२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सरकारसँग वार्ताका लागि सकारात्मक छौं : नेत्रविक्रम चन्द

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्दले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।

सरकारसँग वार्ताका लागि सकारात्मक छौं : नेत्रविक्रम चन्द

चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

सरकारले चन्द समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइएको छ । केही दिनअघि खानेपानी मन्त्री मणि थापाले चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु कारागार गएर भेटेका थिए । सरकारले २०७५ फागुन २८ मा नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।

हिंसात्मक र गैरकानुनी गतिविधि गरेको आरोपमा २ वर्षदेखि सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार वामपन्थी दलले माघ २९ गते खुला ‘रणनैतिक संयुक्त मोर्चा’ घोषणा गरेका थिए ।

चन्द नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले बिहीबार काठमाडौंमा मोर्चाको औपचारिक घोषणा गरेका हुन् ।

मोर्चाले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि तत्काल राजनीतिक समीक्षा सभा, वैकल्पिक संयुक्त सरकार गठनलगायतको प्रस्ताव पनि अघि सारेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?