१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

युवक हत्या प्रकरण : दोषी जोगाउन खोजेको पीडित परिवारको आरोप

कान्तिपुर संवाददाता

मोरङ — उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको हत्या घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै मृतकका परिवारजनले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

युवक हत्या प्रकरण : दोषी जोगाउन खोजेको पीडित परिवारको आरोप

उनीहरूले सरकारी वकिलको कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरीमा न्याय प्राप्तिका लागि सहयोग गर्न आग्रह गरे । मृतककी बहिनी सदीक्षा बाँस्तोलाको नेतृत्वमा आएका आफन्त र स्थानीयले इलाका प्रहरी उर्लाबारीविरुद्ध नाराबाजी गरेका थिए ।

इप्रकाका प्रहरी निरीक्षक उद्धव पोखरेललाई निलम्बन गरी छानबिन गर्न पीडित परिवारको माग छ । मृतककी बहिनी सदीक्षाले जिल्ला न्यायाधिवक्ता मनोजकुमार आचार्यलाई न्याय प्राप्त हुने गरी मुद्दा दर्ता गराइदिन आग्रह गरिन् । आचार्यले प्रहरीले अनुसन्धान गरी फाइल बुझाएको, शव परीक्षण र फरेन्सिक प्रतिवेदन पनि आइसकेकाले चाँडै जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा जुटेको बताए । उनले सरकारवादी मुद्दा भएकाले आफूहरूले काम गर्ने तर मुद्दा विवादित भइसकेकाले व्यक्तिगत रूपमा पनि वकिल राख्न सुझाव दिए । मृतकका आफन्तले प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई पनि न्याय प्राप्तिमा सघाइदिन आग्रह गरेका छन् ।

बाँस्तोलाको शव पुस ५ गते स्थानीय गोदावरी अस्पताल ल्याएपछि मात्रै खबर पाएको परिवारको भनाइ छ । उर्लाबारी–४ स्थित रमेश गिरीको घरमा डेरा गरी बस्दै आएका रिकेश शिवा भन्ने मेहरमान दर्जीले प्रवीणलाई पुस ४ गते फोन गरेर बोलाएका थिए । रिकेश, दीपेश पौडेल, राजेश रणपहेलीसँगै प्रवीणले उर्लाबारी पूर्वपट्टिको बस स्टेन्डनजिक सौरवी होटलमा रक्सी खाएर सबै जना रिकेशको डेरामा सुत्न गएका थिए ।

घटनाको भोलिपल्टै पक्राउ गरेका रिकेश, दीपेश र राजेश रिहा भइसकेका छन् । आइतबार इलाका प्रहरीमा बुझ्न जाँदा अनुसन्धान गरिएको फाइलमा मृतकको नभएर अर्केको फोटो भेटाएपछि परिवारजन आक्रोशित भएका थिए । प्रहरीले अनुसन्धानपछि फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको तर त्यहाँबाट मुद्दा चल्न नसक्ने भन्दै फाइल फिर्ता गरिदिएको थियो । उक्त घटनामा जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोली गठन गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : फाल्गुन ११, २०७७ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?