अदालतले सही फैसला गर्नेछ भन्ने विश्वास छ : अध्यक्ष दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतले सही फैसला गर्ने विश्वास रहेकाे बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर मुलुक र संविधान विघटन र बिसर्जन गर्ने बाटोमा लागेको भन्दै दाहालले त्यसमा आफूहरू सफल हुने बताए ।

अदालतले सही फैसला गर्नेछ भन्ने विश्वास छ : अध्यक्ष दाहाल

तिलकराज भण्डारीले सम्पादन गरेको 'जनयुद्धको हस्ताक्षर' पुस्तक विमाेचन गर्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटनविरुद्ध पुस ५ देखि शान्तिपूर्ण युद्ध जारी रहेको बताए । आफूहरू शान्तिपूर्ण युद्धमा भएपनि अदालतप्रति विश्वास रहेको उनको भनाइ थियाे ।

'अहिलेकाे शान्तिपूर्ण युद्ध जित्नुपर्छ । जनआन्दोलन र जनयुद्धका उपलब्धि धराशायी हुने खतरा उत्पन्न भएकोले अहिलेकाे युद्ध जित्नुपर्छ,' दाहालले भने, 'हामीले अदालतप्रति विश्वास छैन भनेको हाेइन । अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्नेछ भन्ने विश्वास छ ।'

प्रतिनिधिसभा विघटनको मुद्दामाथिको सुनुवाइ सकिएपछि दाहालको याे धारणा सार्वजनिक भएको हाे ।

दाहालले पार्टी विभाजन गर्न ओलीले षड्यन्त्र गरेको पनि बताए । 'ठूलो दु:खले पार्टी एकता गरिएको थियाे । त्यसलाई विभाजन गर्ने ठूलो षडयन्त्र भइसकेको छ,' उनले भने, 'हामी आधिकारिक हाैं । पार्टी एकताको रक्षामा छाैं । ओलीले फुट, विघटन र विसर्जनमा लगेका छन् । पार्टीमा फुट, संविधान, देश र लाेकतन्त्र विघटन र विसर्जन गर्न खाेज्नुभयाे ।'

प्रधानमन्त्री ओलीले अहिलेकाे मुद्दा हारिसकेकाे तर व्यवहारिक रूपमा परास्त गर्नका निम्ति पार्टीले आन्दोलन अगाडि बढाउनुपर्ने दाहालको भनाइ थियाे ।

प्रकाशित : फाल्गुन ११, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?