प्रदेश प्रमुख झाद्वारा घाइतेको उद्धार - समाचार - कान्तिपुर समाचार

प्रदेश प्रमुख झाद्वारा घाइतेको उद्धार 

शिव पुरी

रौतहट — जनकपुरबाट मंगलबार कडा सुरक्षा स्कटिङसहित प्रदेश २ प्रमुख राजेश झा बाराको जितपुर जाँदै थिए । भीआईपी सवार गाडीको चाल तीव्र हुन्छ । र, गन्तव्यबाहेक बीचबाटोमा हतपत रोकिँदैन । सुरक्षाथ्रेटकै कारण उनीहरुको सुरक्षाको जिम्मा लिएको अधिकृतको आदेश बेगर रोक्नै दिदैन् । तर, मंगलबार बिहान पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर–लमाह खण्डको दृश्य फरक देखियो । 

नेपाली सेनाको स्कटिङसहित जितपुर जाँदै गर्दा रौतहटको लमाह जंगलमा केही समयअघि मात्र सवारी दुर्घटनामा घाइते सडकमा छटपटिरहेका थिए । प्रदेश प्रमुख झाले देखेपछि तत्कालै सुरक्षाकर्मीलाई गाडी रोक्न लगाए । र गाडीबाट निस्किए । जंगलमा भीआईपीलाई सुरक्षाको दृष्टिकोणले राम्रो हुँदैनथ्यो । तर उनले त्यसको प्रवाह गरेनन् । दुईवटा मोटरसाइकल एकआपसमा जुधेर दुर्घटना भएको थियो । ४ जना घाइते उपचार अभावमा छटपटिरहेका थिए । उनी घाइते भएको तिर दौडिए । हस्याङफस्याङ गर्दै उद्धारमा खटिए । उनका अंगरक्षकहरुले साथ दिए । घाइतेलाई उठाएर गाडीमा राख्न प्रमुख झा अग्रसर भए । ‘नागरिकको जीवन रक्षाभन्दा ठूलो मेरो कुनै जिम्मेवारी छैन’, उनले कान्तिपुरसित भने,‘मेरो लागि नागरिकको ज्यान ठूलो हो । कार्यक्रम हाइन । मैले सडकमा उपचारका लागि छटपटिएकाहरुलाई बचाउन पाए त्यही नै ठूलो कुरा हो ।’

चन्द्रनिगाहपुर –लमाहाको बीचमा पर्ने लच्का नजिकै ना ५६ प ७३६५ र बिआर ३०जे ९३९७ नम्वरको दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मकवानपुर झझली गाउँपालिका २ का सुरज पहरी, पर्सा गढी नगरपालिका ३ का जीतबहादुर पहरी, सर्लाही मंलगवा नगरपालिका ८ का विकास यादव र उनका श्रीमती चित्ररेखा यादव घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाइते चारैजनाको खुट्टामा चोट लागेको छ ।

घाइतेलाई प्रमुख झाले गाडीमा आफ्नो सुरक्षाकर्मी साथै पठाएर चन्द्रपुर अस्पतालमा उपचार गराएका थिए । घाइतेलाई उपचारका लागि पठाएपछि मात्र उनी घटनास्थलबाट हिँडेका थिए । अहिले चारैजनाको स्वास्थ्य सुधार भइरहेको अस्पतालले जनायो ।

प्रकाशित : फाल्गुन ११, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्

जलीय जैविक विविधता मापन सम्बन्धीको पुस्तक तयार

कान्तिपुर संवाददाता

काठमाडौँ — जैविक सूचकको आधारमा गरिने जलीय जैविक विविधता परीक्षणको फिल्ड तथा ल्याब परीक्षण विधि(मेथेडोलोजी) सम्बन्धि नेपालको पहिलो पुस्तक तयार भएको छ ।

नेपालका ३ जना फ्रेस वाटर इकोलोजिस्टको संयुक्त अनुसन्धानबाट नदी तथा जलाधार क्षेत्रहरुको पारिस्थितिकिय अवस्था पत्ता लगाउन गरिने जैविक स्वास्थ्य परीक्षण सम्बन्धिको पहिलो पुस्तक तयार भएको हो ।

वाटर इकालोजिस्टत्रय त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा. दीपनारायण शाह, काठमाडौं विश्वविद्यालयका रेक्टर डा. सुवोध शर्मा, काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक डा. रामदेवी तचामो शाहले संयुक्त रुपमा पानीको स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने ‘रिर्भस ह्यान्डबुक अ गाइड टु द हेल्थ अफ रिभर्स इन द हिन्दु कुश हिमालय’ सार्वजनिक भएको हो ।

कुनै क्षेत्रमा नदीको पारिस्थितिकीय प्रणालीको अवस्था कस्तो छ भनेर हेर्नका लागि गरिने ‘र्‍यापिड रिभर एसेस्मेन्ट’ विधि पुस्तकमा उल्लेख छ । पानीको गुणस्तर मापन गर्नका लागि छोटो समयमा कुनै नदी क्षेत्रको स्वास्थ्य परीक्षण कसरी गर्ने भन्ने सवालहरु पुस्तकले समेटेको उपप्राध्यापक शाहले बताए । निश्चित जलाधार क्षेत्रमा बृहत् अनुसन्धान गर्न गरिने ‘क्वान्टिटेटिभ एसेसमेन्ट’ विधिको जानकारी पनि समावेश गरिएको छ । ‘यो पुस्तक तयार हुनुअघि नेपालको जलीय पारिस्थितकीय प्रणालीको अध्ययन अनुसन्धानका लागि धेरै सीमितता थियो,’ उपप्राध्यापक शाहले भने, ‘अब यसैलाई आधार मानेर अध्ययन अनुसन्धान गर्न सजिलो हुन्छ ।’

