बाघको निगरानी अब उपकरणबाट

पर्सा– चितवन ब्लकका २ र बर्दिया–बाँके ब्लकका ४ वटा बाघको घाँटीमा स्याटेलाइट जीपीएस कलर जोड्न स्वीकृति
भारतको तेलांगनाबाट एउटा बाघ पोथी (प्रेमिका) को खोजीमा २ हजार किलोमिटर यात्रा गरेर महाराष्ट्रसम्म पुगेको स्याटेलाइट रेडियो कलरले दिएको संकेतबाटै प्रमाणित भएको थियो
अब्दुल्लाह मियाँ

काठमाडौँ — मान्छेमाथि आक्रमण गर्नुका साथै सवारीको ठक्करबाट मारिनेलगायत घटना बढ्न थालेपछि अब उपकरण राखेर बाघका गतिविधि निगरानी गरिने भएको छ । घाँटीमा ‘स्याटेलाइट जीपीएस कलर’ जोडेर निगरानीको तयारी गरिएको हो । यसबाट बाघका गतिविधि, आउजाउको समय, विचरण क्षेत्र र आनीबानीलगायत अनुगमन हुनेछ ।

बाघको निगरानी अब उपकरणबाट

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक दीपक खरालका अनुसार पहिलो चरणमा ‘चितवन–पर्सा ब्लक’ अन्तर्गत पर्सा निकुञ्ज क्षेत्रको एउटा बाघको घाँटीमा स्याटेलाइट कलर राखिनेछ । बाघका घाँटीमा जडान गरिने स्याटेलाइट कलरमार्फत प्राप्त हुने संकेतका आधारमा उसले हिँड्ने बाटो, हिँडडुल गर्ने अधिक समय, आनीबानी र आहारलगायत सबै गतिविधि निगरानी गर्न सकिने महानिर्देशक खरालले बताए । स्याटेलाइटले दुई वर्षसम्म सन्देश दिन्छ । अहिलेसम्म मुलुकमा बाघले विचरण गर्ने क्षेत्र र कतिसम्म यात्रा गर्छन्, कस्तो क्षेत्रमा बढी विचरण गर्छन् र कुन समयमा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाउन वैज्ञानिक विधि प्रयोग भइसकेको छैन ।

भारतको तेलांगना राज्यको आदिलाबादमा रहेको टिपेश्वर वनको एउटा बाघ पोथी (प्रेमिका) को खोजीमा दुई हजार किलोमिटर यात्रा गरेर महाराष्ट्र राज्यको ज्ञानगंगा जंगलसम्म पुगेको स्याटेलाइट रेडियो कलरले दिएको संकेतबाटै प्रमाणित भएको थियो । उक्त बाघले नहर, खेत, जंगल र सडक हुँदै उक्त दूरी पार गरेको थियो । नेपालमा पनि ३ हजार २ सय मिटर (छिन्टापु वन क्षेत्र) सम्मको उचाइमा बाघ भेटिएको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन), अमेरिकाको युनिभर्सिटी अफ मिचिगनको आर्थिक र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को प्राविधिक सहयोगमा विभागले यसै सातादेखि स्याटेलाइट जडानसम्बन्धी काम सुरु गरेको छ । यसका लागि विदेशीसहित नेपाली वन प्राविधिक पर्सा निकुञ्ज खटिएका छन् । वन तथा वातावरण मन्त्रालयले चितवन–पर्सा ब्लकमा २ र बर्दिया–बाँके ब्लकका ४ वटा गरी ६ वटा बाघमा स्याटेलाइट कलर जोड्न स्वीकृति दिएको छ । प्राविधिकका अनुसार स्याटेलाइट कलर जोड्नुअघि बाघ पहिचान गरिनेछ, त्यसका लागि बाघ विचरण गर्ने क्षेत्रमा आहार (भंैसी/राँगो) छाडिनेछ । प्राविधिकहरूले डार्टगन प्रयोग गरी बाघलाई बेहोस पारेर ढाल्नेछन् र घाँटीमा कलर बाँधेर प्राकृतिक बासस्थानमा छाडिनेछ ।

