मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज

रासस

काठमाडौँ — बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गर्न लागिएको हो ।

मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिनेछ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । ‘विशेषज्ञहरूले निरीक्षण गर्नुभयो, उहाँका महत्त्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार भयो,’ आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले भने ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालसँग समन्वय गरिएको छ । खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७७ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?