कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

उपराष्ट्रपति पुनको प्रश्‍न : नेपाली मातृभाषालाई बेवास्ता, अंग्रेजीप्रति धेरै मोह किन ? 

सीमा तामाङ

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकका जातजातिका मातृभाषाहरू लोप भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसर नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’को उद्घाटन गर्दै उक्त विचार व्यक्त गरेका हुन् । 

उपराष्ट्रपति पुनको प्रश्‍न : नेपाली मातृभाषालाई बेवास्ता, अंग्रेजीप्रति धेरै मोह किन ? 

‘जाति जनजातिका मातृभाषा बोल्नेको संख्या दिनदिनै कमी आइरहेको छ,’ कतिपय भाषा लोप भइसकेको र कतिपय लोप हुने सँघारमा पुगेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भने, ‘दशकअघि मातृभाषामा संवाद हुने परिवारमा आज नेपाली भाषामा संवाद हुन थालेको छ । त्यति मात्रै होइन बालबालिकासँग अभिभावकले नेपाली भाषामा पनि बोल्न छाडेका छन् । बालबालिकाको माध्यम भाषा नेपाली नभई अंग्रेजी हुन थालेको छ ।’

उपराष्ट्रपति पुनले मातृभाषा लोप भएसँगै संस्कृति पनि लोप हुने उल्लेख गर्दै नेपाली पहिचान संकटमा पर्ने बताए । ‘म फेरि भन्न चाहन्छु हाम्रो भाषा र संस्कृति नै हाम्रो पहिचान हो,’ मातृभाषालाई बेवास्ता गर्नुको कारण पहिल्याउनु पर्ने उल्लेख गर्दै उनले भने, ‘किन नेपाली भाषाहरूलाई बेवास्ता गरिरहेका छौं । अंग्रेजीप्रति यति धेरै बिघ्न मोह किन भइरहेको छ । यो गम्भीर समीक्षाको विषय हो । यस विषयमा भाषाविज्ञहरू, नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता संस्था र नेपाल सरकारले समयमै गम्भीर मनन गर्न र ध्यान दिन जरुरी छ ।’

महोत्सवका संयोजक तथा मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीका अनुसार महोत्सवमा ५६ भाषाका निम्ति १ सय ५४ कविता प्राप्त भएको थियो । महोत्सवमा देशको हिमाल, पहाड र तराई, पूर्वदेखि पश्चिमका स्रष्टाहरू एक थलोमा भेला भएका थिए । छनोटमा परेका ७० वटा कविता प्रत्यक्ष उपस्थित भएर स्रष्टाले रचना वाचन गरेका थिए भने केही कविले भर्चुअल माध्यमबाटै वाचन गरेका थिए ।

समारोहमा युवा पुस्ताको बाक्लो उपस्थिति रहेको थियो । ओखलढुंगाकी मुना वाम्बुले राईले वाम्बुले मातृभाषामा ‘चेइकिमा है कावा बिनायो त्वाप्सि’ (बिनायो बजाउन सिकौ है साथी) शीर्षकमा कविता वाचन गरिन् । सिन्धुपाल्चोककी अनिता माझी भाषामा ‘हाईलाई पुर्खाका सराप लागे’ शीर्षकमा विकासे परियोजनाको नाममा सरकारले नदी छेकेर माझी समुदायको पहिचान मेट्ने कामप्रति व्यंग्य गरिन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’मा कविता वाचन गर्दै कवि । तस्बिर : गणेश राई/कान्तिपुर

त्यस्तै दोलखाकी कुन्ती थामीले थामी समुदाय र राङराङलीलाई लिएर कविता वाचन गरिन् । त्यस्तै काभ्रेका कविराज तामाङले ‘ङला डम्फु’ शीर्षकमा तामाङ जाति र डम्फुको बिम्ब जोडेका थिए । कवि रामनारायण देवले मैथिली भाषामा ‘मिथला महान्’ शीर्षकको कविता वाचन गरेपछि सुरु भएको प्रस्तुतिमा अवधि भाषामा राकेशकुमार यादवले ‘गरिबी’ शीर्षकको कविता वाचन गरे । डा. महानन्द तिमिल्सिनाले संस्कृत भाषाको रचना वाचन गरेका थिए ।

महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिएका थिए । धिमे बाजासहित हाकुपटासीमा सजिएका नेवारी समुदाय, डम्फुको तालमा ताम्बा ह्वाई (गीत) तामाङले घन्काए । साकेला, देउडा, सखिया, हुर्रा, च्याब्रुङलगायत १६ वटा झाँकी प्रदर्शन गरिएका दिए । यस वर्ष कोभिड–१९ को महामारीले गर्दा प्रज्ञा प्रतिष्ठानको प्रांगणमा सीमित गरिएको थियो ।

युनेस्कोले सन् १९९९ मा फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् २००० बाट विश्वभरि यो दिवस मनाइँदै आएको छ । यो वर्ष ‘शिक्षा र समाजमा समावेशीकरणको लागि बहुभाषिकताको प्रवद्र्धन’ भन्ने नारासहित दिवस मनाएको हो । सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तानमा बंगाली भाषाको पहिचानमाथि भएको दमनविरुद्ध उठेको आन्दोलनपछि तिनै भाषिक सहिदहरूको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित : फाल्गुन १०, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?