पूर्वप्रधानमन्त्री भट्टराईको रोग पहिचान हुन थप केही दिन लाग्ने- समाचार - कान्तिपुर समाचार

पूर्वप्रधानमन्त्री भट्टराईको रोग पहिचान हुन थप केही दिन लाग्ने

सुरेशराज न्यौपाने

नयाँदिल्ली — पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको रोग पहिचानका लागि थप केही दिन लाग्ने भएको छ । उनको दिल्लीको वसन्तकुञ्जस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचार चलिरहेको छ ।

भट्टराईको पेटमा आमाशय र सानो आन्द्राको बीच भागमा पलाएको न्युरो–इन्डोक्राइन ट्युमर (एनईटी) अर्थात् मासुको डल्लो क्यान्सर हो वा होइन यकिन गर्नका लागि मंगलबारदेखि परीक्षण सुरु गरिएको हो । यसकै लागि उनी मंगलबार बिहानै अस्पताल भर्ना भएका हुन् ।

उनको उपचारमा अस्पतालका वरिष्ठ चिकित्सक डा. विक्रम भाटिया संलग्न छन् । भट्टराई पत्नी हिसिला यमीका अनुसार थप परीक्षण गर्नुपर्ने चिकित्सकले बताएका छन् । पहिलो दिन अल्ट्रा इन्डोस्कोपी गरिएको थियो । त्यसैगरी उनको पेटभित्र पलाएको ट्युमरको सानो हिस्सा निकालेर बायप्सीका लागि पठाइएको छ । त्यसको रिपोर्ट आउन पाँच दिन लाग्नेछ । त्यही रिपोर्टले नै ट्युमर घातक भएको वा नभएको यकिन गर्नेछ ।

त्यसबीच थाइरोयड, अन्य परीक्षणहरू पनि गरिने यमीले बताइन् । ‘खाना जाने नलीमा अल्सर पनि देखिएको छ । जुन काठमाडौंमा परीक्षणका क्रममा देखिएको थिएन,’ उनले भनिन् । भट्टराईमा देखिएको ट्युमर मानिसमा विरलै देखिनेमध्येमा पर्छ । यो प्रायजसो आन्द्रा, फोक्सो, घाँटी, अग्नाशय (प्यांक्रियाज) मा देखिने गर्छ ।

प्रकाशित : फाल्गुन १२, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाले अमेरिकामा ५ लाखभन्दा बढीको मृत्यु

 राष्ट्रिय शोकको घोषणा
५ दिनसम्म सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने
एजेन्सी

वासिङ्टन — अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । संक्रमित हुनेको संख्या २ करोड ८० लाखभन्दा बढी पुगेको छ । यो संख्या भारत (१ करोड १० लाख) र ब्राजिल (१ करोड २ लाख) मा संक्रमित हुनेको कुल संख्याभन्दा पनि धेरै हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित सेन्ट ज्युड मेडिकल सेन्टरमा कोरोना संक्रमित श्रीमान्लाई भेट्दै एक वृद्धा । फाइल तस्बिर : एपी

कोरोना संक्रमणकै कारण आगामी जुन १ सम्म अमेरिकामा कम्तीमा थप ९० हजार मानिसको मृत्यु हुन सक्ने इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्यालुसन (आईएचएमई) को आकलन छ । हाल दैनिक २ हजार जनाको मृत्यु भइरहेकोमा मे महिनाको अन्तिमबाट यो संख्या ५ सयमा झर्ने समेत जनाइएको छ ।

पछिल्लो समय यहाँ कोरोना भाइरसका नयाँ प्रजातिको संक्रमण विस्तारमा समेत वृद्धि भएको विभिन्न रिपोर्टमा उल्लेख छ । राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेपछि मुलुकभर कोरोनाविरुद्धको खोप लगाउने दरलाई भने बढाइएको छ । मंगलबार राष्ट्रपति बाइडेनले देशवासीका नाममा सम्बोधन गर्दै कोरोना महामारीविरुद्ध उभिन आग्रह गरेका छन् । ‘आज म सबै अमेरिकी नागरिकलाई आग्रह गर्छु कि जसलाई हामीले गुमायौं उनीहरूलाई सम्झौं, जसलाई हामीले पछाडि छोडेर आयौं, उनीहरूलाई पनि सम्झौं,’ उनले भने । एक देशका रूपमा यति धेरै मानवीय क्षति हुनुलाई क्रूर भाग्यका रूपमा मात्रै लिन नसक्ने उनको भनाइ थियो ।

बाइडेनले राष्ट्रपति कार्यालय ह्वाइटहाउसको बाहिर मैनबत्ती बालेर महामारीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिएका थिए । उनलाई उपराष्ट्रपति कमला ह्यारिसले समेत साथ दिएकी थिइन् । राष्ट्रिय शोकको घोषणा गर्दै राष्ट्रपति बाइडेनले आगामी ५ दिनसम्म सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिए । बाइडेनका अनुसार अमेरिकामा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा मारिनेको कुल संख्याभन्दा धेरै हो ।

‘आज हामी ५ लाख ७१ जनाको मृत्यु भएको मन विक्षिप्त बनाउने कोसेढुंगामा पुगेका छौं,’ सम्बोधनका क्रममा बाइडेनले भनेका छन्, ‘प्रायः हामीले सुन्ने गरेका छौं कि उनीहरू आम अमेरिकी थिए । तर यस्तो केही पनि होइन, उनीहरू कोही पनि आम थिएनन् । जसलाई हामीले गुमाएका छौं ती सबै असाधारण थिए । उनीहरू अमेरिकामा जन्मिएका थिए या आफ्नो देश छोडेर यहाँ आएका थिए । उनीहरूले कतिपयले अमेरिकामा एक्लै अन्तिम श्वाससमेत लिनुपर्‍यो ।’

बाइडेनले महामारीलाई यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै गरी नलिनेसमेत संकेत गरे । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि उपयुक्त कदम नचालेको र मास्कसमेत नलगाई संवेदनशील विषयमा समेत अनावश्यक राजनीतीकरण गरेको ट्रम्पमाथि आरोप लाग्ने गरेको छ । बाइडेनले भने कार्यभार सम्हालेलगत्तै कोरोनाविरुद्धको खोप र स्वास्थ्य सेवाको स्तरवृद्धिमा जोड दिँदै आएका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७७ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×