‘स्याटेलाइट कलरबाट बाघको आउजाउ कतातिर कुन समयमा बढी छ भन्ने सूचना प्राप्त गर्न सकिन्छ,’ महानिर्देशक खरालले भने, ‘त्यस आधारमा भविष्यमा ती स्थानमा वन्यजन्तुका लागि अन्डर पास र ओभरब्रिज बनाउन सहज हुन्छ ।’ विकसित मुलुकमा सडक, रेल, नहरजस्ता ठूला संरचना बनाउँदा वन्यजन्तुका लागि अन्डर पास र ओभरब्रिज बनाउन थालिएको धेरै समय भइसकेको छ । त्यसो हुँदा सडक दुर्घटनामा वन्यजन्तु मारिने र घाइते हुने घटना न्यूनीकरण हुन्छ । वन्यजन्तुको आक्रमणबाट मान्छेको ज्यान जाने घटना पनि रोकथाम गर्न मद्दत पुग्छ । काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सका वरिष्ठ वैज्ञानिक प्रकाशकुमार पौडेल बाघका गतिविधि र आनीबानी ट्रयाक गर्न जीपीएस कलर उपयोगी हुने बताउँछन् । ‘कस्तो बासस्थान र वनमा आउजाउ गर्छ, अरू बाघसँग कस्तो अन्तक्र्रिया गर्छ भन्ने बुझ्न सहयोग पुग्छ,’ उनले भने, ‘बस्तीमा हुने आउजाउको समेत यकिन गर्न सकिन्छ, कहाँसम्म उकालीओराली गर्छ भन्ने पनि यसबाट थाहा हुन्छ ।’

विभागको तथ्यांकअनुसार २०७५ र ०७६ मा निकुञ्ज र आरक्ष क्षेत्रमा ४ सय ९५ वटा वन्यजन्तु मरेका छन्, जसमध्ये १ सय १९ वटा (२४ प्रतिशत) वन्यजन्तु गाडीको ठक्कर अर्थात् सडक दुर्घटनाबाट मरेका हुन् । २०७४ र ०७५ मा मरेका ३ सय ९१ वन्यजन्तुमध्ये १ सय २४ वटा (३१ प्रतिशत) सडक दुर्घटनामा परेका थिए । २०७३ र ०७४ मा मरेका ३ सय २६ वन्यजन्तुमध्ये १ सय ३३ वटा (४१ प्रतिशत) को गाडीको ठक्करबाटै ज्यान गएको थियो । पुस दोस्रो साता पर्सा निकुञ्जको अमलेखगन्ज­­–पथलैया सडक खण्डमा गाडीको ठक्करबाट एउटा बाघ मरेको थियो भने बर्दिया निकुञ्जको अम्रेनी–चिसापानी सडक खण्डमा पनि बाघ मरेका छन् । राजमार्ग र बस्तीमा निस्किएका बाघले मान्छे मार्ने क्रम पनि केही महिनायता बढेको छ । २०७६ र ०७७ मा बर्दिया निकुञ्जअन्तर्गत पूर्व–पश्चिम राजमार्ग अम्रेनी–चिसापानी सडक खण्डमा ३५ वटा वन्यजन्तु दुर्घटनामै मरेका थिए ।

पूर्वपश्चिम राजमार्गको २ सय ७१ किलोमिटर सडक पर्सा, चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्छ । त्यस्तै, हुलाकी राजमार्गअन्तर्गत बाँकेको काम्दी, बर्दियाको खाता, कैलालीको वसन्ता र लालझाडी–मोहना करिडोर निकुञ्जभित्रै पर्छन् । यी सबै सडक खण्डमा गाडीको ठक्करबाट संरक्षित र अन्य वन्यजन्तु मर्ने गरेका छन् । वन्यजन्तुको बढी ओहोरदोहोर हुने राजमार्गमा अन्डरपास र ओभरब्रिजको व्यवस्थापनका लागि निकुञ्ज विभागले पहल गर्दै आएको छ तर अझैसम्म वन्यजन्तुका लागि पर्याप्त संख्यामा सुरक्षित अन्डरपास छैनन् ।

