नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नगर्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । 

नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नगर्ने 

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले भावी सरकारको बारेमा अहिले कुनै पनि धारणा नबनाउने निष्कर्ष निकालेको हो । बैठकपछि नेता कृष्णप्रसाद सिटौलाले भने, 'कांग्रेसले हतार गरेर निर्णय गर्नु काम छैन । संसद् पुन:स्थापनापछि नेकपा एक छ । उनीहरुको विवाद कसरी टुंगिन्छ । त्यसपछि हाम्रो भूमिका क्लियर गर्छौं ।'

उनले नेकपाका दाहाल-नेपाल समूह र ओली समूहले भेट्न खोज्यो भने दुवै पक्षसँग भेट्ने, छलफल गर्ने तर अहिले नै कुन पक्षलाई समर्थन गर्ने भन्ने निष्कर्ष ननिकाल्ने विषयमा एकमत भएको बताए ।

त्यस्तै नेता अर्जुननरसिंह केसीले नेकपा अलग-अलग पार्टी नै बन्ने निश्‍चित नभएसम्म कांग्रेस यो वा त्यो पक्षलाई समर्थन गर्ने भन्ने निर्णय नगर्ने विषयमा समझदारी भएको बताए । उनले नेकपा विभाजनको दिशा अगाडि बढेमा छुट्टै बैठक बसेर धारणा बनाउने कान्तिपुरसित बताए । नेकपा कुन आधिकारिकता भन्ने विषय निर्वाचन आयोगले टुंग्याउन बाँकी छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नयाँ सत्ता समीकरण बनाउने खेल सुरु हुँदै छ । नेकपा दाहाल-नेपाल समूहले संसद् बैठक सुरु भएपछि प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई पदच्यूत गराउने बाटो खोजिरहेको छ भने ओलीले आफू प्रधानमन्त्रीमा निरन्तरताका लागि वा आफ्नो पक्षले सरकार सञ्‍चालनको प्रयास गर्ने कसरतमा देखिएका छन् । दाहाल-नेपाल समूहले भने कांग्रेस, जसपालगायत दलसँग सत्ता समिकरणका लागि संवाद समेत थालिसकेका छन् ।

प्रकाशित : फाल्गुन १३, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?