संसद् पुन:स्थापनाको खुसीयालीमा विभिन्‍न जिल्लामा दीप प्रज्वलन  

परासी, तिलोत्तमा, नवलपरासी, सिन्धुली र गोरखा — सर्वाच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि देशका विभिन्न जिल्लाहरुमा विभिन्‍न दल नेता, कार्यकर्ता र नागरिकले खुसीयालीमा दीप प्रज्ज्वलन गरेका छन् ।

संसद् पुन:स्थापनाको खुसीयालीमा विभिन्‍न जिल्लामा दीप प्रज्वलन  

हाम्रा संवाददाताहरुका अनुसार काठमाडौंसहित नवलपरासी पूर्व, पश्चिम, गोरखा, रुपेन्देही, चितवन, नुवाकोट लगायत देशका अधिकांश जिल्लामा दीप प्रज्ज्वलन गरेका हुन् । कार्यक्रममा सहभागीले जनताको जित, केपी ओली बाइबाइ, लगायत नारा लगाएका थिए ।

नवलपरासी पश्चिमको परासी चोकमा जसपाका नेता कार्यकर्ताले दीप प्रज्ज्वलन गरेका हुन् ।

सर्वोच्च अदालतले संविधान र जनताको पक्षमा फैसला गरेको भन्दै दीप प्रज्ज्वलन गरेको जनता समाजवादी पार्टी पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले बताए । जिल्लामा सर्वोच्चको फैसलालाई मधेसवादी दल र कांग्रेसका नेताले स्वागत गरेका छन् ।

यस्तै नेकपा दाहाल–नेपाल पक्षले बुटवल र भैरहवामा दीपावली गरेको छ । सर्वोच्चको निर्णय जनताको पक्षमा भएको भन्दै उक्त समूहका नेता तथा कार्यकर्ताले पुष्पलालपार्क र भैरहवाको बुद्ध चोकमा दीप प्रज्ज्वलन गरी खुसयिाली मनाएका हुन् । दीपावलीमा सयौं नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।

यसैगरी पूर्वी नवलपरासी सदरमुकाम कावासोतीमा रहेको कांग्रेसको जिल्ला कार्यालय परिसरमा तरुण दलका युवाहरुले मैनबत्ति बालेर खुशियाली मनाएका छन् । 'संविधान विघटन हुनबाट जोगिएको ऐतिहासिक उपलब्धि सर्वोच्च अदालतबाट प्राप्त भएर संसद् पुन:स्थापना भएको दिनमा मैनबत्ति बालेर खुशियाली मनाएका हौं', तरुण दल नवलपरासीका अध्यक्ष सूर्य गुरुङले भने, 'तरुण साथीहरुले स्वत: स्फूर्त रुपमा दीप प्रज्वलन गरेका हुन् ।'

गोरखामा पनि प्रतिनिधिसभा संसद् पुन:स्थापनाको खुसियालीमा दीप प्रज्वलन भएको छ । नेकपा (दाहाल–नेपाल) समूहका कार्यकर्ताले सदरमुकामको हरमटारी चोकमा दीप प्रज्ज्वलन गर्दै सर्वोच्च अदालतको संसद् पुनस्थापनाको फैसलाको स्वागत गरे । प्रतिगमनकारी कदम चालेको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए ।

सिन्धुलीमा कांग्रेस र नेकपा दाहाल–नेपाल समूहले सर्वोच्चअदालतको विघटन बदर गर्ने मंगलबारको निर्णयलाई स्वागत गर्दै खुसीयाली मनाएको छ । दाहाल–नेपाल पक्षले सदरमुकाम सिन्धुलीमाढीको लोकतान्त्रिक चोकमा दीप प्रज्‍ज्वलन गरेको छ । सर्वोच्चले फैसला गर्नासाथ खुसियाली साटासाट गर्न नेता कार्यकर्ता जम्मा भएका थिए ।

कांग्रेस सिन्धुलीले मोटसाइकल र्‍याली तथा कोणसभा गरेको छ । ढुंग्रेवासबाट सुरु भएको मोटरसाइकल र्‍याली राम्माडी, रातमाटा, शान्तिनगर, स्टलबजार, माढीबजार हुँदै लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा कांग्रेसका पूर्वसचिव उपेन्द्रकुमार पोखरेलले प्रतिगमनका मतियारहरु ढलेको र लोकतन्त्रको जित भएको बताए ।

प्रकाशित : फाल्गुन ११, २०७७ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?