कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

संसद् पुनःस्थापना भए आन्दोलन गर्छु भनेको छैन : प्रधानमन्त्री ओली

‘संसद् पुनःस्थापना भए फोहोरी खेल सुरु हुन्छ’
भवानी भट्ट, अर्जुन शाह

कञ्‍चनपुर, धनगढी — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए राजनीतिको फोहोरी खेल सुरु हुने बताएका छन् । उनले नयाँ सरकार गठनका लागि कुनै पनि दलको बहुमत नभएकाले प्रधानमन्त्री हुन सांसद किनबेच सुरु हुने र विकास निर्माणका काम अवरुद्ध हुने दाबी गरे ।

संसद् पुनःस्थापना भए आन्दोलन गर्छु भनेको छैन : प्रधानमन्त्री ओली

‘संसद् पुनःस्थापना हुने हो भने नयाँ प्रधानमन्त्री खोज्नुपर्छ, पार्टी खोज्नुपर्छ,’ कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी–छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गर्दै उनले भने, ‘बहुमत कुनै पार्टीको छैन, सांसद किनबेच सुरु हुन्छ, फेरि फोहोरी खेल चल्छ ।’

उनले त्यसपछि सांसद किनबेच सुरु भएर विकास निर्माणको काम सबै अवरुद्ध हुने बताए । सर्वोच्चले संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने कुरा आफूले नबोलेको दाबी गर्दै अदालतलाई कहिल्यै पनि धम्की दिने वा दबाबमा पार्ने काम आफूबाट नहुने बताए ।

‘संसद् पुनःस्थापना भए आन्दोलन गर्छु भनेको छैन, मैले कसैलाई धम्की दिएको पनि छैन,’ उनले भने, ‘अदालतलाई धम्की दिने बानी छैन, हामी न्यायालयमा विश्वास गर्छौं ।’ प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजना गरेको नेकपा ओली समूहको जनसभामा ‘जनताको विपक्षमा फैसला भए’ आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । उनले अहिले राष्ट्र निर्माणको आन्दोलन अगाडि बढिरहेको र यो आन्दोलन जारी रहने बताए ।

मुलुकमा पछिल्लो पटक विकास निर्माणले गति लिएपछि केही व्यक्ति राजनीति सकिन्छ कि भनेर छटपटाइरहेको उनले आरोप लगाए । सडक, पुल पुलेसा, विद्युत् आयोजना आदिको विकासले दुई वर्षमै निकै परिवर्तन भएको उनले बताए । उनले महाकाली करिडोर र दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि तत्कालै सुरु हुने बताए । ‘केही फलहरू कुहिएर झर्छन्, त्यो झरेको फल हेरेर गालामा हात लाएर बस्दा केही हुँदैन,’ नेकपा विभाजनबारे प्रधानमन्त्री ओलीले भने, ‘रूखमा रहेका बाँकी फलहरू स्याहार्ने हो, तिनलाई राम्रो बनाउने हो ।’

उनले सधैंभरि आन्दोलन र विध्वंस गर्नेहरूका पछि लागेर देशको विकास नहुने भएकाले सबैले देश बनाउने अभियानमा सघाउनुपर्ने बताए । नेता–कार्यकर्ताहरूलाई यताउता लाग्नुभन्दा कर्मी माहुरीजस्तै देश निर्माणमा लाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारालाई अविलम्ब पत्ता लगाउन प्रहरीलाई निर्देशन दिए । ‘बैतडीकी भागरथीको हत्यामा पनि केही व्यक्तिले राजनीति गर्ने चेष्टा गरे, निर्मला पन्तका हत्यारालाई पनि अविलम्ब पत्ता लगाएर छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन प्रहरीलाई निर्देश गर्छु,’ उनले भने । कार्यक्रम स्थलभन्दा करिब पाँच किलोमिटर वरै राजमार्ग क्षेत्रमा ‘निर्मलालाई न्याय दे...’ लेखिएका टी–सर्ट लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका पाँच महिला र एक पुरुषलाई सोमबार साँझ छाडिएको डीएसपी अमरबहादुर थापाले बताए ।

प्रदेश सरकारको बेवास्ता

कञ्चनपुरको वेदकोटस्थित दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री र विभागीय मन्त्रीसमेत सहभागी भएनन् । अघिल्लो महिना पनि नेकपा ओली समूहको आमसभाका लागि धनगढी आएका प्रधानमन्त्रीको स्वागतमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट विमानस्थल नगएपछि फरक फरक कोणबाट टिप्पणी भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार र प्रदेशसभामा नेकपा दाहाल–नेपाल समूहको वर्चस्व रहेकाले यहाँ संघीय र प्रदेश सरकारबीच दूरी बढेको छ । प्रधानमन्त्री ओली सरकारी कार्यक्रममा आएका बेला पनि प्रदेश सरकारका प्रतिनिधिले वास्ता गर्न छाडेका छन् । संघीय र प्रदेश सरकारबीच सम्पर्क र समन्वय हुनै छाडेको सोमबारको घटनाले पनि पुष्टि गरेको छ ।

मुख्यमन्त्री भट्टका अनुसार संघीय सरकारले प्रदेशलाई ‘रेस्पोन्स’ गर्न छाडेको धेरै भइसक्यो । ‘प्रधानमन्त्री औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने कार्यक्रमबारे गृह मन्त्रालयबाट सुरक्षा व्यवस्था मिलाइदिन पत्र आएको थियो,’ मुख्यमन्त्री भट्टले भने, ‘हाम्रो जानकारीमा भएअनुसार उहाँ धनगढी एयरपोर्टबाट नियमित जहाजमा आउने कार्यक्रम भनिएको थियो तर हेलिकप्टरमा आउनुभएछ । सवारी साधनहरू पठाइदियौं ।’

उनले प्रधानमन्त्रीले प्रदेशलाई वास्ता नगर्ने गरेको गुनासो गरे । ‘प्रधानमन्त्रीले भेट गर्न नदिएको ९ महिना भयो,’ उनले भने, ‘प्रदेशअन्तर्गतका काममा पनि संघ सरकारले समन्वय गर्न छाडेको धेरै भयो ।’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले आफूलाई पनि कुनै जानकारी नभएकाले औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा नगएको बताइन् । ‘संघ सरकारका सम्बन्धित मन्त्री वा प्रधानमन्त्रीले प्रदेशमा आएका बेला हामीलाई वास्तै गर्नुहुन्न, हामी मात्रै पछाडि जाने कुरा भएन,’ उनले भनिन् ।

संघीय सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरू प्रदेश सरकारका मन्त्रीसँग रुष्ट छन् । सुदूरपश्चिमबाट संघीय सरकारमा चार जना मन्त्री छन् । गत महिना प्रधानमन्त्री ओली आएका बेला स्वागतका लागि विमानस्थलमा नगएको प्रति उद्योगमन्त्री लेखराज भट्ट र वनमन्त्री प्रेम आलेले सार्वजनिक रूपमै मुख्यमन्त्री भट्टविरुद्ध आक्रोश पोखेका थिए ।

प्रकाशित : फाल्गुन १०, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?