पहिलोपटक नारायणघाट–मुग्लिङको ३३ किमि सडकखण्डमा चारवटा अन्डरपास बनाइएको छ । विभिन्न वन्यजन्तुले उक्त अन्डरपास प्रयोग गरेको एक अध्ययनले देखाएको छ । ‘स्याटेलाइट कलरले दिने तथ्यका आधारमा ठूलाखाले संरचना बनाउँदा यो–यो ठाउँमा अन्डरपास वा ओभरब्रिज बनाउन सकियो भने वन्यजन्तु र मानव दुवैलाई हित हुन्छ भनेर सडक विभागलाई भन्न सक्छौं,’ विभागका महानिर्देशक खरालले भने, ‘पर्सामा राम्रो रिजल्ट आयो भने अर्को चरणमा बर्दिया–बाँके ब्लकका बाघमा पनि स्याटेलाइट कलर जोड्न सकिन्छ ।’

अहिले नारायणघाट–बुटवल सडक खण्डसमेत बिस्तार हुँदै छ । उक्त खण्डको दाउन्ने पूर्वको भागमा चारवटा अन्डरपास र एउटा ओभरपास राख्ने तयारी भइरहेको छ । दाउन्नेपूर्वमा ३० ठाउँबाट वन्यजन्तुको आवतजावत रेकर्ड भएको देखिन्छ । त्यो क्षेत्र चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । पूर्व–पश्चिम राजमार्गकै बाराको पथलैयादेखि धनुषाको ढल्केबरसम्मको सडकमा पनि अन्डरपास बनाउनेबारे छलफल जारी छ । निजगढ–काठमाडौं जोड्ने द्रुतमार्गमा पनि वन्यजन्तुका लागि अन्डरपास बनाइँदै छ ।

सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको संख्या २ सय ३५ छ । वाग्मतीदेखि पश्चिम पर्सा, चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जमा बाघ छन् । अहिले चितवन–पर्सा ब्लकमा १ सय ११ बाघ छन् । हालैको अध्ययन (एसेस्मेन्ट अफ इकोलोजिकल क्यारिङ क्यापासिटी अफ रोयल बंगाल टाइगर इन चितवन–पर्सा कम्प्लेक्स, नेपाल) ले यो ब्लकमा १ सय ७५ वयस्क बाघ थेग्न सक्ने निष्कर्ष निकालेको छ ।

एनटीएनसीको जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तविद् बाबुराम लामिछानेका अनुसार बस्तीमा आएर सताएको एउटा बाघमा रेडियो कलर जडान गरी निगरानी गरिएको थियो । उक्त बाघलाई बर्दियाको बबई उपत्यका लगेर छाडिएको थियो । करिब १० वर्षअघि चितवन निकुञ्जमा जीपीएस कलर जोडेर बर्दिया निकुञ्जमा छाडिएको ‘नमोबुद्ध’ नाम दिइएको बाघ भने विष मिसिएको सिनो खाँदा मरेको थियो । सरकारले हिउँचितुवा, हाब्रे, गैंडा र हात्तीलगायत जन्तुसँगै गिद्ध र खरमुजुरलगायत पन्छीमा पनि स्याटेलाइट कलर जोडेर अनुसन्धान गरिरहेको छ । बस्तीमा आतंक मच्चाउने हात्तीको समेत कलरमार्फत निगरानी भइरहेको छ भने हिउँचितुवामा पनि यो प्रविधि अपनाइएको छ । गत वर्ष शे–फोक्सुन्डो निकुञ्जका दुईवटा हिउँचितुवामा रेडियो कलर जोडेर अध्ययन गरिएको थियो । यो वर्ष पनि त्यहाँको साल्दाङ क्षेत्रमा थप दुई हिउँचितुवामा रेडियो कलर जोडिँदै छ ।

प्रकाशित : फाल्गुन ९, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?