नागरिकता माग गर्दै धनुषामा प्रदर्शन    

श्यामसुन्दर शशि

जनकपुर — धनुषामा नागरिकता माग गर्दै युवायुवतीहरुले बिहीबार प्रदर्शन गरेका छन् । 

नागरिकता माग गर्दै धनुषामा प्रदर्शन    

जनसरोकार मञ्च धनुषाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, धनुषा अगाडि प्लेकार्डसहित प्रदर्शन गरिएको हो । प्रदर्शनमा पीडित युवा युवतीसँगै नागरिक समाजका अगुवा तथा जनप्रतिनिधिहरु समेत सहभागी थिए ।

जनसरोकार मञ्चका अध्यक्ष सत्यनारायण साहले नागरिकताविहीनहरुको पक्षमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठक सुरु भएपछि यस आन्दोलनलाई पुन: निरन्तरता दिने उनले बताए । ‘नागरिकताविहीनहरुको आन्दोलन अब सदनदेखि सडकसम्म हुन्छ’, साह कान्तिपुरसँग भने ।

नेपालको संविधान २०७२को भाग २ को दफा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ । धारा ११ को उपधारा ३ मा ‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निज बालिक भए पछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भनेर प्रस्ट लेखिएको छ ।

तर संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौं नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन छन् । नागरिकता प्राप्त गर्न नसकेकै कारण उनीहरु उच्च शिक्षा लिनबाट वञ्चित छन् । राहदानी बनाउन नसकेर वैदेशिक रोजगारीमा जान सकिरहेका छैनन् । बैंक खाता खोल्न सकेका छैनन् । यहाँसम्म कि आफ्नै देशमा आफ्नै देशका मोबाइल कम्पनीहरुको सिमसम्म आफ्नो नामबाट झिक्न नसकिरहेका मञ्‍च अध्यक्ष साहले बताए ।

गृहमन्त्रालयको २०७० चैत २० गतेको पत्र अनुसार देशभरिका जिल्ला प्रशासन कार्यालयहरुले जन्मसिद्ध नागरिकका सन्तानहरुलाई प्रदान गर्दै आएको नागरिकता वितरण बन्द गरेको थियो । मन्त्रालयका शाखाअधिकृत सहदेव महतले जिप्रकाहरुमा लेखेको पत्रमा ‘नेपाल नागरिकता (पहिलो संशोधन अध्यादेश २०६९ द्वारा नेपाल नागरिकता ऐन २०६३को दफा ३ को उपदफा ४ मा उल्लेखित व्यवस्था नेपालको संविधान २०६३ को धारा ८८ उपधारा २ को प्रतिवन्धात्मक वाक्यांशको खण्ड ग बमोजिम २०७० चैत १२ गतेदेखि निष्कृय हुने भएकोले सोही मितिदेखि नागरिकता जारी नगर्ने भनी निर्देश दिएको देखिन्छ । नेपालको संविधान २०७२ जारी भएको पाँच वर्ष बित्ती सक्दा पनि जिल्ला प्रशासन कार्यालयहरुले पुरानो निर्देशनको आधारमा योग्य नेपाली नागरिकहरुलाई नागरिकताबाट वञ्चित गर्नु मानव अधिकारको चरम हनन भएको भनाइ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष शत्रुघ्न साहको छ ।

जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकता दिनु पर्ने माग राखी जनसरोकार मञ्चले फागुन ६ गते धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापन पत्र समेत बुझाएको थियो । मञ्चका अध्यक्ष सत्यनारायण साहका अनुसार प्रजिअ भट्टराईले गृहमन्त्रालयको निर्देशनमा नागरिकता वितरण रोकिएको बताएका थिए ।

प्रकाशित : फाल्गुन १४, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?