१५ वर्षको अध्ययन तथा अनुसन्धानपछि किताब तयार गरिएको केयूकी उपप्राध्यापक डा. रामदेवी तचामो शाहले बताइन् । ‘नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानका नदीको बृहत् अध्ययनपछि नेपालमा कसरी अध्ययन गर्ने भन्ने विधि निस्किएको थियो, नेपालको परीपेक्षमा अलिकति कन्स्टेक्च्युलाइज गरेर विधिको निर्माण गरियो,’ तचामोले भनिन्, ‘नेपाल जस्तै भूभाग भएका अन्य मुलुकहरुमा पनि यसको अनुसन्धान गर्न सकिन्छ । यो किताबमा उल्लेख भए अनुसारको विधि प्रयोग गरेर छोटो समयमा कम बजेटमा अप्राविधिक व्यक्तिहरुले पनि सजिलैसँग नदी तथा जलाधार क्षेत्रको स्वास्थ्य मापन गरेर स्वास्थ्य निर्धारण गर्न सक्छन् । ’

जलाधार क्षेत्रको स्वास्थ्य मापन गरेर कसरी नक्सांकन गर्ने भन्ने विधि पनि यो यहाँ उल्लेख रहेको उनले सनाइन् । हिमाल, पहाड र तराई तथा तटीय क्षेत्रहरुका जलाधार क्षेत्रहरुमा कसरी स्वास्थ्य परीक्षण गरेर पारिस्थितकीय अवस्था हेर्न सकिन्छ भन्ने कुरा पुस्तकमा उल्लेख छ । नेपालमा पहिचान गरिएका पानीमा पाइने किटवर्ग, गंगेटा, जुका, झिंगे माछा, शंखे किरा प्रजातिको अभिलेख पनि पुस्तकमा भएकाले अनुसन्धानकर्ताहरुलाई सहज हुने बताइएको छ ।

यी विधि अपनाएर गरिएको स्वास्थ्य परीक्षणबाट आएको नतिजालाई जलाधार क्षेत्रलाई रंगिन नक्सामा देखाउन पनि सकिन्छ । रंगिन चित्रबाट सम्बन्धित निकायका प्रतिनिधिले जलाधार क्षेत्रको अवस्था हेरेर उक्त क्षेत्रको पूर्ववत अवस्था(रिस्टोरेसन) मा फर्काउनका लागि आवश्यक कामकारबाही तर्जुमा गर्न पनि सक्ने उपप्राध्यापक शाहको भनाइ छ । किताबले नेपालका नदीनालाहरुको जलीय जैविक सूचकहरुको आधारमा जलाधार क्षेत्रहरुको विस्तृत स्वास्थ्य अवस्था अध्ययन गरी आवश्यक योजनाहरु तर्जुमा गर्नका लागि मद्दत गर्ने शाहले बताए । पुस्तकले नयाँ पुस्ताका अनुसन्धानकर्ताहरुलाई सहज हुने उनले बताइन् । ‘किताबमा पानीमा पाइने किट वर्गहरुको स्पष्ट तस्बिर तथा जानकारी छ । परीक्षण विधि पनि विस्तुत रुपमा छ । नयाँ पुस्तका अनुसन्धानकर्मीहरुलाई सहज हुनेछ,’ अनुसन्धानकर्ता समेत रहेका शाहले बताए ।

जैविक सूचक विधिको प्रयोग गर्ने पुस्तक नहुँदा प्राय: खोला नालाको अध्ययन भौतिक र रसायनिक विवरणबाट गर्ने गरिन्थ्यो । जुन निश्चित समय र स्थानको मात्रै नतिजा दिन्थ्यो । जैविक सूचक विधिको बारेमा अनुसन्धानकर्ताहरुलाई जानकारी भएतापनि यसको परीक्षण गर्ने तरिका र म्याक्रो इन्भर्टिब्रेटस् पहिचान गर्ने सूत्र (कि)को अभाव थियो । किताबको सहयोगले नयाँ पुस्ताका अनुसन्धाकर्ताहरुले सजिलैसँगै एकीकृत नदी स्वास्थ्य परीक्षण गरी त्यसको संरक्षण, सही सदुपयोग र व्यवस्थापनबारे सुझाव दिन सक्ने उपप्राध्यापक शाहले बताए ।

पानीको स्वास्थ्य परीक्षणमा त्यहाँ पाइने जीवहरुको आधारमा निर्धारण गरिन्छ । जलीय किट पानीको बहाव र गुणस्त आधारमा आफ्नो बासस्थान निर्धार गर्छन् । यिनीहरुमा यस्ता गुण हुन्छन् जसले पानीको शुद्धता र प्रदूषण बारेमा जानकारी दिन्छन् । घुलनशिल अक्सिजनको मात्रालाई लिएर संवेदनशील हुन्छन् । जसलाई म्याक्रो इन्भर्टिब्रेट भनिन्छ । ढाड नभएका यी सना जीवहरुलाई जैविक सूचकको रुपमा लिइन्छ । पानीको अवस्थामा फरक आउने बित्तिकै यिनीहरुले प्रतिक्रिया दिन्छन् ।

यो पनि पढ्नुहोस्ः

पानीको स्वास्थ्य

प्रकाशित : फाल्गुन ११, २०७७ १५:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×