ओलीको कदमलाई निरन्तरता दिएमा संविधान नै समाप्त हुन्छ : देव गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई निरन्तरता दिएमा संविधान नै समाप्त हुने बताएका छन् ।

ओलीको कदमलाई निरन्तरता दिएमा संविधान नै समाप्त हुन्छ : देव गुरुङ

प्रतिनिधिसभा विघटनको विरुद्धमा दाहाल-नेपाल निकट आदिवासी जनजाती संगठन, मधेसी मुस्लिम लगायत संगठनहरुले काठमाडौंमा गरेको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुनेवित्तिकै मुलुकमा अराजकता र अस्थिरता पैदा हुने उनले बताए । त्यसपछि राज्य कमजोर हुने भएकाले अहिलेको व्यवस्था नै असफल हुने खतरा बढेको उनले बताए ।

राज्य कमजोर हुँदा विदेशी शक्ति केन्द्रहरुले नेपाललाई परेड खेल्ने राज्य बनाउन सक्ने भन्दै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

अदालत संविधान रक्षाका लागि उभिएकाले अदालतले संविधानमा नभएको विषयको पक्षमा फैसला नगर्ने विश्वास रहेको समेत नेता गुरुङको थियो । तर प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई धम्क्याउने काम गरिरहेको आरोपसमेत उनले लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा दाहाल-नेपाल समूह निकट आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले मंगलबार संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् । शान्ति बाटिकाबाट सुरु भएको प्रदर्शन भोटाहिटी, असन, इनद्रचोक हुँदै बसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोधमा प्रदर्शनकारीहरुले ‘संविधानको रक्षा गर’, ‘वीर सहिदहरु लाल सलाम’, ‘प्रतिनिधिसभा पुन:स्थापित गर’, ‘प्रतिगमन मुर्दावाद’, ‘भ्रष्ट्रचारीलाई कारबाही गर’, ‘उत्पीडित जातिहरुको पहिचान तथा हक अधिकार सुनिस्चित गर’ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।


प्रकाशित : फाल्गुन ११, २०७७ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?