियन्त्रणको सम्भावना न्यून छ ।

डढेलोबाट केही घरगोठ जलेर नस्ट भएको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । प्रहरी र स्थानीय डढेलो नियन्त्रणमा खटिएकाले थप विवरण आइसकेको छैन ।

डढेलो नियन्त्रणमा नआएपछि जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको छ । बैठकले डढेलो नियन्त्रणमा नआएसम्म आआफ्नो सूचनालाई अध्यावधिक गर्ने र जानकारी गराउने तथा आवश्यक परे जनशक्ति परिचालन गर्ने निर्णय गरेको प्रजिअ राईले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७७ २०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×