ओलीले सिंगो देशमा आगो लगाए : नेता नेपाल

दीपेन्द्र शाक्य

संखुवासभा — नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सिंगो देशलाई आगो लगाएको आरोप लगाएका छन् । उनले आगो लगाउने अधिकार प्रधानमन्त्रीलाई नभएको दाबी गरे । 

ओलीले सिंगो देशमा आगो लगाए : नेता नेपाल

नेकपा दाहाल-नेपाल समूह संखुवासभाले शनिबार खाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै नेपालले जनता र समाजवाद सत्तामा पुगेर ओलीले बिर्सिएर मनपरी गर्न थालेको बताए । नेपालले ओलीले प्रधानमन्त्रीको गरिमा राख्न नसकी धज्जी उडाएको पनि बताए । ओलीको गफ र उखानटुक्काले मात्रै देश चल्न नसक्ने बताउँदै उनलाई ‘हिटलर’ को उपमा दिए ।

नेता नेपालले स्थिरताबाट देश बचाउन आफूहरू सडकमा आउनुपरेको उल्लेख गरे । उनले आफूलाई सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि पूरै विश्वास रहेको भनाइ दोहोर्‍याए । प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प ठानेको नेकपाले त्यसैलाई जोड दिएको पनि उनले बताए ।

नेता वर्षमान पुनले पार्टी, सरकार र जनमतमा तिरस्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गरे । उनले हुँदाहुँदैको दुई तिहाइ मासेर दुई तिहाइका लागि प्रतिनिधिसभा भंग गरेको भन्नु लज्जाको विषय भएको उल्लेख गरे ।

सभालाई रामकुमारी झाँक्री, राम कार्की, परशुराम मेघी गुरुङलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?