ओलीलाई दाहालले भने, 'नैतिकता छ भने राजीनामा दिनुस्'- समाचार - कान्तिपुर समाचार

ओलीलाई दाहालले भने, 'नैतिकता छ भने राजीनामा दिनुस्'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन सुझाएका छन् ।

मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा दाहालले प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदमका कारण दुई महिनादेखि जनता पीडा र आवेग परेको भन्दै अब राजीनामा दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् । 'म केपी ओलीलाई पनि भन्न चाहन्छु, तपाईंले चालेका गलत कदमका कारण दुई महिनादेखि नेपाली जनता ठूलो पीडा र आवेग पैदा भयो । यदि तपाईंमा अलिकति पनि लाज छ । अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस् ।'

राजीनामा नआए ओलीलाई इतिहासको कठघरामा नमजासँग मिल्काइने दाहालको भनाइ थियो ।

पुस ५ गते ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको थियो । यसबीचमा नेकपा ओली समूहतिर लागेका नेता, कार्यकर्ताहरुलाई दाहालले कुनै भ्रममा नपरी आफ्नो समूहमा आउन अपील गरे । 'अब केपीको भुलभुलैयामा बस्ने समय छैन । संविधान र लोकतन्त्रको पक्षमा, मूल पार्टीमा आउनोस् हामी स्वागत गर्न तयार छौं,' दाहालले भने ।

दाहालले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक रहेको बताएका हुन् । उनले यसअघि तोकिएका विरोध कार्यक्रमलाई देशभर विजय जुलुसका रुपमा मनाउन अपील गरे । 'अब हाम्रो विरोध प्रदर्शन विजय र्‍यालीमा परिणत भयो । हामी यहाँ प्रवेश गर्ने वित्तिकै बडो गौरवको फैसला आयो, यो ऐतिहासिक छ । म पार्टीको तर्फबाट देशभरि भएका साथीहरुलाई विजय र्‍याली गर्न विशेष अपील गर्छु ।'

उनले संसद् पुन:स्थापना सबैको जित भएको उल्लेख गर्दै विभिन्न राजनीतिक दल, पार्टीका नेता, कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी लगायत उत्रिएका सबै जनालाई बधाई र धन्यवाद दिए । अब राजनीतिक दलहरुबीच सहमति र समझदारी गरी अगाडि बढ्ने भन्दै दाहालले यो आफूहरुको लडाइँ कुर्सीको नभएको भनाइ दोहोर्‍याए ।

प्रकाशित : फाल्गुन ११, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्

दोषी जोगाउन खोजेको पीडित परिवारको आरोप

कान्तिपुर संवाददाता

मोरङ — उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको हत्या घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै मृतकका परिवारजनले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले सरकारी वकिलको कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरीमा न्याय प्राप्तिका लागि सहयोग गर्न आग्रह गरे । मृतककी बहिनी सदीक्षा बाँस्तोलाको नेतृत्वमा आएका आफन्त र स्थानीयले इलाका प्रहरी उर्लाबारीविरुद्ध नाराबाजी गरेका थिए ।

इप्रकाका प्रहरी निरीक्षक उद्धव पोखरेललाई निलम्बन गरी छानबिन गर्न पीडित परिवारको माग छ । मृतककी बहिनी सदीक्षाले जिल्ला न्यायाधिवक्ता मनोजकुमार आचार्यलाई न्याय प्राप्त हुने गरी मुद्दा दर्ता गराइदिन आग्रह गरिन् ।

आचार्यले प्रहरीले अनुसन्धान गरी फाइल बुझाएको, शव परीक्षण र फरेन्सिक प्रतिवेदन पनि आइसकेकाले चाँडै जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा जुटेको बताए । उनले सरकारवादी मुद्दा भएकाले आफूहरूले काम गर्ने तर मुद्दा विवादित भइसकेकाले व्यक्तिगत रूपमा पनि वकिल राख्न सुझाव दिए । मृतकका आफन्तले प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई पनि न्याय प्राप्तिमा सघाइदिन आग्रह गरेका छन् ।

बाँस्तोलाको शव पुस ५ गते स्थानीय गोदावरी अस्पताल ल्याएपछि मात्रै खबर पाएको परिवारको भनाइ छ । उर्लाबारी–४ स्थित रमेश गिरीको घरमा डेरा गरी बस्दै आएका रिकेश शिवा भन्ने मेहरमान दर्जीले प्रवीणलाई पुस ४ गते फोन गरेर बोलाएका थिए । रिकेश, दीपेश पौडेल, राजेश रणपहेलीसँगै प्रवीणले उर्लाबारी पूर्वपट्टिको बस स्टेन्डनजिक सौरवी होटलमा रक्सी खाएर सबै जना रिकेशको डेरामा सुत्न गएका थिए । घटनाको भोलिपल्टै पक्राउ गरेका रिकेश, दीपेश र राजेश रिहा भइसकेका छन् ।

आइतबार इलाका प्रहरीमा बुझ्न जाँदा अनुसन्धान गरिएको फाइलमा मृतकको नभएर अर्केको फोटो भेटाएपछि परिवारजन आक्रोशित भएका थिए । प्रहरीले अनुसन्धानपछि फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको तर त्यहाँबाट मुद्दा चल्न नसक्ने भन्दै फाइल फिर्ता गरिदिएको थियो । उक्त घटनामा जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोली गठन गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : फाल्गुन ११, २०७७ २०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×