१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चेयरम्यान बंगलामा सन्‍नाटा

राजनीतिक प्रतिशोध साधियो: परियार
अजित तिवारी

जनकपुर — जनकपुर चुरोट कारखानाको चेयरम्यान बंगलामा यहाँको निकै चहलपहल हुने ठाउँमा पर्छ किनभने यो प्रदेश २ प्रमुखको सरकारी निवास हो । बंगलाको माथिल्लो तलामा प्रदेश प्रमुखको निवास र भुइँतलामा उनको सचिवालय छ ।

चेयरम्यान बंगलामा सन्‍नाटा

त्यसैले प्रदेश प्रमुख हुँदा बखत जचुकालिको चेयरम्यान बंगलामा बाक्लै चहलपहल हुन्छ । शुक्रबार अपराह्न भने बंगला सुनसान थियो । सुरक्षामा खटिएका नेपाली सेनाबाहेक अन्य मानिसहरू देखिएनन् । माथिल्लो तल्लाको बेडरुममा शुक्रबार पदमुक्त गरिएका प्रदेश २ का प्रमुख तिलक परियार सानो बटनवाला मोबाइलमा कसैसित आश्चर्य मान्दै कुरा गरिरहेका थिए, ‘किन हटाए ? म आफैं अचम्मित छु ।’

एउटा कल कटेपछि मोबाइलमा तारन्तार अरू कल आइरहेका थिए । सबैलाई उनले एउटै जवाफ दिँदै थिए, ‘खै, किन हटाए–हटाए, आफैं छक्क परेको छु ।’ अप्रत्याशित रूपमा पदमुक्त गरिएका उनी स्तब्ध देखिन्थे । कान्तिपुरसँग करिब २० मिनेटसम्मको कुराकानीमा परियारका आँखा रसाइरहे ।

बाँकेको कोहलपुरका परियार प्रदेश २ प्रमुखमा नियुक्त भएको भोलिपल्टै पदबहाली गर्न जनकपुर आउँदा श्रीमती चन्द्रालाई साथै ल्याएका थिए । संयोग कस्तो भने, बिरामी परेर चन्द्रा बिहीबार मात्रै काठमाडौं पुगिन् । चेयरम्यान बंगलाको अन्तिम दिनको बसाइमा परियार एक्लै परे । प्रमुख स्वकीय सचिव पद्म विश्वकर्माका अनुसार अब शनिबारसम्ममा सरसामान सबै बुझबुझारथ गरेर परियार पनि काठमाडौं फर्किने योजना छ । ‘प्रदेश प्रमुखज्यूको कार्यालयका सचिव–कर्मचारीसित सरसल्लाह हुँदै छ,’ विश्वकर्माले भने । ‘पदमुक्त भएपछि पदमा चिप्केर बसिरहनुपर्ने कुरो आएन नि, तुरुन्तै काठमाडौं फर्किन्छु,’ परियारले भने । प्रदेश २ मा प्रमुख फेरिएको यो दोस्रोपटक हो । रत्नेश्वरलाल कायस्थलाई हटाएर सरकारले परियारलाई नियुक्त गरेको थियो ।

प्रदेश २ प्रमुखबाट परियारलाई संघीय सरकारले पदमुक्त गर्नुमा जनकपुरका राजनीतिकर्मीबीच दुईवटा कारणमा अड्कलबाजी छ । पहिलो– प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नु, दोस्रो– परियारका स्वकीय सचिव अनिल पासवान र नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईबीच फोनमा भएको गालीगलौज ।

प्रदेश प्रमुखको सचिवालयले भने यी दुवै अड्कलबाजी बेठीक रहेको जनाएको छ । ‘धेरै जनाले पासवान र भट्टराईबीचको फोन संवादलाई लिएर मसँग पनि जिज्ञासा राखेका छन्,’ परियारका प्रमुख स्वकीय सचिव विश्वकर्माले भने, ‘यो सानो वादविवाद हो । पदमुक्त गरिनुको यो कारण होइन ।’

जयनगर–जनकपुर रेल सेवा कहिलेदेखि सञ्चालनमा आउने ? प्रदेश प्रमुखले बुझ्न खोजेको भन्दै गत साता पासवानले भट्टराईलाई फोन गरेका थिए । ‘केन्द्रीय सरकार’ मातहत रहेकाले प्रदेशलाई जानकारी नदिने भन्दै भट्टराई तर्किन खोजेपछि उनीहरूबीच अश्लील गालीगलौज भएको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । ‘ओलीको छोरा हुँ अपहरण पनि गराइदिन सक्छु’ भन्दै भट्टराईले पासवानलाई धम्क्याएपछि दुवैको भनाभनमा शीर्ष नेताको नामै लिएर राजनीतिक आक्षेप एक–अर्कालाई लगाएका थिए ।

गत माघ २८ मा प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भने कर्मचारी असन्तुष्ट थिए । यो कुरा परियारले पनि स्विकारे ।

‘विधेयक अहिल्यै ल्याउनुहुन्न । अझै होमवर्क गरौं भन्ने कुरा कर्मचारीबाट आएको हो,’ परियारले कान्तिपुरसँग भने, ‘प्रदेशसभाले पास गरेको विधेयक प्रक्रियाबाट आएपछि मैले रोक्न मिल्दैन । त्यसैले प्रमाणीकरण गरिदिएँ ।’

परियारले राजनीतिक प्रतिशोधका कारण आफूलाई पदमुक्त गरिएकाले काठमाडौं फर्किएर सर्वोच्च अदालतमा कानुनी अपिल गर्ने बताए । उनले कानुनी व्यवस्था केही छ भने पदमुक्तको मामिलामा सर्वोच्चमा अपिल गर्ने सोचमा रहेको खुलाए । ‘पदमुक्त गर्लान् भन्ने कुनै शंका गरेको थिइनँ,’ उनले भने, ‘पदमुक्त गरिएको राष्ट्रपति कार्यालयबाट इमेल आएपछि झसंग भएँ ।’

प्रकाशित : फाल्गुन ८, २०७७ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?