२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

खोप लगाएकाको एन्टिबडी बन्दै

खोप लगाएकामा रोग प्रतिरोधक क्षमता बढ्नुका साथै उनीहरुबाट अन्यमा संक्रमण सर्ने सम्भावना कम हुन्छ  ।
विज्ञ भन्छन्– ‘कोभिसिल्ड खोप लगाएकामध्ये करिब तीन चौथाइमा संक्रमण हुँदैन’
अतुल मिश्र

काठमाडौँ — नेपालमा कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका करिब ४ लाख ३० हजार जनामा एन्टिबडी बन्न थालेको विज्ञले बताएका छन् । पहिलो प्राथमिकतामा परेका व्यक्तिले खोप लगाएको करिब एक महिनाको अवधिमा भाइरसविरुद्ध लड्न सक्ने एन्टिबडी विकास भएको हो । पहिलो प्राथमिकतामा परेकाले माघ १४ देखि खोप लगाउन सुरु गरेका थिए ।

खोप लगाएकाको एन्टिबडी बन्दै

‘खोप लगाएपछि केही चिकित्सक र स्वास्थ्यकर्मीले एन्टिबडी परीक्षण गराउनुभएको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमले भने, ‘उहाँहरूको शरीरमा एन्टिबडी राम्रो बनेको पाइएको छ ।’ तर नेपालमा खोप लगाएपछि आम व्यक्तिको शरीरमा बनेको कोभिडविरुद्घको एन्टिबडीबारे छुट्टै अध्ययन भएको छैन । खोप लगाएका सबैको शरीरमा एन्टिबडी बन्ने भए पनि व्यक्ति विशेषको शरीरमा त्यसको मात्रा फरक हुन सक्ने डा.गौतमले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट डा. अनुप बाँस्तोलाका अनुसार अस्पतालका १३ जना कर्मचारीको आरडीटी परीक्षण गर्दा १२ जनामा एन्टिबडी बनेको पाइएको छ । तीमध्ये एक जनाले खोप लिएका थिएनन् ।

‘खोप लगाएकाको शरीरमा एन्टिबडी बन्ने प्रक्रिया सुरु भइसकेको छ, यसले संक्रमणविरुद्घ सुरक्षा दिन्छ,’ डा. बाँस्तोलाले भने, ‘खोप लगाएका मध्ये करिब ७२ प्रतिशतलाई कोभिडको संक्रमण नै हुँदैन, अन्यमा संक्रमण भए पनि गाह्रो हुँदैन ।’ खोप लगाएकाहरूमा रोग प्रतिरोधक क्षमता बढ्नुका साथै उनीहरूबाट अन्य व्यक्तिमा कोभिड सार्ने सम्भावनासमेत कम हुने उनले बताए । खोप लगाएका व्यक्तिले स्वास्थ्य सावधानी अपनाउन छाड्न नहुने विज्ञको सुझाव छ ।

नियमित मास्कको प्रयोग, भौतिक दूरी, साबुनपानी हात धुने, सेनिटाइजरको प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनीहरू बताउँछन् । ‘खोप लगाएका व्यक्तिको माथिल्लो श्वास नली, घाँटी आदिमा कोभिडको भाइरस विकास हुन सक्छ,’ डा. बाँस्तोलाले भने, ‘यसले गर्दा उनीहरूले अन्य व्यक्तिलाई संक्रमण सार्ने जोखिम भएकाले स्वास्थ्य सावधानी अपनाउनु राम्रो हुन्छ ।’

अक्सफोर्ड–एस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई सेरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डको नाममा उत्पादन गरिरहेको छ । मांसपेशीमा ०.५ मिलिलिटरको दुई मात्रा लिनुपर्ने खोप १८ वर्ष माथिकालाई लगाउन अनुमति दिइएको छ । दोस्रो मात्रा ८ सातापछि अनिवार्य लिनुपर्ने हुन्छ ।

सरकारले फागुन २३ देखि समुदायमा खोप अभियान सञ्चालन गरेर ५५ वर्षमाथिका करिब ४० लाख व्यक्तिलाई खोप लगाउने भएको छ । गत वर्ष माघ ९ गते चीनबाट फर्किएका नेपाली विद्यार्थीमा पहिलोपटक कोभिड देखिएको थियो । त्यसपछि सुरु भएको संक्रमणको प्रसार अझै रोकिएको छैन ।

प्रकाशित : फाल्गुन १३, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?