कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा कांग्रेस अझै अलमल

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पारित/असफल गराउन निर्णायक रहेको दल कांग्रेस अझै अलमलमा छ । कांग्रेस संसदीय दलमा दुई धार देखिएकाले पनि निर्णय हुन नसकेको हो ।

प्रदेश १ मा कांग्रेस अझै अलमल

प्रदेशसभा सदस्यहरू कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा बाँडिएका छन् । देउवा पक्षधरले अविश्वास प्रस्ताव असफल गराउने र पौडेल पक्षधरले पारित गर्ने रणनीति लिएका छन् ।

नेकपा दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वास प्रस्ताव आइतबार प्रदेशसभा बैठकमा पेस गरिएको छ । प्रदेशसभाका आगामी बैठक फागुन २० गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । प्रदेशसभा नियमावलीअनुसार सभामुख प्रदीपकुमार भण्डारीले आगामी बैठकमा अविश्वास प्रस्ताव छलफलमा लगेर निर्णयार्थ प्रस्तुत गर्न सक्छन् ।

अविश्वास प्रस्ताव पेस गरेको दिन कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, सचेतक सूयर्माराज राई, शेखरचन्द्र थापालगायतका देउवा पक्षधर प्रदेशसभा सदस्यहरूले बैठक स्थगन गर्न सभामुख भण्डारीलाई दबाब दिएको सचिवालय स्रोतले जनाएको छ । कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र प्रमुख सचेतक केदार कार्की, जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले अविश्वास प्रस्ताव बैठकमा पेस हुनुपर्ने अडान लिएका थिए । उनीहरूले पनि अहिलेसम्म खुलेर अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने भन्न सकिरहेका छैनन् ।

अविश्वास प्रस्ताव असफल बनाउन कांग्रेस केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र कार्की, अमृत अर्याल, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीलगायतले पहल गर्दै आएका छन् । अविश्वास प्रस्ताव असफल गराउने विषयमा केन्द्रीय सदस्य अर्याल, राष्ट्रिय सभा सदस्य रायमाझी, सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र मुख्यमन्त्री राईले पटकपटक छलफल गरेका छन् । उपनेता कार्की र प्रदेशसभा सदस्य थापाले कांग्रेसको प्रदेशस्तरीय समिति नभएकाले केन्द्रीय कार्यसमितिले गरेको निर्णय संसदीय दलले कार्यान्वयन गर्ने बताएका छन् ।

प्रमुख सचेतक कार्कीले प्रमुख प्रतिपक्ष भएकाले ‘उपहारमा पाएको’ अविश्वासको प्रस्ताव जसरी पनि पास गराउन कांग्रेस पछि नहट्ने बताए । ‘प्रदेश सरकार जनताको भएन, मन्त्रीको मात्रै भयो । त्यसैले यो सरकार ढाल्छौं,’ उनले भने, ‘पार्टीको केन्द्रसँग समन्वय गरी यहाँको राजनीतिक परिदृश्यका आधारमा कांग्रेसले ठोस निर्णय गर्छ ।’

जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवले विपक्षी दलको धर्मअनुसार अविश्वासको प्रस्ताव पास गराउनुको विकल्प नभएको बताए । नेकपा दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले सबै विपक्षी दलको सहमतिमा अविश्वास प्रस्ताव टेबल गरिसकेकाले आउँदो बैठकमा सबै विपक्षी दलको सहयोग र सहमतिमा अविश्वासको प्रस्ताव पास गराउने तयारी गरेको बताए ।

नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा नियमावलीको व्यवस्था अनुसार बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेमा त्यसविपरीत सदन चलाएर अविश्वासको प्रस्ताव पेस गरेको भन्दै आपत्ति जनाए ।

प्रकाशित : फाल्गुन १३, २०७७ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?