कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जलहरी फेर्दा पशुपतिनाथको ज्योतिर्लिंग चोइटिने जोखिम

दामोदर न्यौपाने

काठमाडौँ — केही वर्षअघि तल्लो भागमा रहेको जलहरी फेर्ने क्रममा पशुपतिनाथको ज्योतिर्लिंगको केही भाग चोइटियो । त्यति मात्र होइन, पशुपतिका भण्डारी केदार भण्डारीको औंलामा चोटसमेत लाग्यो । पूजा सामग्री ज्योतिर्लिंगसम्म लैजान नपाए पनि छेउछाउसम्म भण्डारीले सहयोग गर्छन् ।

जलहरी फेर्दा पशुपतिनाथको ज्योतिर्लिंग चोइटिने जोखिम

पशुपतिनाथको ज्योतिर्लिंग चार जना पुजारीबाहेक अरूले छुन पाउँदैनन् । ‘पहिला पनि ज्योतिर्लिंग चोइटिएको थियो, चाँदीको जलहरी फेर्दा,’ केदारले भने, ‘१०८ किलो वजनको जलहरी राख्दा त झनै ज्योतिर्लिंगमा दबाब पर्न सक्छ ।’

जलहरीमा अहिले मोरिएको चाँदीलाई नचलाई त्यहीमाथि सुनले छोप्ने कोषले बताएको थियो । त्यसरी राख्न १ सय ८ भण्डारीमध्ये केहीले सहमति पनि दिएका थिए । तर अहिले कोषले चाँदीको झिकेरै सुनको राख्ने तयारी गरेपछि भण्डारी आक्रोशित छन् । ‘म कुनै हालतमा चाँदीको झिकेर सुनको राख्न दिन्नँ,’ पालोवाला भण्डारीले भने, ‘ज्योतिर्लिंगमा क्षति पुग्यो भने कसले लिन्छ जिम्मेवारी ? यो संवेदनशील ठाउँ हो । तर यहाँ हचुवामा काम भइरहेको छ ।’

पशुपतिनाथको ज्योतिर्लिंग प्रस्तरको हो । ज्योतिर्लिंगको पिठीका गोलो छ । जानकारहरूका अनुसार जति प्राचीन भयो, उति नै पिठीका गोलो हुन्छ । ‘चतुर्दशकोटी देवदेवताको प्रतीक नै ज्योतिर्लिंग हो,’ भण्डारीले भने, ‘शिवलिंगको कल्याणकारी प्रतीक हो यो । यही प्रतीकको आधार बनाएर पशुपतिको पूजा, आराधना हुन्छ ।’

पशुपतिनाथको शास्त्रीय महत्त्व र प्राचीन स्मारक संरक्षण ऐनविपरीत जलहरी राख्न लागेको भन्दै स्थानीय बासिन्दा, सम्पदा संरक्षण अभियन्ता, पशुपतिका भण्डारीलगायतले विरोध गर्दै आएका छन् । ‘कोषले जबर्जस्ती जलहरी राख्नै लागिसक्यो,’ संस्कृतिविज्ञ प्रदेशसभा सदस्य नरोत्तम वैद्यले भने, ‘म यसलाई पशुपतिमा आएको ठूलो प्रलयको रूपमा लिन्छु । जबर्जस्ती राखियो भने राम्रो हुनेछैन । राख्न हुने हो कि हैन भनेर सरोकारवालासँग सल्लाह गर्नु पर्दैन ?’ कोषले एक साताभित्र राखिसक्ने गरी काम अघि बढाएको छ । नयाँ धातु राख्न लागेको भन्दै मन्दिरमा शनिबारदेखि क्षमापूजासमेत सुरु भएको छ । यसका लागि भारतबाट पण्डितहरू झिकाइएको छ । भारतबाट आएका ४० जना पण्डितले क्षमापूजा गरिराखेका छन् ।

क्षमापूजा गर्दासमेत यहाँको परम्परा ख्याल नगरिएको गुनासो सरोकारवालाको छ । शुक्र अस्त भएका बेलामा क्षमापूजा गरिनु हिन्दुधर्मको मान्यताविपरीत भएको धर्म संस्कृतिका ज्ञाता अर्जुन लामिछानेले बताए । ‘यो त अति भयो । शुक्र अस्त भएका बेलामा कुनै पनि शुभकार्य, अनुष्ठान गरिँदैन । यज्ञ, हवन हुँदैन । अग्नि नै जुर्दैन,’ उनले भने ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जलहरीको विषयमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । ‘सदस्य सचिव यो विषयमा आफैं बोल्छु भन्नुभएको छ,’ उनले भने, ‘जलहरीको विषयमा मलाई थाहा हुँदैन ।’ सदस्य सचिव प्रदीप ढकाल भने सम्पर्कमा आएनन् । योगा अभियन्ता विष्णु खड्काले दुई साताअघि जलहरी राख्ने विषयमा सूचनाको हकसम्बन्धी ऐन प्रयोग गरेर सूचना मागे पनि कोषले अहिलेसम्म नदिएको गुनासो गरे ।

गत माघ १२ मा पशुपति दर्शन गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीले ३० करोड दिने भएपछि पशुपतिमा जलहरी राख्ने प्रक्रिया अघि बढेको हो । २०७० सालमै चाँदीको जलहरी हटाएर सुनको राख्ने निर्णय भए पनि स्थानीयवासी र भण्डारीको विरोधले रोकिएको थियो ।

अहिले विरोध कायमै भए पनि बेवास्ता गर्दै काम अघि बढाएको भण्डारीले गुनासो गरे । विश्वसम्पदा क्षेत्रमा मनपरी गरेको भन्दै वास्तुकलाविद्ले पनि आपत्ति जनाएका छन् । वास्तुकलाविद् ज्ञानेन्द्रराज देवकोटाले भने, ‘झट्ट हेर्दा हाम्रो आस्थाको धरोहरमा सुनको जलहरी राख्न किन नदिने भन्ने जस्तो लाग्न सक्छ । तर संस्कृतिलाई व्यापारीकरण गर्दै जाँदा भोलि मौलिकता खोज्न हिँड्नुपर्ने हुन्छ ।’

प्रकाशित : फाल्गुन १०, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?